मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार o६:o१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोप्चे बजार त्यसपछि बन्यो ओरेन्ज सिटी

धनकुटाको ‘ओरेन्ज सिटी’मा धरान, विराटनगर, झापा, सुनसरीदेखि भारतसम्मका पर्यटक आउन थालेका छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार o६:o१:oo
व्यापारिक हबका रूपमा रहेको धनकुटा नगरपालिका– ५ को माथिल्लो र तल्लो कोप्चे मृत्त बजारका रूपमा परिणत भए पनि स्थानीय युवाको सक्रियतामा ०७४ भदौदेखि कोप्चे पुनर्जागरण अभियान सञ्चालन सुरु गरियो । स्थानीय टोलबस्ती ८२ घरधुरीको सहभागितामा कोप्चे क्षेत्रलाई चिनाउन र पुनर्जागरण गर्नका लागि एकै कलरका घर रंग्याउने निर्णय गरे । तर, अब कुन कलर प्रयोग गर्ने भन्ने लामो छलफलपछि धनकुटा सुन्तला उत्पादनको नामले चर्चित रहेकाले ओरेन्ज कलर छनोट गरिएको स्थानीय अभियन्ता कोमल राईले बताए ।

धनकुटाको कोप्चे क्षेत्र कुनै वेला व्यापारिक हबका रूपमा परिचित थियो । यतिसम्म कि भिडभाडले गर्दा बालबच्चालाई घरबाहिर बाटोमा निस्कन दिइँदैनथ्यो । जब धरान–धनकुटा जोड्ने कोशी राजमार्ग ०४७ सालतिर बन्यो । तब धनकुटाको कोप्चे क्षेत्रको व्यापार सुक्दै गयो ।

सुन्दा अचम्म लाग्न सक्छ, यातायातको सुविधा भएपछि व्यापार–व्यवसाय अझ फस्टाउँदै जानुपर्नेमा सुक्दै गयो । यसको एक मात्र कारण थियो यातायातले धरान–धनकुटालाई त छोयो, तर उक्त सडक धनकुटा बजारको साइडबाट धनकुटा नगरपालिका– ७ जिरो प्वाइन्ट, सरस्वती चोक, सल्लेरी, हिले हुँदै तेहथुमको वसन्तपुरतर्फ गएपछि कोप्चेको व्यापार सुक्न थाल्यो । व्यापार–व्यवसाय चल्न छोडेपछि त्यहाँका व्यापारीहरू पनि बसाइँ सरेर गएको स्थानीयहरू बताउँछन् ।

धनकुटा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो । त्यहाँ पूर्वकै चर्चित धनकुटा बहुमुखी क्याम्पस थियो । व्यापारिक चहलपहल घटे पनि सरकारी कर्मचारी र विद्यार्थीको बाक्लो आवतजावत थियो । सरकारी कर्मचारी र विद्यार्थी घर भाडामा बस्थे । कोप्चे क्षेत्रमा केही चहलपहल थियो । जब प्लस टु कलेज बाक्लै खुले, संघीय संरचनामा सरकारी कार्यालय पनि सदरमुकाममा सीमित भए त्यसपछि कोप्चे बजार मृत्त बजार बन्न पुग्यो ।

व्यापारिक हबका रूपमा रहेको धनकुटा नगरपालिका– ५ को माथिल्लो र तल्लो कोप्चे मृत्त बजारका रूपमा परिणत भए पनि स्थानीय युवाहरूको सक्रियतामा ०७४ भदौदेखि कोप्चे पुनर्जागरण अभियान सञ्चालन सुरु गरियो । स्थानीय टोलबस्ती ८२ घरधुरीको सहभागितामा कोप्चे क्षेत्रलाई चिनाउन र पुनर्जागरण गर्नका लागि एकै कलरका घर रंग्याउने निर्णय गरे । तर, अब कुन कलर प्रयोग गर्ने भन्ने लामो छलफलपछि धनकुटा सुन्तला उत्पादनको नामले चर्चित रहेकाले ओरेन्ज कलर छनोट गरिएको स्थानीय अभियन्ता कोमल राईले बताए । उनले भने, ‘धनकुटा त्यसै पनि सुन्तला उत्पादनको नामले परिचित छ । कोप्चे क्षेत्रमा पनि पहिले सुन्तला प्रशस्त उत्पादन हुने गरेको र अहिले जलवायु परिवर्तनका कारण फल्न छाडेको छ । त्यसकारण, सुन्तला कलर छनोट गरिएको हो ।’

