
पनौती नगरपालिका-३, बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहान १०:१० बजेतिर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक पनौती न.पा.-५ बस्ने विजय थापाकी श्रीमती वर्ष ३२ की सुजना खत्रीको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान १०:४० बजे निधन भएको अस्पतालले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक विजय थापा (वर्ष ३२) को देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने उनका ५ वर्षीय छोरा बिएन्स थापाको निधारमाथि टाउकोमा चोट लागेको छ । दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी कुशादेवीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।