
राजेश राईलाई अध्यक्षमा चुनाव लड्न निषेध गरिएपछि प्रतिनिधिको रुवावासी
एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । प्रतिस्पर्धी राजेश राईले उम्मेदवारी नदिने निर्णयपछि पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । उनी दुईपटक चौतारीको उपाध्यक्ष भएका थिए ।
चौतारीको उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी, महासचिवमा हीरामान चयन भएका छन् । लामा महासचिवमा दोहोरिएका हु्न् । उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिवमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी चयन भएका छन् । कोशी प्रदेश इन्चार्जमा नुतन श्रेष्ठ, मधेशमा अच्युत पौडेल, बागमतीमा प्रतिमा सिलवाल, गण्डकीमा गणेश पौडेल, लुम्बिनीमा टीकाबहादुर बस्नेत, कर्णालीमा याम शर्मा र सुदूरपश्चिममा दिलबहादुर छन्त्याल चयन भएका छन् । उपत्यका प्रदेशमा हेमराज सिलवाल, प्रतिष्ठानमा यसिमा महत र एसोसिएटमा रघुनाथ सापकोटा चयन भएका छन् । यद्यपि महतले प्रदेश इन्चार्ज अस्वीकार गरेको बताएकी छिन् । बाँकी ८० जना केन्द्रीय सदस्यमा चयन भएका छन् ।
निर्वाचन निषेध
प्रेस चौतारीको दसौँ अधिवेशनमा उपाध्यक्षद्वय पाण्डे र राई अध्यक्षका दाबेदार थिए । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा केपी ओलीको हस्तक्षेपपछि निर्वाचन नै निषेध गरिएको थियो । बालुवाटारको हस्तक्षेपपछि उम्मेदवारको सूचीसमेत निकाल्न निषेध गरिएको थियो । निर्वाचनमण्डलले उम्मेदवारको सूची ४:२० बजेलाई तोेकेको थियो । तर, त्यस अवधिमा सूची प्रकाशन नगरी मतपरिणाम घोषणा गर्ने कार्यतालिका बनाइएको थियो ।
उम्मेदवारी दर्तासमेत रोक लगाइएपछि अध्यक्षका आकांक्षी राजेश राईले अध्यक्षमण्डललाई सम्बोधन गर्दै अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका थिए । उम्मदेवारी नदिने घोषणा गर्नुअघि राईलाई हलमा सम्बोधन गर्न दिइएको थियो । सम्बोधनका क्रममा उनले आफूमाथि पटकपटक गरिने प्रश्न अब अन्तिम हुनुपर्ने बताएका थिए । ‘प्रतिस्पर्धामा जान खोज्दा प्रहार गरियो । एमाले र प्रेस चौतारीले माथि होइन, अधारभूमि हेर्नुपर्थ्यो । राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस् । हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फकिर्ने दिन आउनेछ । माथि धाउँदा होइन, जनताको बिचमा जाँदा पार्टी र संगठन बलियो हुन्छ,’ उनले भने ।
सम्बोधनपछि हलबाट राई बाहिरिँदा समर्थकबिच रुवावासी चलेको थियो । अधिवेशनस्थलबाट बाहिरिँदै गर्दा राईले सम्भावना नसकिएको भन्दै समर्थकलाई आश्वस्त तुल्याउने कोसिस गरेका थिए । यसअघि पाण्डेलाई एमालेले प्रचार विभागको सचिवमा चयन गरेको थियो । उनले शपथसमेत लिएका थिए । तर, १० दिन नबित्दै उनलाई पदबाट राजीनामा दिन लगाइएको थियो । त्यसपछि भने उनी अध्यक्षको दौडमा लागेका थिए ।