स्थानीय टोलबस्तीले ओरेन्ज कलर त छनोट गरे । तर, अब सबै घरमा एकै कलर कसरी लगाउने र सो कलर कसरी उपलब्ध गराउने भन्ने विषय उनीहरूलाई ठुलो चुनौती बन्यो । फलस्वरूप पशुपति पेन्टस्सँग समन्वय गरेर छुट मूल्यमा कलर उपलब्ध हुँदै आएको भए पनि सबै घरमा एकै कलर लगाउन चुनौती भएको स्थानीय अभियन्ता एवं धनकुटा नगरपालिका– ५ नम्बर वडाका वडासदस्य गोविन्द राई बताउँछन् ।

अहिले आएर कोप्चे क्षेत्रलाई ओरेन्ज सिटीका रूपमा चिनिन थालिएको छ । ओरेन्ज सिटी भएसँगै धनकुटाको कोप्चे क्षेत्र पर्यटकको गन्तव्य बन्दै गएको छ । स्थानीय युवाहरूको सक्रियतामा कोप्चे पुर्नजागरण अभियान सञ्चालन भएपछि अहिले कोप्चे क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटकको आवतजावत बढेको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्ज्वल कर्माचार्य बताउँछन् । पर्यटकको गन्तव्य बनेसँगै त्यस क्षेत्रमा होमस्टेदेखि महँगो सेवासम्मको होटेल सञ्चालनमा रहेका छन् ।

ओरेन्ज सिटीमा ६ वटा घरले होमस्टे सञ्चालनमा ल्याएका छन् । होमस्टेमा मात्रै करिब १५० जनासम्मलाई बस्ने व्यवस्था छ । ओरेन्ज सिटीमा स्थानीय उत्पादनको नेवारी, आठपहरियाको स्पेसल खानाको परिकार पाइन्छ । त्यहाँ आउने पर्यटकले कोशी प्रदेश संग्रहालय, आठपहरिया जातिको संग्रहालय, राणाकालीन समयदेखि लाग्दै आएको बिहीबारे हटिया, सय वर्षभन्दा अगाडि बनेका घर, मार्गाथान, देवशमशेरको पालामा बनेको जोर धरहरालगायतको अवलोकन गर्न सकिने कोप्चे पुनर्जागरणका सचिव कर्माचार्य बताउँछन् ।

ओरेन्ज सिटी घोषणा भएपछि अहिले कोप्चे क्षेत्रमा धरान, विराटनगर, झापा, सुनसरी हुँदै भारतका विभिन्न क्षेत्रबाट दैनिक पर्यटक आउने गरेका छन् । ओरेन्ज सिटीको सिनमा ब्लग बनाउने, फेसबुक रिलहरू बनाउनेको भिड लाग्न थालेको छ ।

दिगो विकास काठमाडौं, सल्भ नेपाल धनकुटालगायत विभिन्न संघसंस्थाको साथ सहयोगबाट ओरेन्ज सिटी अन्तर्राष्ट्रियस्तरमा समेत चिनिन सफल भइसकेको छ । पर्यटकको गन्तव्य बन्न सफल कोप्चे क्षेत्रमा व्यापारिक चहलपहल पनि बढ्दै गएको छ । पछिल्लो समय पूर्ण रूपमा बन्द रहेका व्यापारिक प्रयोजनमा बनेका घरका ढोका अहिले आएर करिब ९० प्रतिशत खुल्न सफल भएको पुनर्जागरण अभियानका सचिव कर्माचार्य बताउँछन् । ८२ घरधुरी सहभागी भएर सुरु गरिएको ओरेन्ज सिटी अभियानमा अहिले १४२ घरधुरी आबद्ध भइसकेका छन् ।