मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
जिन–निकोलस बर्देलिउ
२o८२ श्रावण ११ आइतबार ११:२५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

षड्यन्त्रका सिद्धान्त पत्याउने युवा पुस्ता

Read Time : > 2 मिनेट
जिन–निकोलस बर्देलिउ
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार ११:२५:oo
  • ३५ वर्षभन्दा कम उमेरका युवाले निरन्तर रूपमा षड्यन्त्रका सिद्धान्तलाई बढी विश्वास र ग्रहण गर्ने गर्छन्

आजको अत्यधिक अन्तरघुलन र ध्रुवीकरण भएको विश्वमा षड्यन्त्रका सिद्धान्त व्यापक रूपमा फैलिरहेका छन् । सन् २०१६ को ब्रेक्जिट, सन् २०२० यताका अमेरिकी राष्ट्रपति चुनाव र कोभिड महामारीले यस्ता सिद्धान्त कसरी सजिलै सार्वजनिक विमर्शमा प्रवेश गर्न सक्छन् भन्ने देखाएका छन् । यस्ता सिद्धान्तमाथिको विश्वासले लोकतान्त्रिक मान्यतालाई कमजोर पार्न र नागरिक संस्थामा विश्वास घटाउन सक्छन् । ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटोलमा भएको आक्रमणले षड्यन्त्र सिद्धान्तले राजनीतिक हिंसालाई समेत प्रेरित गर्न सक्ने देखायो ।

ओटावा विश्वविद्यालयका ड्यानियल स्टकमेरसँग मैले गरेको एक अध्ययनले स्पष्ट र सम्भवत: अचम्मलाग्दो उत्तर दिएको छ । पोलिटिकल साइकोलोजी जर्नलमा प्रकाशित अनुसन्धानअनुसार उमेर षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने एक प्रमुख कारण हो, तर अपेक्षा गरिएजस्तो भने होइन । ३५ वर्षभन्दा कम उमेरका युवाले षड्यन्त्रका सिद्धान्तलाई बढी विश्वास र ग्रहण गर्छन् । हामीले सबैभन्दा पहिले एक मेटा विश्लेषण (अध्ययनहरूको अध्ययन) गर्‍यौँ, जसमा सन् २०१४–२०२४ बिच प्रकाशित एक सय ९१ पियर रिभ्युड (गोप्य समीक्षकको समीक्षापछि) प्रकाशित अनुसन्धान लेख समेटिएका थिए । तीन लाख ७४ हजारभन्दा बढी सहभागी समावेश यो विशाल तथ्यांकले कम उमेर र षड्यन्त्रका सिद्धान्तको विश्वासबिचको सम्बन्धलाई बलियो देखाएको छ ।

यसलाई पुष्टि गर्न हामीले आफैँले ६ विभिन्न देश, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, जर्मनी, अमेरिका र दक्षिण अफ्रिकाका ६ हजारभन्दा बढी व्यक्तिलाई समेटेर एउटा मौलिक बहुराष्ट्रिय सर्वेक्षण सञ्चालन गर्‍यौँ । नतिजा यी सबै मुलुकमा समान देखियो । वास्तवमा उमेर षड्यन्त्रका सिद्धान्तप्रतिको विश्वासको सबैभन्दा शक्तिशाली पूर्वानुमान कारक सावित भयो, अर्थात् हामीले परीक्षण गरेका लैंगिकता, आम्दानी, शिक्षास्तरलगायत जनसांख्यिकीय कारकभन्दा पनि बढी प्रभावशाली देखिए ।

युवा पुस्तामा षड्यन्त्र सिद्धान्त बढी प्रचलित रहेको प्रमाणित गरेपछि यसको कारण पत्ता लगाउन हामीले विभिन्न सम्भावित कारणको परीक्षण गर्‍यौँ । हाम्रो अनुसन्धानले तीन प्रमुख कारण पत्ता लगाएको छ, जसका कारण युवा षड्यन्त्रका सिद्धान्तप्रति बढी संवेदनशील हुने गरेका देखिन्छन् :

१. राजनीतिक विरक्ति : हामीले पहिचान गरेका सबैभन्दा प्रभावशाली कारणमध्ये युवामा देखिने गहिरो राजनीतिक असन्तुष्टि एक कारण हो । धेरैजसो युवाले आफूभन्दा दुई वा तीन पुस्ता जेठो नेताले चलाउने राजनीतिक प्रणालीबाट विरक्ति महसुस गर्छन् । राजनीतिक प्रतिनिधित्वको अभावले असन्तुष्टि जन्माउँछ र यसले उनीहरूलाई लोकतन्त्रले आफ्ना लागि काम गरिरहेको छैन भन्ने अनुभूति गराउँछ । यस्तो सन्दर्भमा षड्यन्त्र सिद्धान्तले यो दूरी र असन्तुष्टिलाई व्याख्या गर्न सजिलो बनाउँछ र प्रणाली केवल असफल मात्र नभई त्यसमाथि गोप्य दुष्ट शक्तिले नियन्त्रण गरिरहेको छ भन्ने सजिलो उत्तर पनि दिन्छ ।

