
असार सकिन लाग्दा देशभर ५९ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । तुलनात्मक रूपमा कम वर्षा भएकाले मधेशमा थोरै रोपाइँ सकिएको छ भने सुदूरपश्चिममा रोपाइँ सकिन लागेको छ ।
कृषि मन्त्रालयका अनुसार कोशीमा ४१.३२ प्रतिशत, मधेशमा ३३.७८ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, गण्डकीमा ६६.९९ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, कर्णालीमा ८३.२९ प्रतिशत र सुदूरपश्चिममा ९३.१ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै रोपाइँ थालिने भएकाले छिट्टै सकिन लागेको हो ।
मन्त्रालयका अनुसार धान खेती हुने क्षेत्रफलमध्ये कोशीमा एक लाख १४ हजार दुई सय ११ हेक्टर र मधेशमा एक लाख २५ हजार आठ सय ८८ हेक्टरमा रोपाइँ सकिएको छ ।त्यस्तै, बागमतीमा ९१ हजार नौ सय ८३ हेक्टर, गण्डकीमा ६३ हजार ९१ हेक्टर, लुम्बिनीमा दुई लाख २३ हजार दुई सय १२ हेक्टर, कर्णालीमा ३४ हजार २५ हेक्टर र सुदूरपश्चिममा एक लाख ६३ हजार नौ सय ९३ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
यो वर्ष १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमा रोपाइँ हुने अनुमान छ । यसमध्ये आठ लाख १६ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ ।
बागमतीमा पोहोरको भन्दा धेरै
बागमतीमा ७६.३१ प्रतिशत रोपाइँँ भएको छ । गत वर्षको यही अवधिमा बागमतीमा ७०.६ प्रतिशत रोपाइँँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठका अनुसार प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यस वर्ष समयमै पानी पर्न सुरु गरेकाले विगतभन्दा राम्रो धान रोपाइँँ भइरहेको छ । निर्देशक श्रेष्ठले काठमाडौं, भक्तपुर र ललितपुरमा रोपाइँ सकिएको जानकारी दिए ।
काठमाडौंमा पाँच हजार नौ सय २४ हेक्टर, ललितपुरमा चार हजार एक सय ६३ हेक्टर र भक्तपुरमा दुई हजार ६ सय ९९ हेक्टर धान खेती हुने क्षेत्रफल रहेको र सबै ठाउँमा रोपाइँ सकिएको उनले बताए ।सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । यहाँ ४० प्रतिशत मात्रै रोपाइँँ भएको निर्देशक श्रेष्ठले जानकारी दिए । धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिए पनि आइतबारसम्म चार हजार चार सय ६४ हेक्टरमा मात्रै रोपाइँ भएको छ । त्यस्तै, मकवानपुरमा सात हजार ६७ हेक्टर जमिनमध्ये ५९.३ प्रतिशत, चितवनमा २७ हजार दुई सय ०७ हेक्टरमध्ये ८०.३ प्रतिशत र नुवाकोटमा १६ हजार चार सय ९८ हेक्टरमध्ये ९६ प्रतिशतमा रोपाइँ सकिएको छ ।
सिन्धुपाल्चोकमा आठ हजार सात सय ८२ हेक्टरमध्ये ६७.२ प्रतिशत, दोलखामा दुई हजार आठ सय १४ हेक्टरमध्ये ९२ प्रतिशत, सिन्धुलीमा ११ हजार चार सय ४५ हेक्टरमध्ये ६३.७ प्रतिशत र रामेछापमा सात हजार आठ सय ५९ हेक्टरमध्ये ८३ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी १० हजार दुई सय १० हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेको काभ्रेमा ७६.१४ प्रतिशत र रसुवामा दुई हजार सात सय १८ हेक्टरमध्ये ३७.७० प्रतिशत धान रोपाइँ भएको छ ।
आइतबार सांसदहरूले गरे खबरदारी
रामकृष्ण यादव, सांसद
तराईको अवस्था हृदयविदारक छ । पानीको हाहाकार भएर किसानले धान रोप्न पाएका छैनन् । खेत बाँझै छ । रोपाइँका लागि ठिक पारेको जमिन पनि सुकिसकेको छ । तराईमा अहिले नहर पनि छैन । रोपेको धानखेतमा पनि पानी सुकिसकेको छ ।
नागिना यादव, सांसद
मधेश प्रदेशमा अहिले ठुलो खडेरी र सुक्खा भएको अवस्था छ । किसानले खेती गर्न पाएका छैनन् । खेती गर्न किसानलाई मल र जल दुवैको आवशयकता पर्छ । दुवै कुराको अभाव छ । ६२ प्रतिशत किसान र कृषिप्रधान अर्थतन्त्र भएको देशमा यस्तो अवस्था हुनु राम्रो भएन ।