
जिबीका जेठान सूर्यदर्शनका संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजन मुद्दा चलेको आठ महिनापछि अदालतमा
सहकारी ठगीमा फरार जिबी राईका जेठानसमेत रहेका पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजन मुद्दा चलेको आठ महिनापछि आइतबार बिहान १० बजे कास्की जिल्ला अदालतमा उपस्थित भए । फटाफट बयान मात्रै भएन, केही घण्टामै थुनछेक बहस पनि सकियो । कार्यालय समय नसकिँदै १० लाख धरौटीमा छाड्न आदेश आएपछि उनी छुटे । अझ अनौठो त सरकार वादी रहेको यो मुद्दामा सरकारी वकिलविना नै थुनछेक बहस गरेर आदेश आएको हो ।
सूर्यदर्शनको पहिलो मुद्दा १८ असोज ०८० अघि नै दायर भए पनि विदेशमा फरार रहेका बमजनमाथि ७ पुस ०८१ मा पूरक मुद्दा चढेको थियो । आइतबार अदालतमा हाजिर भएपछि न्यायाधीश शंकरबहादुर राईको एकल इजलासमा थुनछेक बहस भएको थियो । १० लाख धरौटीमा छाड्न आदेश भएपछि उनी धरौटी बुझाएर रिहा भएको अदालतका सूचना अधिकारी दामोदर अधिकारीले बताए ।
तर, सरकारवादी रहेको मुद्दामा सरकारी वकिलविना नै थुनछेक बहस भयो । जिल्ला सरकारी वकिलको कार्यालयले खबर नगरेका कारण उपस्थित हुन नसकिएको कास्की जिल्ला न्यायाधिवक्ता कमला काफ्ले बताउँछिन् । ‘मुद्दा अभियोजन हामीले गरेको हो । ज्ञानबहादुरको बयान लिँदा हाम्रा कार्यालयका प्रतिनिधि गएका हुन् । तर, थुनछेक बहसमा हामीहरूलाई जिल्ला अदालतले खबर गरेन । थाहा नपाएकाले उपस्थित हुन सकेनौँ,’ उनले भनिन् ।
यसअघि सरकारी वकिलको कार्यालयले रास्वपा सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीलगायतको थुनछेक बहसमा काठमाडाैंस्थित महान्यायाधिवक्ताको कार्यालयबाट उपमहान्यायाधिवक्ता, सहमहान्यायाधिवक्तालगायतको टोली झिकाएर बहस गरेको थियो । बमजनको मुद्दामा सरकारी वकिलले बहस नै नगरेपछि स्वतः प्रतिवादीका वकिलको एकपक्षीय दाबी बलियो देखियो । बमजनलाई धरौटीमा छुटाउन चलखेलमै सरकारी वकिलविना नै थुनछेक बहस गराइएको स्रोत बताउँछ । सहकारीपीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बमजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।
सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा ७ पुस ०८१ मा पूरक मुद्दा जाँदा ४४ प्रतिवादी थिए, तीमध्येका बमजन एक हुन् । २७ भदौ ०६५ देखि १७ मंसिर ०६८ सम्म उक्त सरहकारीको अध्यक्ष रहेका उनलाई सहकारी ठगीमा मुद्दा चलाइएको थियो । बमजनविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्रमा उनी अध्यक्ष हुँदाका बखत सहकारीकोे एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ हिनामिना भएको उल्लेख छ । तर, उनले व्यक्तिगत रूपमा २६ लाख ७७ हजार ४०९ रुपैयाँ अपचलन गरेको उल्लेख छ । बमजनले सहकारी हिनामिना गरी प्राप्त गरेको रकम चार लाख २५ हजार ५ भदौ ०६६ मा नारायणी फाइनान्समा रहेको मुद्दती खातामा जम्मा गरेकोसमेत देखिन्छ ।
