
साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से दोहोरो अंकले घटेको छ। नेप्से ३८.१० अंक (१.३५ प्रतिशत)ले घट्दा कारोबार रकम आठ अर्बभन्दा माथि पुगेको छ।
नेप्से दुई हजार ७८१ विन्दुमा कायम भएर कारोबार बन्द हुँदा आठ अर्ब नौ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम बढेको हो। बुधबार सात अर्ब ६० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज म्युचअल फन्ड र निर्जीवन बिमा एक प्रतिशतभन्दा थोरैले बढ्दा बाँकी समूहको सूचकमा गिरावट देखिएको छ। विकास बैंक सबैभन्दा धेरै (२.३८ प्रतिशत) र बैंक सबैभन्दा थोरै (०.८७ प्रतिशत)ले ओरालो लाग्दा बाँकी समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्।
बजार घटे पनि आज विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मैलुङ खोला जलविद्युत् कम्पनी, थ्री स्टार हाइड्रो, एनएलजी इन्स्योरेन्स र पिपल्स पावरको सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले बढेको छ।
आज ओरियन्ट होटेल्स र लुम्बिनी विकास बैंकका लगानीकर्ताले सर्वाधिक (चार प्रतिशतभन्दा धेरै) गुमाएका छन्।