मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format १o:५३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

प्रसिद्ध वृत्तचित्र ‘आग्रे’को रोल्पाको जेलबाङमा प्रदर्शनी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

मगर जातिको पुर्ख्यौली  पेसामा आधारित चर्चित वृत्तचित्र आग्रेको रोल्पाको सुनछहरी गाउँपालिका– ७ जेलबाङमा प्रदर्शन गरिएको छ । जेलबाङकै फलामखानी र त्यसमा काम गर्ने मजदुरको कथावस्तुमा आधारित वृत्तचित्र छायांकन गरिएको स्थानमा पहिलोपटक प्रदर्शन गरिएको हो ।

जेलबाङमा पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एक कार्यक्रमबीच वृत्तचित्र प्रदर्शनीको उदघाटन गरे । मगर खाम र अंग्रेजी भाषामा निर्मित आग्रेले नेपालमा मात्र नभई धेरै देशमा चर्चा र ख्याति कमाएको छ । नेपालका साथै अमेरिका, बेलायत, रुस, जर्मनी, जर्जिया, अस्ट्रेलिया, इटाली, नेदरल्यान्ड, कोरिया, भारत, बंगलादेश, स्लोभाकिया, रोमानिया, कम्बोडिया, अफ्रिका र कोलम्बियासहित ३९ देशमा आयोजित फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको वृत्तचित्रले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । 

आग्रेले गत वर्ष अमेरिकामा आयोजित स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ डकुकेन्ट्री तथा अमेरिकामै आयोजित आदिवासी फिल्म फेस्टिभलमा तीनवटा पुरस्कार पाउनुका साथै सन् २०२२ मा जर्जियामा आयोजित ‘मेस्टिया इन्टरनेसनल सर्ट एन्ड माउन्टेन फिल्म फेस्टिभल’मा उत्कृष्ट सिनेमाटोग्राफीको उपाधि जितेको थियो । आग्रेले नेपालमा पनि काठमाडाैं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अवार्ड– २०२२, नेपाल ह्युमान राइट्स फेस्टिभल उत्कृष्ट अवार्ड– २०२२ सहित विभिन्न पुरस्कार हात पारेको छ । 

जेलबाङ सेवा समाजको लगानीमा निर्मित वृत्तचित्रको लेखन कवि विष्णु पुन सन्न्यास र निर्देशन अनिल बुढामगरले गरेका हुन्। वृत्तचित्र वर्षौँ फलामखानीमा काम गरेका रोल्पाली मगर समुदायका वृद्धको जीवनकथामा आधारित छ ।कार्यक्रममा रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले तीन सय ९२ वर्षसम्म लगातार उत्खनन गरिएको फलामखानी ०४६ सालपछि तत्कालीन सरकारले बन्द गरिदिएपछि त्यहाँ कार्यरत स्थानीय मजदुरहरूको रोजीरोटी खोसिएको विषयलाई वृत्तचित्रले प्रस्ट पारेको बताए ।

उनले रोजीरोटी खोसिएपछि फलामखानीका मजदुर जीविकोपार्जनका लागि कोही भारत गएको र कोही गाउँमै बेरोजगार बनेको उल्लेख गरे । पुनले रोल्पा माओवादी जनयुद्धको उदगम थलो हुनुका विविध राजनीतिक र सामाजिक कारणहरूमध्ये उक्त घटना पनि एक भएको बताए । वृत्तचित्रले खानी बन्द भएका कारण रोजगारी गुमाएका धेरै मानिस माओवादी जनविद्रोहमा सामेल भएको देखाएको छ । जेलबाङमा माओवादी जनयुद्धका क्रममा ७३ जनाले ज्यान गुमाए । जसमध्ये ६३ जना राज्य र १० जना माओवादीतर्फबाट मारिएका हुन् । 

पुनले कुनै समय गाउँमै काम गरेर आत्मनिर्भर रहेको जेलबाङ गाउँले फलामखानी बन्द भएपछि ठूलो समस्या भोगेको भन्दै आफूहरू जेलबाङजस्ता ऐतिहासिक गाउँका अवस्था बदल्ने अभियानमा निरन्तर लागिपरेको उल्लेख गरे । जेलबाङबाट सिंगो मुलुकले आत्मनिर्भरता र राष्ट्रियताको सन्देश लिन सक्ने पुनको भनाइ थियो । कार्यक्रममा पुनले जेलबाङमा निर्मित आग्रे संग्रहालय भवनको पनि उद्घाटन गरे ।