
कथाकार तथा सम्पादक दीपक नेपालले भाषिक कलासम्बन्धी पुस्तक ‘भाषिक कला’ ल्याएका छन् । पुस्तक व्यावहारिक दृष्टिकोणबाट प्रस्तुत गरिएको लेखकको भनाइ छ । सिर्जनात्मक लेखन र सम्पादनका क्रममा प्राप्त अनुभव र अध्ययनबाट प्राप्त ज्ञानका आधारमा तयार पारिएको यो पुस्तक सम्पूर्ण किताबले प्रकाशन गरेको हो ।
विभिन्न सैद्धान्तिक ज्ञान तथा डेढ सय पुस्तकको सम्पादकीय अनुभवका आधारमा तयार पारिएको पुस्तकले विशेष गरी सिर्जनात्मक लेखन तथा सम्पादन कलासम्बन्धी व्यावहारिक सीपलाई महत्व दिएको नेपालले बताए ।
‘लेखन तथा सम्पादनका विभिन्न तौरतरिका, सीप र कौशलबारे सटीक रूपमा प्रस्तुत गरिएको यो पुस्तक लेखक, सम्पादन, पत्रकार तथा नेपाली भाषा–साहित्य अनुरागीका लागि उपयोगी साबित हुनेछ,’ उनले भने । लेखन तथा सम्पादनका क्रममा भाषिक मिठास र अभिव्यक्ति कौशलमा कसरी निखारता ल्याउने भन्ने विषयमा उदाहरणसहित प्रस्तुत गरिएको यो पुस्तकको मूल्य ५९५ रुपैयाँ छ ।