मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सेनालाई दुई अमेरिकी जहाज उपहार, थप दुई वेल हेलिकोप्टर दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

अमेरिकाले नेपाली सेनालाई तीन करोड ७० लाख अमेरिकी डलर (करिब सवा पाँच अर्ब रुपैयाँ)बराबरको विदेशी सैन्य वित्तपोषण (एफएमएफ) अनुदानमार्फत दुईवटा नयाँ एम–२८ स्काई ट्रक जहाज उपहार दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित एक समारोहमा अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानसेनापति अशोकराज सिग्देललाई जहाज हस्तान्तरण गरेका हुन् । अमेरिकी सेनाले नेपाली सेनालाई थप दुईवटा वेल हेलिकोप्टर पनि दिने भएको छ । 

हस्तान्तरण गरिएका दुईमध्ये एउटा स्काई ट्रक एयर एम्बुलेन्स हो । दुई सैनिक जहाज सैनिक प्रयोजनलगायत विपत् व्यवस्थापन र आपत्कालीन उद्धारका लागि प्रयोग हुने सैनिक प्रवक्ता सहायक रथी राजेन्द्र बस्नेतले जानकारी दिए ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोकराज सिग्देल, अमेरिकी विदेश मन्त्रालयको सुरक्षा सहायतासम्बन्धी प्रमुख उपनिर्देशक मेरी ए आर्चर र विमान निर्माता कम्पनी पिजेडएल मिएलेकका प्रतिनिधि सहभागी थिए । 

नेपालमा अब स्काई ट्रक विमानको संख्या पाँच पुगेको छ । यसअघि पनि अमेरिकाले सन् २०१९ मा दुईवटा जहाज दिएको थियो । एउटा जहाज नेपालले आफैँ खरिद गरेको थियो । यी विमान सुरक्षा र विपत् प्रतिकार्यको सुदृढीकरणका लागि नेपाली सेनाले प्रयोग गर्नेछ । 

परराष्ट्रमन्त्री राणाले सेनाको मध्य एयरबेसमा आयोजित कार्यक्रममा अमेरिकी सहयोगका विमानहरू सेनाको विपत् प्रतिकार्य क्षमता वृद्धिका लागि मात्र नभई नेपाल र अमेरिकाबिचको चिरस्थायी मित्रता र सहयोगको प्रतीकका रूपमा पनि महत्वपूर्ण रहेको बताइन् । ‘अमेरिका नेपालको एक स्थायी विकास साझेदार र भरपर्दो मित्र रहिआएको छ, जसले हामीलाई शासन सञ्चालन, मानवीय सहायता, विपत् प्रतिकार्य, शान्ति स्थापना र क्षमता निर्माणमा सहयोग गर्दै आएको छ,’ उनले भनिन् ।

अमेरिकी राजदूत थम्प्सनले यो सहयोगले दुई देशबीच बृहत्तर सुरक्षा सहकार्यको केवल एउटा सानो हिस्सालाई प्रतिनिधित्व गर्ने बताए । ‘यी विमानहरू यन्त्र मात्र होइनन्, यी त जीवनरेखा हुन् । यिनले देशको कुनै पनि कुनाको आपत्कालीन अवस्थामा अझ छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन नेपाललाई मद्दत गर्नेछन्,’ उनले भने । दुई सेनाबिच प्रशिक्षण, आदानप्रदान, उपकरण हस्तान्तरण र योजना निर्माणलगायत हुँदै आएको पनि उनले बताए । नेपाललाई अझ उत्थानशील, सक्षम र सुरक्षित बनाउन अमेरिकी सहयोग जारी रहने राजदूत थम्प्सनले बताए । नेपाली सेनाका लागि थप दुईवटा वेल हेलिकोप्टर पनि दिन लागिएको राजदूतले जानकारी दिए ।

लकहिड मार्टिन नामक कम्पनीको पोलिस सहायक कम्पनी पिजेडएल मिएलेकद्वारा निर्मित यी विमान नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थाका निम्ति विशेष रूपमा उपयुक्त रहेको बताइएको छ । ‘सर्ट टेकअफ एन्ड ल्यान्डिङ क्षमताका कारण यी विमानलाई दुर्गम र विषम धावनमार्गमा सञ्चालन गर्न सकिन्छ । आज प्रदान गरिएका विमानमध्ये एउटा एअर एम्बुलेन्स हो, जुन बिरामी तथा घाइतेको उद्धार र स्ट्रेचरमार्फत गरिने ओसारपसारका निम्ति सुसज्जित छ,’ अमेरिकी दूतावासले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘यी विमानले नेपाली सेनाको विपत् प्रतिकार्य, घाइते उद्धार र मानवीय सहायता कार्यसम्बन्धी क्षमता सुदृढ गरी मानव जीवन जोगाउन देशभर सहयोग पुर्‍याउनेछन् ।’