मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o७:४६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिंहदरबार वैद्यखाना : लक्ष्यभन्दा आधा  कम औषधि उत्पादन, बजारीकरणको सास्ती

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४६:oo

सिंहदरबारस्थित वैद्यखानाले ०७७/७८ मा एक सय ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादनको लक्ष्य लिएको थियो । तर, २५ प्रकारका मात्रै औषधि उत्पादन भए । ०७८/७९ मा वैद्यखानाले १०४ प्रकारको औषधि उत्पादन राख्ने लक्ष्य लिएकोमा जम्मा १५ प्रकारको औषधि मात्रै उत्पादन गर्न सक्यो । ०७९/८० मा ९८ प्रकारका औषधि उत्पादनको लक्ष्य लिए पनि १५ प्रकारको औषधि मात्रै उत्पादन गर्न सक्यो । आर्थिक वर्षमा ०८०/८१ मा वैद्यखानाले ३६ प्रकारका औषधि मात्रै उत्पादन गर्‍यो । ७७ प्रकारका औषधि उत्पादन गर्न सक्ने लक्ष्य लिइएको थियो । गत वर्ष ०८१/८२ को सम्म हेर्दा ७७ प्रकारका औषधि उत्पादन गर्न सकिने लक्ष्य लिएपछि ४० वटा उत्पादन भए । 

विगतमा भन्दा औषधि उत्पादनमा केही सुधार गरे पनि वैद्यखानाले लक्ष्य भने भेटाउन सकेन । वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले विगतको तुलनामा भने औषधि उत्पादन केही सुधार भएको र नयाँ उत्पादन बढाउन सकेको बताए । उनका अनुसार चालू आर्थिक वर्षमा थप १३ प्रकारका औषधि पुन: उत्पादन गर्ने लक्ष्य राखिएको छ । यद्यपि, स्रोतसाधन भने पर्याप्त नभएको उनको भनाइ छ । 

‘वैद्यखानाले विगतदेखि नै धेरे समस्या झेल्दै आएको छ, यहाँ काम गर्न निकै कठिन छ । स्रोतसाधनदेखि कच्चा पदार्थ खरिद गर्नसमेत समस्या छ,’ उनले भने, ‘मुख्यत: हामीकहाँ स्रोतसाधनकै कमी हो, यदि स्रोतसाधन र बजेटको पर्याप्तता हुने हो भने औषधि उत्पादन क्षमता बढाउन सकिन्छ । नेपालमा आयुर्वेदिक संघसंस्थालाई पुग्ने औषधि वितरण गर्न सकिन्छ ।’ केसीका अनुसार वैद्यखाना माथिल्लो तहका कारण नै ओझेलमा परेको छ । वैद्यखाना सुधारका लागि पञ्चवर्षीय योजनाको फाइल तय गरी स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । कार्ययोजना मन्त्रालयबाट स्वीकृत भए वैद्यखानालाई परिवर्तन गर्ने उनले दाबी गरे ।

चालू आर्थिक वर्षका लागि सरकारले वैद्यखानालाई ६ करोड ४० हजार रुपैयाँ विनियोजन गरेको छ । वैद्यखानामा कर्मचारी संख्या ३७ जना भए पनि तीमध्ये अधिकांश कर्मचारी तथा चिकित्सकहरू नियमित काममा आउँदैनन् । जसकारण औषधि उत्पादनमा समेत कठिनाइ हुने गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने बताएका थिए । तर, योजनाको खाका भने तय भएको छैन । पञ्चवर्षीय योजना दुई महिनादेखि स्वास्थ्य मन्त्रालयमा अड्किएको छ । चालू आर्थिक वर्षमा सरकारले सिंहदरबार वैद्यखाना तथा वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसअघि वैद्यखाना कर्मचारीको आपसी विवादका कारण पनि खस्किँदै गएको थियो । बर्सेनि पाँच करोडको बिक्री लक्ष्य लिएको वैद्यखानाको उत्पादन निरन्तर घट्दै गए पनि गत आर्थिक वर्षमा भने केही सुधार देखिएको छ । वैद्यखानाका उत्पादन शाखाको तथ्यांकअनुसार ०६६/६७ देखि ०६९/७० सम्म एक सय ५० किसिमका आयुर्वेदिक औषधि उत्पादन हुन्थे । खस्किँदो व्यवस्थापनका कारण ०७१/७२ देखि ०७४/७५ को अवधिसम्म आइपुग्दा ४० प्रकारका औषधि उत्पादन भएको तथ्यांक छ । त्यसयता भने कर्मचारीको किचलो र स्वास्थ्य मन्त्रालयको बेवास्ताका कारण उत्पादन घटेको थियो । ०७९/८० मा १५ प्रकारको मात्रै औषधि उत्पादन भएको थियो । तर गत आवमा भने आयुर्वेदिक औषधि उत्पादनमा केही सुधार भएको तथ्यांकमा देखिएको छ ।

वैद्यखानाले थप्न लागेका १३ प्रकारका औषधि यसअघि उत्पादन भएर बन्द भएका हुन् । बजारमा माग भएपछि कतिपय महत्वपूर्ण औषधि उत्पादन गर्न लागिएको केसीले जानकारी दिए । उनका अनुसार थप्न लागिएका १३ प्रकारका औषधिमा विपादीकान्त मलम, शक्तिवद्र्धक योगा निम्बादी तेल, कफइन्ड, लिभकेयर, अशोकारिस्ट, अश्वगन्धारिष्ट, दशमुलारिष्ट, अर्जुनारिष्ट, अर्शकुठार रस, डाइबिकेयर, श्वेतपर्पटी र टंकण भष्म औषधि पुन: उत्पादन गर्न लागिएको हो । बजेटको आकार थपिएकाले पनि यस वर्षदेखि थप औषधि उत्पादन गर्न लागिएको केसीले बताए ।

वैद्यखानाले गत आर्थिक वर्ष ०८१/८१ मा आठ करोड ६३ लाख ५५ हजार आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, दुई करोड ४६ लाख ६ हजार १९१ रुपैयाँ मात्र आम्दानी गर्न सक्यो । आव ०८०/८१ मा ६ करोड आम्दानीको लक्ष्य राखिए पनि एक करोड २४ लाख आम्दानी गरेको थियो । आव ०७९/८० मा ६ करोड ४६ लाख आम्दानी लक्ष्य राखिएकोमा एक करोड २५ लाख, आव ०७८/७९ मा पाँच करोड ३७ लाख आम्दानी लक्ष्य राखेकोमा एक करोड ८१ लाख ७५ हजार, ०७७/७८ मा पाँच करोड ३७ लाख आम्दानीको लक्ष्य राखेकोमा दुई करोड ६२ लाख आम्दानी गरेको थियो ।