‘यी प्रतिवादी ज्ञानबहादुर बमजनको नाममा रहेको खाता नं. १८०४६५५२६०१ मा सन् ३/३१/२००९ देखि सन् १/२/२०१२ सम्म रु. ८३,८७,४२५.६५ (त्रियासी लाख सतासी हजार चार सय पच्चीस रुपैयाँ पैंसठ्ठी पैसा) खातामा जम्मा भएकोमा सो खातामा निम्न रकम सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु. २६ लाख ७० हजार आठ सय एकहत्तर रकम जम्मा भएकोसमेत देखिन्छ,’ अभियोजनपत्रमा भनिएको छ ।
सहकारी ठगीमा बमजनसहित ३१ विरुद्ध मुद्दा चल्दा सहकारी ऐन, २०७४ को दफा १२४ (१) (घ) (६) अनुसारको कसुर लगाइएको थियो । सोही ऐनको दफा १२४ उपदफा (१) (३) अनुसार एक अर्बभन्दा बढीको सहकारी ठगीमा आठदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ ।
यो कसुरमा एक अर्ब ५१ करोड ४० लाख बिगो कायम गरिएको छ । ‘यी प्रतिवादीहरू (बमजन नेतृत्वको समिति) सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको स्थापनाकालमा नै संस्थामा आबद्ध भएकोमा संस्थाको विनियम, २०६५ मा संस्थामा संलग्न सदस्यहरूबिच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने, सदस्यहरूको व्यक्तिगत क्षमता विकास तथा उनीहरूको उत्पादन, व्यवसाय तथा पेसाको अभिवृद्धिका लागि बचत परिचालन गर्ने, सदस्यहरूको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील, आयमूलक, सिपमूलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवद्र्धन गर्ने, समुदायभित्र सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण, संरक्षणजस्ता क्रियाकलापको प्रवद्र्धन गर्ने उद्देश्य रहेकोमा यी प्रतिवादीहरूले सहकारीको उद्देश्यविपरीत असुलउपर हुन नसक्ने गरी विना कुनै जमानी १७ जना व्यक्तिहरूको नाममा ऋण देखाई सो ऋण उल्लेख भएको रकम यिनै प्रतिवादीहरूले लिई खाई बचतकर्ताको हितविपरीत ठगी गरेको देखिन्छ,’ अभियोजन पत्रमा भनिएको छ । जिबीलाई बमजनले नै सहकारीमा लगेका थिए । पछि सूर्यदर्शनको अध्यक्षसमेत बनाएका थिए । बमजनकी बहिनी भगवतीसँग जिबीले दोस्रो विवाह गरेका थिए ।
पीडित पक्षले त बयान र बहस दुवैमा सरकारी वकिल कार्यालयबाट कोही पनि नआएको दाबी गरेको छ । अभियोजन दर्ता गरेको कार्यालयबाटै प्रतिनिधि नजानुले सेटिङमा काम भरहेको भनेर आफूहरूले बुझेको संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले बताए । ‘अदालतमा कहिले आउने, बयान गर्ने र धरौटीमा छाड्ने भन्ने कुरा सबै सेटिङमा हुने रै’छ भन्ने आज देखियो । बरु हामी पीडित पक्ष नगएको भए पनि हुने थियो । तर, जसले अभियोग दर्ता गरेको छ, ऊ नै अनुपस्थित हुनु भनेको कहाँसम्मको गैरजिम्मेवारी हो,’ उनले प्रश्न गरे ।
सरकारी वकिलको कार्यालयबाट गएका प्रतिनिधिको नाम सोध्दा पनि भन्न नसकेको बताउँदै उनले भने, ‘हामी बिहानैदेखि अदालतमा छौँ, कोही पनि गएको हामीले देखेनौँ, नगएको मान्छे त्यसै गएको हो भनेर झुट बेलेर हुन्छ ।’ बमजनभन्दा कम आरोपितलाई ३०–३५ लाख धरौटी माग गरिएको छ, तर संस्थापक अध्यक्षसमेत रहेका उनलाई किन जम्मा १० लाख लिएर तारेखमा छाडियो– यो गम्भीर विषय रहेको भन्दै उनले प्रश्न गरे ।
