१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार २१:३३:oo
Read Time : < 1 मिनेट
समाचार

चीनको सिगात्से सहरका मेयरसहितको टोली भरतपुरमा

भरतपुरको फोहर व्यवस्थापनमा सहयोग गर्न प्रमुख दाहालको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार २१:३३:oo

चितवनको भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध गाँसेको चीनको सिगात्से सहरका मेयरसहितको टोली भरतपुर आइपुगेको छ। गत वर्ष कात्तिक महिनामा भगिनी सम्बन्ध कायम भएको सिगात्से सहरका मेयर वाङ फङ हुङ नेतृत्वको टोली शनिबार भरतपुर आइपुगेको हो।

चीनको टोलीलाई भरतपुरका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायतले स्वागत गरेका थिए। 

चिनियाँ टोलीको स्वागतपछि आयोजित कार्यक्रममा प्रमुख दाहालले भरतपुरको फोहोर व्यवस्थापनमा सहयोग गर्न प्रस्ताव गरेकी थिइन्। सिगात्सेका सबै क्षेत्रमा भएको उच्च प्रविधिको प्रयोग, हरियाली सहर, समय व्यवस्थापन एवं प्रभावकारी फोहोर व्यवस्थापनको अभ्यास भरतपुर महानगरपालिकामा पनि क्रमिक रूपमा अगाडि बढाइरहेको र विशेष गरी फोहोर मैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरेको बताएकी थिइन्।

प्रमुख दाहालले धेरैभन्दा धेरै पर्यटकलाई भ्रमणका लागि पठाउन टोलीलाई आग्रह गर्दै यसका लागि आवश्यक वातावरण निर्माण गर्न तयार रहेको बताइन्। दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएपछि चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा गरेको सहयोग उल्लेखनीय र सकारात्मक रहेको बताइन्।

सिगात्सेका मेयर हुङले भरतपुरसँग थप व्यापारिक सम्बन्ध अघि बढाउन खोजेको बताउँदै उत्पादन भएका ग्रिन फार्मिङलाई सिगात्सेले आयात गर्न खोजेको प्रस्ट्याए। भरतपुर प्राकृतिक, सांस्कृतिकसँगै अन्य कुरामा अति नै सुन्दर रहेकाले चीनबाट घुम्नका लागि पर्यटकलाई निमन्त्रणा दिने बताए। दुई पालिकाबिच गारिएको सम्बन्धलाई मजबुद बनाउनका लागि सहकार्यलाई थप उचाइ दिने उनले बताएका थिए।