१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २२ सोमबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह भ्रष्टाचार मुद्दामा दोषी ठहर, प्रतिकूल बकपत्र गर्नेलाई पनि सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १८:२८:oo

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतले घुसको मुद्दामा अधिकृत वीरेन्द्रप्रसाद साह कानु र दीपेश यादवलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुविरुद्ध ३० कात्तिकमा र यादवविरुद्ध २८ माघमा मुद्दा दर्ता गरेको थियो। कानुले बिल भुक्तानी गरेबापत घुस मागिरहेको सूचना यादवले अख्तियारलाई दिएका थिए। जसपछि आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले ७८ हजार रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको थियो।

तर, पछि यादवले अदालतमा बयान फेरेका थिए। जसपछि उनीविरुद्ध पनि प्रतिकूल बकपत्रको मुद्दा दायर भएको थियो।

कानु र यादव दुवैजनालाई बिगोको दामासाहीले हुन आउने रकम ३९ हजार रुपैयाँ जनही जरिवानाको फैसला भएको छ। साथै, ४ महिना कैद हुनेसमेत फैसलामा छ। घुसबापतको रकम जफतसमेत हुने भएको छ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो। जसअनुसार दुवै प्रतिवादीले जनही १५ सय ६० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्नेछ।

कानु र यादवबिच घुसको मोलमोलाइ भएको अडियो भिडियो रेकर्ड प्रमाणका रूपमा अदालतमा पेस गरिएको थियो। जसमा कानुको आवाज ९९ प्रतिशत मिलेको फरेन्सिक जाँच रिपोर्टसमेत समावेश थियो। स्वर परीक्षण प्रतिवेदन, नोट नम्बरहरू मिलेभिडेको, बरामदी मुचुल्कालगायतका प्रमाणले यादव होटेललाई नगरपालिकाले भुक्तानी दिएबापत घुस लिएको पुष्टि भएको थियो। यिनै आधारसमेत टेक्दै ठहरको फैसला भएको हो।