मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १० शनिबार o६:११:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्याको विद्रोह : ओलीको निर्णय अस्वीकार, राजनीतिक लडाइँको उद्घोष

पार्टी सदस्यता नवीकरण नगर्ने ‘हुलहुज्जत र आवेगको निर्णय’ मान्य नहुने भन्दै विद्याले गरिन् राजनीतिक लडाइँमा साथ दिन पार्टीपंक्तिलाई आह्वान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार o६:११:oo

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई राजनीतिक रूपमा निष्क्रिय गराउने एमाले नेतृत्वको प्रयास संविधान, ऐन–कानुन र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको दाबी गर्दै त्यसको प्रतिरोध गर्ने योजना सुनाएकी छिन् । पार्टी सदस्यता खारेज गर्ने एमाले केन्द्रीय कमिटीको कदमलाई उनले आवेग र उत्तेजनामा गरिएको अपरिपक्व निर्णय भन्दै आफ्नो सक्रिय राजनीतिलाई कसैले रोक्न नसक्ने चुनौती दिइन् ।

एमाले पूर्वउपाध्यक्षको हैसियतमा शुक्रबार विशेष पत्रकार सम्मेलनमा देखापरेकी विद्या शालीन, तर चुनौतीपूर्ण शैलीमा प्रस्तुत भइन् । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीबाट राजनीति प्रवेशमै निषेधको निर्णय गराएपछि पूर्वराष्ट्रपति विद्याले उनीसँग निर्णायक अन्तर्संघर्ष गरेरै ‘अवैध र अपरिपक्व’ निर्णय सच्याउने सन्देश दिएकी छिन् । आफ्नो राजनीतिक लडाइँमा साथ दिन उनले पार्टीपंक्तिलाई पनि आह्वान गरेकी छिन् ।

पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटी बैठकको मंगलबारको निर्णयको प्रतिक्रियामा पहिलोपटक शुक्रबार पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति विद्याले निर्णयप्रति गहिरो असन्तुष्टि राख्दै यस्तो निर्णय वैध र परिपक्व मान्नै नसकिने चेतावनी दिइन् ।

‘नेपालको संविधान, ऐन–कानुन र पार्टीको लोकतान्त्रिक मूल्य–मान्यतासमेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दु:खी तुल्याएको छ । यसप्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ,’ उनले भनिन्, ‘आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन । विषद् छलफल गरीकन विवेकसम्मत ढंगले निर्णय लिनुपर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।’

निकटस्थहरूसँगको परामर्श र आन्तरिक तयारीपछि आगामी कदमबारेसमेत धारणा सार्वजनिक गर्दै विद्याले पार्टी सदस्यता नवीकरण नगर्ने हुलहुज्जत र आवेगको निर्णय मान्य नहुने बताइन् । उनले ओलीको नाम त लिइनन्, तर उनको ‘स्वेच्छचारी’ निर्णयमाथि भने प्रश्न उठाइन । ‘राष्ट्रपतिको कार्यकाल सफलतापूर्वक पूरा गरिसकेपछि बाँकी जीवन पार्टीमै व्यतीत गरेर देश र जनताको हितमा भूमिका खेल्ने सोच राखेर विधिपूर्वक नै मातृ पार्टी एमालेको सदस्यता नवीकरण गरेकी हुँ । तर, त्यसलाई केही मुठीभर व्यक्तिहरूले हुलहुज्जतका भरमा र उत्तेजनामा आएर नवीकरण रोक्न मिल्दैन,’ भण्डारीले चेतावनीयुक्त शैलीमा भनिन्, ‘पार्टीका आफ्नै प्रक्रिया हुन्छन् । पार्टी त प्रणालीमा चल्छ । कसलाई कति वेला के मन लाग्छ, त्यतिवेलै त्यही गर्नु राम्रो विषय होइन ।’

उनले आफूले ४५ वर्षअघि तत्कालीन जननेता मदन भण्डारीबाट शपथ खाएर पार्टी कामकै सिलसिलामा विराटनगरमा लिएको पार्टी सदस्यता कसैले समाप्त पार्न नसक्ने पनि बताइन् । ‘४५ वर्षअघि जननेता मदन भण्डारीले विराटनगरमा सदस्यता दिएर मलाई शपथ खुवाउनुभएको हो र त्यतिवेला उहाँ कोशी र सगरमाथा अञ्चल इन्चार्ज हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छजस्तो लाग्दैन ।’

आफूले पार्टी निर्णय मानेर राष्ट्रपतिको जिम्मेवारीमा गएको र फर्किएर विधिपूर्वक एमालेको परिवारमा पुन: जोडिएको भन्दै उनले पार्टी सदस्यता परित्याग गरेकाले राष्ट्रपतिजस्तो एकताको प्रतीक भइसकेको व्यक्तिले पुन: नवीकरण गर्न नमिल्ने निर्णयको आफ्नै शैलीमा प्रतिवाद पनि गरिन् । ‘पार्टीको निर्णय मानेर मैले राष्ट्रपतिमा शपथ खाएकी हुँ । पार्टी नै छोडेर, परित्याग गरेर त्यहाँ गएको होइन, पार्टीको निर्णयअनुसार जिम्मेवारी पूरा गर्न गएका कारण फर्किएपछि पार्टीको विधिमै रहेर दुई वर्षअघि नवीकरण गरेकी हुँ । अहिले नेकपा एमालेकै परिवारमा आबद्ध छु,’ पूर्वउपाध्यक्षका रूपमा प्रेस विज्ञप्ति सार्वजनिक गरेकी उनले भनिन्, ‘जननेता मदन भण्डारीले समृद्ध नेपाल : सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवादको जुन कार्यक्रम ल्याउनुभएको छ, त्यसको आदर्श र मर्मलाई हामीले कार्यान्वयन गर्नुपर्छ । कतिपय पार्टीका आन्तरिक मामिला हुन्छन्, पार्टीले छलफल गर्ला ।’

विद्याले आफू पार्टीको सिद्धान्त र मूल्य–मान्यताअनुसार शान्तपूर्वक कुरा राखिरहेकोतर्फ ध्यानाकर्षण गराएर आफू अडानमा अविचलित रूपमा प्रस्तुत हुने भन्दै पार्टी निर्माणमा सक्रिय बन्न एमाले पंक्तिलाई अपिल पनि गरिन् । ‘यो पार्टी बनाउन मलगायत हजारौँ नेता–कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु । यस आधारमा जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पंक्तिमा आग्रह गर्दछु । मेरो यो आग्रह र संकल्प अन्तरात्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुनेछैन । त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनसमेत हार्दिक आह्वान गर्दछु,’ उनले भनिन् ।

एमाले अध्यक्ष ओलीसँग पार्टी कार्यालय च्यासलमा सदस्यता नवीकरणबारे सौहार्दपूर्ण कुराकानी भएको स्मरण गर्दै उनले विवादमा पार्नुपर्ने विषय नै नभएको प्रस्ट्याइन् । ‘मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेराबिचमा सौहार्दपूर्ण वातावरणमा छलफलसमेत भएको थियो । त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक–पटक कुरा हुँदै आएको थियो,’ उनले विज्ञप्तिमा भनेकी छिन्, ‘मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढंगले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ । यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ । वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन ।’

आफूमा कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आसक्ति नभएको भन्दै उनले देश र जनताको सेवामा लाग्ने उद्देश्यले मात्र राष्ट्रपतिबाट अवकाशपछि राजनीतिमा फर्किएको बताइन् । ‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ’, उनले भनिन्, ‘कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आसक्ति ममा छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु । मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो । अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’