
कालीकोटको रास्कोट नगरपालिका– ८, फुकोटका वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन्। बुधबार बेलुकी रास्कोट– ५, लामासिनस्थित ससुराली जान भनेर हिँडेका बराल बेपत्ता भएका हुन्।
वडा कार्यालयबाट दिउँसो नगरपालिका गएका वडाध्यक्ष बराल त्यहाँबाट ससुराली जाने भनेर हिँडेका वडासचिव कोपिलाकुमारी सञ्ज्याल बरालले बताइन्। वडाको काम सकेर ससुराली घर जान भनेर हिँडेका वडाध्यक्ष बराल बेपत्ता भएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए। ‘ससुराली पनि गएनन्, घर पनि गएनन्,’ नगर प्रमुख शाहीले भने, ’अन्यत्र कता गए भन्ने पत्ता लगाउन सकिएको छैन।’ उनले रास्कोट नगरका सबै वडा र बाटोमा पनि नगर प्रहरी र स्थानीयले खोजी गरे पनि नभेटिएको जानकारी दिए।
रास्कोट नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष बरालले मानसिक समस्याको औषधि सेवन गरिरहेको उल्लेख छ। वडाध्यक्ष बराल हराएको जानकारी आएपछि प्रहरी चौकी रास्कोटमार्फत आएपछि रास्कोट, सान्निगाड, मेहलमुडीलगायतका प्रहरी चौकीबाट खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।
बरालका पत्नी, एक छोरा र दुई छोरी छन्। उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चुनाव जितेका जनप्रतिनिधि हुन्।