
सरकारले उखुमा अनुदान दिँदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसान आन्दोलित बनेका छन् । कृषि प्रवद्र्धनका लागि सरकारले यअसघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो । तर, चालू आर्थिक वर्षको बजेटले उक्त अनुदान कटौती गरेपछि उखु उत्पादक किसान आन्दोलित भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेको उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्रसमेत पठाएको छ ।
समितिका कोषाध्यक्ष चेतनकुमार राईले उखु किसानमाथि अन्याय भएको भन्दै प्रशासनमार्फत ज्ञापनपत्र पठाएको बताए । कोषाध्यक्ष राईका अनुसार अन्य कृषितर्फको अनुदान चरम दुरुपयोग भए पनि उखु उत्पादनकै आधारमा मात्रै सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ दिने भएकाले सो कटौती गरेपछि किसान आन्दोलनमा उत्रिएको बताए । सरकारले गत आवमा मात्रै अनुदानबापतको एक अर्ब ६० करोड रुपैयाँसमेत भुक्तानी नगरेको र चालू आवका लागि बजेटमार्फतै अनुदान कटौतीले किसान निराश भएको उनको भनाइ छ ।
कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीलाई ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष हरि चन्द (ठकुरी)ले अनुदान कटौती गरेर किसानलाई बिदेसिन बाध्य पार्ने व्यवस्था हटाई गत विगतको जस्तो अनुदान निरन्तर हुनुपर्ने माग गरे । त्यस्तै, किसानलाई दिइँदै आएको अनुदानको निरन्तरता, गत वर्षको भुक्तानी र चालू आवका लागि उखुको मूल्य निर्धारण गर्नसमेत माग गरिएको छ ।
किसानले आफ्ना माग पूरा गर्न साउन महिनाको समय दिएका छन् । सो अवधिमा माग पूरा नगरेमा चिनी उद्योगअगाडि विरोध प्रदर्शन गर्ने र भदौ दोस्रो सातादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । अन्य कृषितर्फ कामै नगरेर राज्यको करोडौँ रकम कुम्ल्याउने प्रचलन भए पनि गठबन्ध सरकारले किसानलाई प्रवद्र्धन गर्नुको साटो अनुदान कटौती गरेर निरुत्साहित पार्ने काम गरेको किसान नेताहरूको भनाइ छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कञ्चनपुर इन्चार्ज दशरथ भण्डारीले वर्तमान सरकारले किसानमाथि अन्याय गरेको बताए । कञ्चनपुरमा झन्डै १० हजार उखु किसान छन् ।