मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
२o८२ भदौ २२ आइतबार १८:४९:oo
Read Time : > 1 मिनेट
प्रदेश

चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार सधैँ तत्पर छ : मन्त्री श्रेष्ठ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १८:४९:oo

बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चेपाङसँग जोडिएको चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ उनले भने । 
मन्त्री श्रेष्ठले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गर्दै ८४ हजार ३३४ जनसंख्या भएका चेपाङमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्याङ्क गम्भीर भएको उल्लेख गरे । ‘यसलाई जोगाउन पर्यटन तथा संस्कृति मन्त्रालय निरन्तर सहयोग गर्नेछ,’ उनले भने ।

मन्त्री श्रेष्ठले प्रदेश सरकारले २२ भदौमा चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिइ चेपाङ समुदायलाई सम्मान गरेको स्मरण गराए । 

कार्यक्रममा मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बागमती प्रदेशभित्रका तमाम मूर्त तथा अमूर्त सम्पदाहरुलाई बचाउन संस्कृति तथा पर्यटन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

उनले चेपाङको भाषा भावी पुस्ताले पनि सुन्न पाउने र त्यो पहिचान कायम राख्नका लागि संस्कृति तथा पर्यटन मन्त्रालय लागि परेको स्पष्ट पारे । ‘चेपाङ समुदायलाई पर्यटनको हब बनाउन पनि हामी चाहन्छौं । यहाँका सबै गतिविधिहरु, चाहे होमस्टेमार्फत होस्, चाहे यहाँहरुले जोगाइराख्नुभएको यहाँको सम्पदा अवलोकन गर्ने उद्देश्यले नै किन नहोस्, त्यसको हिसाबले हाम्रो तमाम चेपाङ समुदाय र हाम्रा बस्तीहरुमालाई हाम्रा पर्यटकहरुको हब बनाउन हामी प्रतिबद्ध छौं,’ उनले भने ।

नेपाल चेपाङ चेपाङ संघका अध्यक्ष गोविन्द चेपाङले अब चेपाङ समुदायको पहिचान र यसको प्रवर्द्धन गर्ने जिम्मा अब युवा पुस्ताले लिनुपर्ने बताए । यस्तै,  र प्रदेशका पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री सन्तराम चेपाङले न्वांगी पर्वलाई चेपाङ समुदायको जीवनशैली, संस्कृति र धार्मिक आस्थासँग गासिएको पर्व भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।

चेपाङ समुदायमा पितृलाई पूजा नगरी र अर्पण नगरी नयाँ फलफूल वा अन्नपात खान नहुने धार्मिक मान्यता रहेको छ । त्यसैले न्वांगीको दिन घैया धान, काउनो, पिँडालु लगायत अन्नपात र फलफूल भूमि तथा पितृलाई चढाउने गरिन्छ । यस अवसरमा झाँक्री (पान्दे)हरूले ढ्याङ्ग्रो बजाउँदै कुखुराको बली दिने, नातागोता भेला भई भोज खाने, नाचगान गर्ने र आपसी सुखदुःख साट्ने परम्परा छ ।

नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । अघिल्लो वर्ष धादिङमा आयोजना गरिएको पर्व यस वर्ष चितवनको इच्छा कामना गाउँपालिकामा आयोजना भएको हो ।