संसदीय छानबिन समितिको प्रतिवेदन : ज्ञानबहादुर बमजन आधा दर्जन सहकारी हिनामिनाका नाइके
सांसद सूर्य थापा अध्यक्षताको संसदीय विशेष छानबिन समितिले ज्ञानबहादुर बमजनलाई विभिन्न सहकारी अनियमितताका मुख्य नाइके भनेर किटान गरेको छ । इच्छाबहादुर तामाङ, डम्बरबहादुर बमजन, ज्ञानबहादुर बमजन र गितेन्द्रबाबु (जिबी) राई मिलेर विभिन्न सहकारी खोलेर ठगी गरेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘...त्यसमध्ये अहिले अधिकांश सहकारी डिबी बमजन र पछि ज्ञानबहादुर बमजनसँग जोडिएकाहरूको संलग्नतामा खुलेका र सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको देखिन्छ ।’
ज्ञानबहादुर बमजन ०६० मा सुरुमा उपकार सेभिङको संस्थापक अध्यक्ष बनेका थिए । त्यस्तै, कुमारी सेभिङ, हिमाल सेभिङमा पनि उनै संस्थापक अध्यक्ष थिए । बज्रयोगिनी सहकारी पनि उनकै अग्रसरतामा स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ । स्वर्णलक्ष्मी सहकारी पनि बमजनले नै सुरुमा कब्जा गरेका थिए । प्रतिवेदनमा भनिएको छ, ‘स्वर्णलक्ष्मी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड कालीमाटी यही समूहले जबर्जस्ती कब्जा गरेको थियो । ज्ञानबहादुर बमजनको टिमले हिमाल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ भक्तपुरको स्टाफ कल्पना श्रेष्ठलाई ल्याएर अध्यक्ष बनायो ।’
यही सहकारीमा उनीहरूले हाल कांग्रेसमा रहेकी सांसद माया राईलाई समेत सञ्चालक बनाएको थियो । व्यापक दबाबपछि राईविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो । तर, अचम्म यो सहकारीको हिनामिनामा ज्ञानबहादुर बमजनलाई भने प्रहरीले अनुसन्धानको दायरामा ल्याएको देखिँदैन । सूर्यदर्शन पनि बमजनले नै स्थापना गरेकोमा पछि बहिनीज्वाइँ जिबी राईलाई जिम्मा लगाएका थिए । तर, हिनामिना भने उनकै कार्यकालदेखि सुरु भइसकेको थियो ।
पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठ भन्छन्– इजलासबाट धकेलेर निकालियो, बोल्नसमेत दिइएन
ज्ञानबहादुर बमजन अदालतमा आएको थाहा पाएपछि हामी ८–१० जना गयौँ । बहस हुँदै थियो, मैले ‘श्रीमान् म केही कुरा राख्छु’ भनेँ । न्यायाधीशले कुरा राख्न भनेपछि म बोल्न सुरु गरेको मात्र के थिएँ, प्रहरी हवल्दार केएस गुरुङ ‘नबोल–नबोल’ भन्दै आए । किन भनेर सोध्दा– ‘श्रीमानले भनेको’ भने । हामीले त सुनेनौँ भन्दै मैले प्रतिवाद गरेँ । मेरो कुरा भन्न सुरु गरेपछि फेरि तिनै हवल्दार आएर झम्टिएझैँ गरी ‘चुप लाग’ भने । र, जबर्जस्ती हामीलाई धकेलेर बाहिर निकाले । यी सब देख्दादेख्दै पनि श्रीमान्समेत केही बोल्नुभएन । जहाँसुकैका इजलासमा पीडित पक्षले समय लिएर आफ्नो कुरा राख्न पाउने प्रचलन छ । तर, आज हामीलाई किन कुरा राख्न दिइएन र प्रहरीले धकेलेर निकाल्दासमेत इजलासका न्यायाधीश केही बोलेनन्, गम्भीर विषय हो ।