
आन्दोलका कारण बन्द रहेको भैरहवा भन्सार कार्यालय लयमा फर्किन सुरु गरेको छ । गत बिहीबारदेखि आंशिक रूपमा सुरु भएको रुपन्देहीको भैरहवा भन्सार कार्यालयले आइतबारदेखि भने नियमित काम सुरु गरेको हो ।
आगलागीका कारण भैरहवा भन्सार कार्यालय परिसरको राजस्व दाखिला गर्ने बैंक र मुद्दा शाखासहित पहिलो तला पूर्ण रूपमा जलेको थियो । आइतबारदेखि कार्यालय परिसरमा टेन्ट टाँगेर काम सुरु गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख शिवलाल न्यौपानेले बताए ।
आइतबार दिनभर तीन सय २० मालवाहक गाडी नेपाल भित्रिएको र ३१५ गाडी भारत फर्किएका थिए । यसैगरी, सोमबार ३५० मालवाहक सवारीसाधन नेपाल प्रवेश र ५०५ गाडी भारत फर्किएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । आइतबार र सोमबार आलु प्याज, ग्यास, पेट्रोलियम पदार्थ, ब्लेडलगायत समान लिएर आएका गाडीहरू नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका प्रमुख न्यौपानेले बताए ।
आइतबार २७ करोड करोड राजस्व संकलन गरेको कार्यालयले सोमबार अघिल्लो दिनको तुलनामा केही बढी संकलन गरेको उनले बताए ।
२४ भदौ दिउँसोसम्म सञ्चालनमा रहेको भैरहवा भन्सार साँझ आगजनी भएपछि २५ भदौमा बन्द रहेको थियो । २६ र २७ भदौ अत्यावश्यक ग्यासलगायतका समान भित्रिएको बेलहिया नाका आइतबारदेखि नियमित सञ्चालनमा रहेको न्यौपानेले बताए ।