
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न स्थानीयले सरकारसँग माग गरेका छन्। विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिको अगुवाइमा स्थानीयले पदाधिकारी नियुक्तिको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई सोमबार ज्ञापनपत्र बुझाएका छन्।
मुख्यमन्त्री विश्वविद्यालयको सभा सदस्य रहने व्यवस्था ऐनमा छ। पदाधिकारी नियुक्तिका लागि सभा सदस्यको हैसियतले विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीसँग कुरा गर्न स्थानीयले मुख्यमन्त्री शाहलाई आग्रह गरेका हुन्। सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी ऐन जारी भएको दुई महिना भए पनि सरकारले पदाधिकारी नियुक्त गरेको छैन।
राष्ट्रपतिले यो ऐन गत ४ असारमा प्रमाणीकरण गरेका थिए। ऐनअनुसार विश्वविद्यालयका पदाधिकारीमा कुलपति, सहकुलपति, उपकुलपति, रजिष्ट्रार, डिन, प्रिन्सिपल र अस्पताल निर्देशक रहने छन्। प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था छ भने उपकुलपति सरकारले नियुक्त गर्ने छ।
वरिष्ठ चिकित्सक डा. गणेशबहादुर सिंहले चिकित्सा शिक्षा पठनपाठनका लागि गेटामा तत्कालै तीन सय सय्याको अस्पताल सञ्चालन आवश्यक रहेको बताए। विश्वविद्यालय यसै वर्षबाट सञ्चालन होस् भन्ने यहाँका नागरिकको माग रहेको उनले बताए। मेडिकल शिक्षा पढाउन तीन सय सय्याको अस्पताल दुई वर्ष सञ्चालन भएको हुनुपर्ने प्रावधानका कारण गेटामा एमबिबिएस पढाउन केही समय लाग्नसक्ने उनको भनाइ छ।
त्यसको विकल्पमा सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालय मातहत राखेर मेडिकल शिक्षाको पठनपाठन सुरु गर्न सकिने डा. सिंहले बताए। ‘एमबिबिएस पढाउन कम्तीमा तीन सय सय्याको अस्पताल दुई वर्ष सञ्चालन भएको हुनुपर्ने भन्ने ऐन छ। त्यसकारण अहिले तीन सय सय्या सुरु गरे मेडिकल शिक्षा पढाउन दुई वर्ष लाग्छ’ तत्कालीन सेती अञ्चल अस्पतालमा लामो समय मेडिकल सुपरीटेण्डेन्टका रुपमा काम गरेका उनले भने, ‘छोटोमा जाने हो भने सेतीलाई लिन सकिन्छ।’
सुदूरपश्चिमबासीलाई अहिले स्वास्थ्य शिक्षामात्र नभइ सुलभ, सस्तो र स्तरीय स्वास्थ्य सेवा पनि चाहिएकाले अस्पताल सञ्चालनमा ढिलो गर्न नहुने उनले बताए।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले चालु वर्षमा कम्तीमा तीन सय सय्याको अस्पताल सञ्चालनका लागि पहल गरिदिन मुख्यमन्त्री शाहलाई आग्रह गरे। विश्वविद्यालयका पदाधिकारी नियुक्त गरेर यसै आर्थिक वर्षबाट चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न सकिने उनले बताए।
‘यो वर्ष सम्भव नभए अर्को वर्ष जसरी पनि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नुपर्छ,’ पाण्डेयले भने, ‘ऐन आएको पनि दुई महिना भइसक्यो। सरकारले तत्कालै पदाधिकारी नियुक्त गर्नुपर्छ भन्ने हाम्रो माग छ।’ मुख्यमन्त्री शाहले गेटामा अस्पताल र चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नका लागि संघीय सरकारसँग आफूले पहल गर्ने बताए। सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालय मातहत राखेर चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न सकिने उनको भनाइ छ।
गेटामा चिकित्सा शिक्षाको पठनपाठनसँगै ६ सय सय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार छन्। करिब ६ अर्ब ६८ करोड रुपैयाँको लागतमा निर्मित संरचना लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेका छन्। कतिपय भवन पाँच वर्षअघि नै निर्माण सम्पन्न भएका थिए।