
कोशी प्रदेश आमसञ्चार विधेयकको विरोधमा धनकुटाका पत्रकार आन्दोलित भएका छन् । कोशी प्रदेश सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी आमसञ्चार विधेयकको विरोध गर्दै उनीहरू आन्दोलित भएका हुन् ।
विधेयकमा भएको प्रेसविरोधी प्रावधान खारेजीको माग गर्दै धनकुटाका पत्रकारले आज जिल्ला प्रशासन कार्यालय धनकुटामा एक घण्टा धर्ना दिएका छन् । कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर लेखिएको ब्यानरसहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनकुटाको गेटमा धर्ना दिएका थिए ।
धर्नापछि आयोजित कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष सञ्जयसन्तोषी राईले प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल खारेज गर्न माग गरे । उनले भने, ‘हामी पत्रकारहरूको मागअनुसार कोशी प्रदेश सरकारले प्रदेश आमसञ्चार विधेयक त ल्याएको छ । तर, त्यसमा उल्लेख भएका केही प्रावधान प्रेसविरोधी रहेका छन् । हामी त्यसको खारेजीको माग गर्दछौँ ।’ नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले पत्रकारहरूको पेसामाथि नै अंकुश लगाउने विधेयक प्रदेश सरकारले ल्याएकाले त्यो प्रावधान नसच्याएसम्म आन्दोलन जारी रहने बताए ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा बिहान १० बजेदेखि सुरु भएको पत्रकारहरूको धर्ना कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।