
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३७ भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । गत आर्थिक वर्ष ०८१/८२ मा अख्तियारले भ्रष्टाचारसम्बन्धी विभिन्न कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । वार्षिक समीक्षा प्रतिवेदनअनुसार एक वर्षको अवधिमा गत असारसम्ममा अख्तियारले २५१ मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको छ । विशेषबाट फैसला भएका मुद्दामा चित्त नबुझेको अवस्थामा अख्तियारले सर्वोच्चमा पुनरावेदन जान्छ ।
गत ८ र ९ गते अख्तियारले गत आवका आफ्ना क्रियाकलापबारे वार्षिक समीक्षा गरेको थियो । समीक्षा प्रतिवेदनअनुसार गत आवमा विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका समेत ३७ हजार २६ उजुरी कायम भएका थिए । २८ हजार ५९७ उजुरी विभिन्न माध्यमबाट प्राप्त भएका र आठ हजार ४२९ उजुरी अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका थिए । आयोगले आफ्नो वेबसाइट, लिखित निवेदन, इमेल, हुलाक, टेलिफोन, सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारबाट उजुरी ग्रहण गर्छ ।
अख्तियारको समीक्षा प्रतिवेदनअनुसार गत आवमा कायम भएका उजुरीमा धेरै स्थानीय तहसँग सम्बन्धित छन् । स्थानीय तहअन्तर्गत १९ हजार ९३३ अर्थात् ५३.८४ प्रतिशत, संघीय सरकारअन्तर्गत १२ हजार ४७५ प्रदेश अर्थात् ३३.६९ प्रतिशत र चार हजार ६१८ अर्थात् १२.४७ प्रतिशत प्रदेशसँग सम्बन्धित उजुरी छन् ।
गत आवमा छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ उजुरी अख्तियारले फर्स्यौट गरेको छ । यो कुल उजुरी संख्याका आधामा ८०.२२ प्रतिशत हो । बाँकी रहेका सात हजार ३२३ उजुरीको जिम्मेवारी चालू आवमा सरेको छ । गत आवमा प्राप्त भएका उजुरीमध्ये ६ हजार ७१५ उजुरीमा कारबाहीका लागि विभिन्न निकायमा लेखेर पठाइएको छ भने ५८६ उजुरी सुझावसहित कार्यान्वयनका लागि पठाइएको अख्तियारले जनाएको छ ।
गत आवमा अख्तियारले १३७ मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती मुद्दामा कुल ७५३ जनालाई प्रतिवादी कायम गरिएको थियो । प्रतिवादीबाट पाँच अर्ब ९७ करोड ७३ लाख आठ हजार ८३८ रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको छ । अख्तियारले मुद्दा दायर गरेकामा ३७ उजुरी घुस/रिसवतसँग, ३६ गैरकानुनी लाभहानि, २७ मुद्दा नक्कली प्रमाणपत्रसम्बन्धीका छन् ।