
अछाम तुर्माखाँद–३ को भैरव माविका ३० जना विद्यार्थी नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी) तालिममा सहभागी भएका छन् । तालिममा १५ छात्र र १५ छात्रा गरी ३० जना सहभागी भएका हुन्
दुर्गम गाउँ भैरवस्थानमा ७९ दिनसम्म सञ्चालन हुने यो तालिममा नेतृत्व विकास, अनुशासन, राष्ट्रियता, इमानदारिता तथा वफादारिता र विपतको समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने असल एवं अनुशासित नागरिक कसरी बन्ने भन्नेबारे प्रशिक्षण दिइने गोरख बक्स गण मंगलसेन ब्यारेकका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए ।
७९ दिन विद्यालयमै तालिम लिएपश्चात् उनीहरूलाई राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कोहलपुरद्वारा सञ्चालन गरिने जुनियर डिभिजन ५१औँ समूहको तालिममा पठाइने उनले बताए। तालिमको प्रथम प्रवचनका लागि तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानको लकान्द्रस्थित भैरव मावि पुगेका गणपति अधिकारीले यो तालिमले विद्यार्थीलाई अनुशासन, समाज र देशप्रति जिम्मेवार हुन सहयोग गर्ने बताए।
नेपाली सेनाले यसअघि पनि १८ छात्र र १८ छात्राका दरले अछाम साँफेबगरको जनकल्याण मावि, मंगलसेनको शोडषा मावि, बिनायकको विद्या मन्दिर मावि र मंगलसेनको गंगा माविका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम दिएको थियो । उनीहरू अहिले पनि सक्रिय छन् ।