मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
२o८२ श्रावण १९ सोमबार o७:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

प्रदेश प्रमुख देवकोटा हेटौँडा आएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार o७:१o:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेलगत्तै उनी काठमाडौं प्रस्थान गरेका छन् । उनले राजीनामापत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई दिएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्य उपचारका लागि काठमाडौं रहेकाले सोमबार मात्र राजीनामा बुझाइने मुख्यमन्त्री लामाले बताए । ‘मैले राजीनामापत्रमा हस्ताक्षर गरिसकेको छु र सार्वजनिक रूपमा घोषणा पनि गरेको छु,’ उनले भने, ‘प्रदेश प्रमुखज्यू उपचारमा हुनुभएकाले सोमबार मात्र मेरा प्रमुख स्वकीय छत्र लामाले राजीनामापत्र बुझाउनेछन् । उहाँ आउनुभए भेटेर राजीनामा बुझाइनेछ, नभए कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन दिएको छु ।’

९ साउन ०८१ मा मुख्यमन्त्री बनेका लामाले करिब एक वर्ष सरकारको नेतृत्व गरे । कांग्रेस बागमती संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन् । कांग्रेस विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री रहने व्यवस्थाका कारण दलको नेतामा पराजित भएपछि लामामाथि पदबाट राजीनामा दिन दबाब परेको थियो ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा हेटौँडा आएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएका उनी सोमबार बिहान सिमरा हुँदै आउने देवकोटाका प्रेस सल्लाहकार सरिता दाहालले बताइन् । बिहीबार एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा काठमाडौंस्थित ग्रान्डी अस्पताल भर्ना भएका थिए । जसकारण मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीनजना मन्त्रीको शपथ रोकिएको थियो । प्रदेश प्रमुख देवकोटा हेटौँडा आएपछि मुख्यमन्त्री लामाले दिएको राजीनामा बुझ्ने उनको सचिवालयले जनाएको छ । लगत्तै नयाँ मुख्मयन्त्री नियुक्त र सरकार गठनको प्रक्रिया सोमबारबाटै सुरु हुनेछ । 

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि आफू सोहीअनुसार अगाडि बढ्ने बताएका छन् । उनले मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत हुन बाँकी नै रहेको बताए ।

राजनीतिक षड्यन्त्रका कारण सरकार परिवर्तन भयो
 बहादुरसिंह लामा, मुख्यमन्त्री

मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको सरकार ढालिनुको पछाडि गम्भीर राजनीतिक षड्यन्त्र रहेको आरोप लगाएका छन् । उनले आफू नेतृत्वको सरकार परिवर्तनले लोकतान्त्रिक मूल्य–मान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको दाबी गरेका छन् । ‘मेरो नेतृत्वमा रहेको कांग्रेस–एमालेको गठबन्धन सरकार ढल्नुमा राजनीतिक षड्यन्त्रले काम गरेको छ ।

अहिलेको सरकारको मुख्य उद्देश्य राजनीतिक स्थिरता र जनतामा आशा र विश्वास जगाउनु थियो,’ उनले भने, ‘तर, त्यही गठबन्धनको सरकारलाई सहमतिअनुसार टिक्न नदिएर लोकतान्त्रिक मूल्य–मान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको छ ।’ लामाले संविधानको धारा १६८ (२) बमोजिम गठबन्धनको समर्थनमा सरकार बनेको भएकाले संवैधानिक दायित्वबाट भाग्ने छुट आफूलाई नरहेको बताए । उनले आफूले इमानदारीपूर्वक काम गरेको र कुनै भ्रष्टाचार वा स्वार्थको इसारामा नचलिएको स्पष्ट पारे । मुख्यमन्त्रीबाट कस्तो र कुन स्वार्थ समूहको आदेशमा हटाइएको हो भन्ने कुरा उनले खुलाउन चाहेनन् ।