
रुपन्देहीको शान्ति नमुना माविका १८ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । एसइईमा सहभागी विद्यार्थीमध्ये २०७ जनाले ३.६ देखि ३.९९ सम्म जिपिए ल्याएको प्राचार्य कुलप्रसाद लामिछानेले बताए । शान्तिमा ५६ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । देशकै ठुलो सामुदायिक विद्यालय कालिका मानव ज्ञानका सात विद्यार्थीले ४ जिपिए प्राप्त गरेको प्राचार्य दिनेश थापाले बताए । यहाँ ७४ सयजनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । विद्यालय कान्ति मावि बुटवलबाट एकजनाले ४ जिपिए प्राप्त गरेका छन् । कान्तिमा ५३ सयभन्दा पनि धेरै विद्यार्थी अध्ययनरत छन् ।
मुलुककै सातौँ स्थानमा रहेको बुटवलको नवीन औद्योगिक कदरबहादुर रिता माविबाट पनि एकजना विद्यार्थीले ४ जिपिए ल्याएको प्राचार्य प्रेमबहादुर बस्नेतले बताए । यहाँ ४४ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
रुपन्देहीमा ८७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्दा सामुदायिकका मात्रै ३९ जना छन् । यहाँका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । बुटवलको नयाँगाउँ माविका तीन विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सैनामैना सेकेन्डरी स्कुलका चार, श्रीनवरत्न सेकेन्डरी स्कुलका दुई, सिद्धेश्वर लालकुमारी मावि बुटवलका एक, जनकल्याण सेकेन्डरी स्कुल सैनामैनाका एक र रामापुर माविका एकजना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख उपसचिव माधव बन्जाडेले जिल्लामा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ८७ रहेको बताए । उनका अनुसार सबैभन्दा धेरै बुटवलका ४७, तिलोत्तमाका २०, सैनामैनाका १०, सियारीका तीन, सिद्धार्थनगरका तीन, देवदह र शुद्धोधनका दुई–दुईजना र कञ्चनका एकजना विद्यार्थी छन् ।