
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्। २५ वर्षदेखि बेलायतमा बस्दै आएका पुडासैनीले यही जुलाई २६ मा हुने निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन्।
बेलायतमा रहेका नेपालीको सामाजिक, शैक्षिक र श्रमिक हितका मुद्दामा क्रियाशील उनले नेपालमा रहँदा काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति भएर काम गरेका थिए।
बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए तथा बिएस्सी (अनर्स) गरेका पुडासैनी १५ वर्षदेखि बेलायतको एनएचएस (नेसनल हेल्थ सर्भिस)मा कार्यरत छन्। बेलायतमा उनी ट्रेड युनियन आन्दोलनमा अग्रपंक्तिमा छन्। हाल जिएमबी नेसनल युनियन लन्डन सेन्टर नर्थका सचिव रहेका पुडासैनीले यति नेपाली एसोसिएसन युकेका पूर्वमहासचिव र प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षसमेत रहेर काम गरिसकेका छन्। एनआरएनए अन्तर्राष्ट्रिय समिति सदस्यको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै पुडासैनीले नेपाली नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपाली सम्पत्तिको सुरक्षा, गोर्खा सैनिकको समानता, नयाँ पुस्ताको सहभागिता, नेपाली कला–संस्कृतिको प्रवर्द्धन, विद्यार्थी तथा श्रमिक अधिकारको संरक्षणलगायतका एजेन्डालाई प्राथमिकता दिने बताए। ‘एनआरएन अभियानलाई एकतामा बाँध्न सके, जटिल लाग्ने मुद्दासमेत समाधान गर्न सकिन्छ,’ उनले भने।