
निजामती (सिभिल) अस्पताललाई विशिष्टीकृत अस्पतालमा रूपान्तरण गरिने भएको छ । हाल सीमित स्रोत–साधन र पूर्वाधारभित्र सेवा लिँदै आएको अस्पतालको शय्या संख्या थपिएपछि विशिष्टीकृत अस्पतालका रूपमा परिणत गरिनेछ । दुई महिनाअघि नेपाल आएको चिनियाँ पक्षले अस्पताललाई सातदेखि १० अर्बसम्मको नयाँ संरचना बनाइदिने प्रतिबद्धता जनाएको छ । दुईपक्षीय सम्झौतासमेत भएर चिनियाँ पक्षले केही समयमै काम सुरुवात गर्ने तयारी गरेको छ ।
चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन (सिआइडिसिए)का प्रमुख लुओ चाओहुई र अर्थमन्त्री विष्णु पौडेलबिच गत ४ साउनमा दुईपक्षीय लिखित सम्झौता भएको थियो । नेपालले डिपिआर पेस गरेपछि सम्झौता भएको थियो । चिनियाँ पक्षले पनि अस्पतालको डिजाइन पेस गरिसकेको छ । यसअघिकै जस्तै भवनको शैलीमा नयाँ भवन निर्माण हुनेछ । अब चिनियाँ पक्षले छिट्टै ग्लोबल टेन्डर आह्वान गर्नेछ ।
अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले चिनियाँ पक्षले छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर सम्झौताअनुसार काम थाल्ने जानकारी दिए । निजामती अस्पताल हाल २५० शय्याको छ । इमर्जेन्सी उपचार कक्ष पनि साँघुरो छ । चिनियाँ पक्षले दुई वर्षभित्र दुईवटा भवन (सर्भिस ब्लक र एकेडेमिक ब्लक) निर्माण गरिदिने भएको छ । त्यसपछि अस्पतालको सेवा प्रवाह फराकिलो बन्ने विश्वास लिइएको छ । ‘अहिले हामीले चाहेर पनि सेवालाई बढाउन सकेका छैनौँ, किनभने हामीसँग सीमित स्रोत–साधन र पूर्वाधार छ । अब भने दुई वर्षभित्र अस्पतालको सेवा विस्तारका साथै विशिष्टीकृत अस्पतालका रूपमा रूपान्तरण गर्दैछौँ,’ रेग्मीले भने, ‘चिनियाँ पक्षले दुई महिनासम्म हामीसँग बसेर अस्पतालको निर्माण योजना र विस्तारबारे कार्ययोजना तयार गरिसकेको छ, अब छिट्टै काम थाल्दै छ । दुई वर्षमा काम सकिन्छ, त्यसपछि अस्पतालको सेवा पनि विस्तार भइहाल्छ ।’
रेग्मीका अनुसार हाल अस्पतालमा ओपिडी सेवा लिन दैनिक एक हजार बिरामी आउँछन् । एक हजार बिरामी आउने अस्पतालमा शय्या संख्या कम्तीमा पनि पाँच सय चाहिने उनले बताए । ‘अब अस्पतालको सेवा बढाउने, प्रविधि र ल्याब भित्र्याउने हो,’ उनले भने, ‘हामीले सकेसम्म पाँच सय शय्या पुर्याउनुपर्छ भनेर प्रस्ताव गरेका छौँ, चिनियाँ पक्षले दुई सयदेखि २५० शय्याको संरचना बनाइदिने बाचा गरेको छ ।’
नयाँ दुईवटा भवन निर्माणको हाल मुख्य भवनको दायाँबायाँ रहेका साना भवन हटाइनेछ । अस्पतालको पछाडि रहेको बगैँचा तथा ग्रिनरीलाई थप व्यवस्थित पारिनेछ । खुला र बगैँचाको क्षेत्र नमासीकन पुराना साना भवन भत्काएर त्यही ठाउँमा आधुनिक भवन निर्माण गरिनेछ । बनेका दुईवटा भवनमध्ये एउटामा शैक्षिक तथा अनुसन्धानका कार्यक्रम गरिनेछ भने अर्को भवनबाट सेवा प्रवाह गरिनेछ । अब बन्ने भवनमा अन्डरग्राउन्ड पार्किङसहित व्यवस्था गरिनेछ । भवन पाँच तलासम्मको बन्नेछ ।
यसअघि यो अस्पतालको अधिकांश संरचना पनि चिनियाँ पक्षले नै निर्माण गरेको थियो । बिचबिचमा आएर मर्मतसम्भारसमेत चिनियाँ पक्षले गरिरहेको छ । अस्पतालले सेवा विस्तारका लागि नयाँ भवन बनाउने प्रस्ताव राखेपछि चिनियाँ पक्ष तयार भएको हो । नयाँ भवन बनेपछि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत संघीय अस्पतालले दिँदै आएका विशिष्टीकृत सेवा निजामती अस्पतालले सञ्चालन गर्नेछ ।
हाल अस्पतालले चिकित्सक तथा कर्मचारीको दरबन्दी संख्या कम भएको भन्दै तीन सय दरबन्दी कायम गर्न माग गर्दै ओएनएम सर्भेको रिपोर्ट सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइसकेको छ । हाल यो अस्पतालमा स्वास्थ्य बिमा सुविधा छैन । तैपनि बिरामीको भिड लाग्ने गरेको छ । निजामती कर्मचारीलाई लक्षित गर्दै खोलिएको यो अस्पतालमा अहिले कर्मचारीभन्दा अन्य सर्वसाधारण उपचार गर्न आउने गरेका छन् । तर, ल्याब शुल्क महँगो भएको सेवाग्राहीको गुनासो छ । अस्पताल विशिष्टीकृत अस्पतालमा रूपान्तरण भएपछि शुल्कसमेत निर्धारण गरिनेछ । निजामती कर्मचारीलाई मात्रै नभएर अन्य सर्वसाधारणलाई समेत सहज हुने गरी उपचार शुल्क निर्धारण गर्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक रेग्मीले बताए ।
नयाँ भवन बनेपछि उपचारमा आधुनिक उपकरण पनि भित्र्याइनेछ । उपकरणहरू पनि चिनियाँ पक्षले नै ल्याइदिने भएको छ । क्यान्सर रोगको सर्जरीका लागि आधुनिक मेसिन, क्याथ ल्याब, जेनेटिक ल्याबगायत उपकरण थपिनेछन् । यसो भएपछि अन्य संघीय अस्पतालमा हुने चाप घट्ने अस्पतालमा कार्यकारी निर्देशक डा. रेग्मीको भनाइ छ ।