मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
२o८२ असार ३० सोमबार २१:४२:oo
Read Time : > 1 मिनेट
समाचार

मुगु अस्पतालमा सुरु भयो थाइराइड जाँच र उपचार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार २१:४२:oo

जिल्ला अस्पताल मुगुमा थाइराइडको जाँच तथा उपचार सुरु भएकाे छ । अस्पतालले आइतबारदेखि थाइराइड जाँच तथा उपचार सुरु गरेकाे हाे । 

विशेष गरी गर्भवती महिलालाई थाइराइडसम्बन्धी परीक्षण अत्यावश्यक भएकोले उक्त सेवा सुरु गरिएको जिल्ला अस्पताल मुगुका प्रमुख बालरोग विषेशज्ञ डाक्टर निर्मल नगरकोटीले जनाए ।

गर्भवतीमा थाइराइड नर्मल नभए शिशुको मस्तिष्क वृद्धि विकास कम हुनुका साथै अन्य शारीरिक वृद्धि विकासमा समस्या देखिने उनको भनाइ छ । बच्चा कम उच्चाइको हुने समस्यासमेत देखिने उनकाे भनाइ छ । 

पछिल्लो समय गर्भवती मात्रै नभई वृद्धवृद्धा, युवायुवती, बालबालिका सबैमा थाइराइड जाँच अनिवार्यजस्तै भइसकेको डाक्टर नगरकोटीको भनाइ छ। उनका अनुसार थाइराइडमा टी३, टी४ र टिएसएच टिएफटी जाँच गरिन्छ। थाइराइड हुँदा थकाइ धेरै लाग्ने, तौल बढ्ने, चिसो धेरै लाग्ने, निन्द्रा बढी लाग्ने, नलाग्ने, छालामा समस्या हुने, धेरै कमजोरी महसुस हुने, अल्छी लाग्नेलगायत समस्या देखिन्छन्। 

मुगु अस्पतालमा भिटामिन डी थ्रीको जाँच पनि सुरु भएको छ । मधुमेह रोगको तीन महिनाको अवस्था के छ भनेर जाँच पनि  पनि सुरु गरिएको छ ।

गर्भवतीको लागि सिटिजी जाँच पनि सुरु
आइतबारदेखि नै अस्पतालले गर्भवतीको पेटभित्रको बच्चाको अवस्था हेर्ने सिटिजी मेसिनसमेत जडान गरेको छ। गर्भवतीको पेटभित्रको बच्चाको वृद्धि विकास कस्तो छ, अपरेसन गर्नुपर्ने अवस्था छ कि, सामान्यलगायत यस परीक्षणबाट पत्ता लगाउन सकिने अस्पतालका प्रमुख  डाक्टर निर्मल नगरकोटीले बताए ।

चिकित्सकका अनुसार गर्भवती भएदेखि सुत्केरी हुँदासम्म अवस्था हेरेर २ पटकसम्म यो जाँच गर्न सकिन्छ। विशेष गरेर ३७ हप्तामा एकपटक र थप अवस्था हेरेर अर्कोपटक गर्भवतीको अन्तिम साता पेटभित्रको बच्चाको जाँच गरिन्छ।

डाक्टर नगरकोटी आफैँमा बालरोग विशेषज्ञसमेत हुन् । हाल जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ एकजना, एमडिजिपी १, ड्यान्टल सर्जन १, चारजना स्थायी  र २ अस्थायी गरी ६ जना मेडिकल अफिसर (एमबिबिएस) डाक्टर कार्यरत छ्न्।