१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका म्याग्दी
२o८२ असार ९ सोमबार १३:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १३:२९:oo

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने बताए । अबको १५ दिनमा परीक्षण सकिने उनले बताए । 

रघुगंगा गाउँपालिका- ८, बन्दीमा बाँध र नजिकै ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा- ७ चिमखोलाको बगरस्थित विद्युत्‌गृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए । 

विद्युत्‌गृहबाट सुरुङको आउटलेटको उचाइ १६० मिटर छ । २०७७ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो । 

माछापुच्छ्रे र बिएमइडब्लू नेपाल हाइड्रोमेकानिकल तथा एभरेस्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युत्‌गृहबाट रघुगंगा गाउँपालिका- ३, तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्‌गृह रिसरमा निर्माण भएको स्विचयार्डसम्म १४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भएको छ ।

प्रसारणलाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी क्षमताको दाना-कुश्मा प्रसारणलाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला-मंगले-राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ रहेको छ । 

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला-मंगले-राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१.३ मेगावाटको ठुलोखोला र २२.३ मेगावाटको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।