२. युवा सक्रियता र षड्यन्त्रका सिद्धान्तको उर्वर भूमि : युवाले राजनीतिमा सहभागी हुने तौरतरिका अर्को महत्वपूर्ण कारक बन्न पुग्छ । मतदानजस्ता परम्परागत अभ्यासमा उनीहरू सायद कम सक्रिय देखिए पनि, विरोध प्रदर्शन, बहिष्कार र अनलाइन अभियानजस्ता परम्पराबाहिरका गतिविधिमा उनीहरू सक्रिय हुन्छन् । यस्ता क्रियाशील वातावरण विशेषत: अनलाइन षड्यन्त्रका सिद्धान्त अंकुरण हुने उर्वर भूमि बन्न सक्छन् । यी अभियान प्राय: ‘हामीविरुद्ध उनीहरू’ भन्ने भावनामा आधारित हुन्छन्, जहाँ एक ‘सुधारवादी’ समूह भ्रष्ट सत्ता संरचनासँग संघर्षरत हुन्छ ।

३. गिर्दो आत्मसम्मान : अन्त्यमा हाम्रो अनुसन्धानले आत्मसम्मानसँगको महत्वपूर्ण मनोवैज्ञानिक सम्बन्ध पुष्टि गरेको छ । जसको आत्ममूल्यको भावना कम हुन्छ, उनीहरूका लागि षड्यन्त्रका सिद्धान्तमा विश्वास गर्नु आफ्ना समस्याको दोष बाह्य र अदृश्य शक्तिमाथि थोपरेर हीनताबोधसँग जुझ्ने एक उपाय बन्न सक्छ । यी तीन कारण विशेषत: युवाका लागि सान्दर्भिक छ ।

यसको मूल कारण बुझ्नु आवश्यक छ, किनभने यसले केवल झुटा दाबी खण्डन गर्नु मात्र पर्याप्त समाधान होइन भन्ने देखाउँछ । षड्यन्त्रका सिद्धान्तको वृद्धि र त्यसका दुष्परिणाम रोक्न हामीले ती आधारभूत कारणमाथि काम गर्नुपर्छ, जसले यस्ता सिद्धान्तलाई सुरुमै आकर्षक बनाउँछन् । राजनीतिक विरक्तता एक प्रमुख कारण भएकाले लोकतन्त्रलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउनु नै महत्वपूर्ण कदम हो । यसकी उत्कृष्ट उदाहरण हुन्, हालै निर्वाचित लेबर पार्टीकी सिनेटर सार्लट वाकर, जो केवल २१ वर्षकी छिन् । यदि युवालाई राजनीतिक संस्थामा सक्रिय रूपमा सहभागी गराउन सकियो भने प्रणालीले आफ्ना लागि काम गर्छ भन्ने विश्वास बढ्छ, जसले प्रणाली पूर्ण रूपमा भ्रष्ट छ भन्ने षड्यन्त्रको सिद्धान्तको आकर्षण कम गर्छ ।

र, थप समावेशी लोकतन्त्रको अर्थ युवाको राजनीतिक अभियानकर्मलाई निरुत्साहित गर्नु होइन । बरु, आजको जटिल सूचना वातावरणमा युवालाई सजग रूपमा अघि बढ्न आवश्यक संयन्त्र दिनु हो । बलियो मिडिया र डिजिटल साक्षरताको शिक्षाले विशेषत: अनलाइन क्षेत्रमा प्राप्त सूचनालाई समालोचनात्मक ढंगले मूल्यांकन गर्न सहयोग पुर्‍याउँछ ।

आत्मसम्मानसँगको सम्बन्धले पनि सामाजिक जिम्मेवारीकै संकेत गर्छ । यदि युवाको मानसिक स्वास्थ्य र समग्र हितमा लगानी गर्न सकियो भने तिनको आत्मबल र मनोवैज्ञानिक सहनशीलता बढ्न सक्छ, जसले उनीहरूलाई षड्यन्त्र सिद्धान्तका सरल दोषारोपणमा विश्वास गर्नबाट जोगाउँछ । अन्तत: मिथ्या सूचनाविरुद्ध प्रतिरोधी समाज बनाउनु कुनै पुस्ता विशेषलाई दोष दिनुभन्दा पनि यस्ता बलियो र समावेशी लोकतन्त्र बनाउनु हो, जहाँ सबै नागरिक विशेषत: युवाले प्रतिनिधित्व, सशक्तीकरण र सुरक्षाको अनुभूति गरून् ।

(बोर्देलिउ फ्लिन्डर्स विश्वविद्यालयका रिसर्च फेलो हुन्) 
द कन्भर्सेसनबाट