
सुनसरीको हरिनगरा गाउँपालिका– ६, घुस्कीमा भिनाजुले गोली प्रहार गरी सालीको हत्या गरेका छन् । आफ्नै भिनाजुले सालीमाथि गोली प्रहार गर्दा १८ वर्षीया अर्सी खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार बिहान करिब २ बजे भारतको अररिया जिल्ला घर भएका करिब २८ वर्षीय भिनाजु आजाज मियाँले सालीको टाउकोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार २ बजे घटना भए पनि करिब पौने तीन बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
गोली प्रहार गरेपछि मियाँ फरार छन् । उनलाई पक्राउ गर्नका लागि प्रहरी सक्रिय रहेको र सीमानाकामा चेकजाँचमा समेत कडाइ गरिएको तिम्सिनाले जानकारी दिए ।
मियाँ आपराधिक पृष्ठभूमिको रहेको र उनी पटकपटक भारतको विभिन्न ठाउँबाट चोरी अभियोगमा पक्राउ परिसकेको उनले जानकारी दिए । उनका अनुसार भारतीय प्रहरीसँग समेत समन्यव भइरहेको र मियाँको घर पत्ता लागिसकेको छ ।