मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format २२:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयन गर्न सकस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:४o:oo

एकीकृत समाजवादीलाई केन्द्रीय सदस्य चयन गर्न सकस परेको छ । पदभन्दा आकांक्षी धेरै भएपछि प्रदेश कमिटीले नाम काँटछाँट नगरी केन्द्रलाई प्रतिवेदन बुझाएका छन् ।

प्रदेशहरूको सिफारिसपछि संगठन विभागले सदस्य चयनको गृहकार्य थालेको छ । प्रदेशको प्रतिवेदनसहित बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्ताव प्रस्तुत गर्ने तयारी छ । विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।

‘मापदण्ड पुगेका कमरेडहरूले आकांक्षा राख्नु स्वाभाविक हो । विधानले तोकेको कोटाभित्र परेको नाम फाइनल भयो । कोटाभन्दा धेरै नाम आएको छ भने फेरि छलफल हुन्छ । हामी गृहकार्यमै छौँ,’ निवर्तमान उपाध्यक्ष डा. बेदुराम भुसालले भने ।

एकीकृत समाजवादीले महाधिवेशन सम्पन्न (१६–२१ असार) भएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेको थियो । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको थियो ।

तर, २१ दिनपछि आगामी बिहीबार केन्द्रीय सदस्यबारे छलफल गर्न बैठक बोलाएको छ । यसअघि गत २२–२३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले १० दिनभित्र केन्द्रीय सदस्यको नामावली तयार पार्न प्रदेशका इन्चार्ज र संयोजकलाई जिम्मा दिएको थियो । बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले नामावली बुझाइसकेको बताइन् । ‘हामीले नामावली बुझाइसकेका छौँ । केन्द्रीय कमिटी बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भनिन् ।

सिफारिस नाममाथि गृहकार्य भइरहेको केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले बताए । ‘१० साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । प्रदेशबाट सिफारिस भएका नामावलीमाथि संगठन विभागले गृहकार्य गरिरहेको छ । केन्द्रीय कमिटीले आवश्यक निर्णय लिन्छ,’ उनले भने ।

सिफारिस नामबारे संगठन विभागले मापदण्ड पुगे–नपुगेको अध्ययन गर्ने छ । मापदण्ड नपुगेका नाममा विभागले कैफियत देखाउनेछ । सबै प्रदेशबाट सिफारिस आइसकेपछि संगठन विभागले छानबिन गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्छ,’ श्रेष्ठले भने, ‘त्यो सिफारिसमाथि केन्द्रीय कमिटीमा छलफल गरेर पूर्णता दिने काम हुन्छ ।’

एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलताजस्ता मापदण्ड बनाएको छ । आकांक्षीलाई प्रदेश कमिटीका साथै केन्द्रीय कार्यालयमा पनि आकांक्षा राख्न सकिने व्यवस्था गरिएको थियो । 

विधानअनुसार प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तगर्तका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् ।

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन्  । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन र नेताहरूको कार्यविभाजन गर्ने एकीकृत समाजवादीको तयारी छ । विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ ।