
जापान सरकारले उपलब्ध गराएको तालिमका लागि उम्मेदवार छनोटमा सिफारिस क्रम मिचिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को नेपाल कार्यालयले तालिमका लागि नेपाली इन्जिनियर छनोटमा यस्तो पाइएको हो । खानेपानी मन्त्रालयले सिफारिस गरेको प्रमुख प्रतिनिधिलाई हटाएर जाइका नेपालले वैकल्पिकलाई समावेश गरेको भेटिएको छ । ती प्रतिनिधि अहिले जापान गइसकेका छन् ।
गत १७ अप्रिल अर्थात् ४ वैशाखमा जाइका नेपालले खानेपानी मन्त्रालयलाई तालिममा प्रतिनिधि पठाउनेबारे पत्र पठाएको थियो । नेपाल खानेपानी संस्थानलाई सबलीकरण गर्न जारी प्राविधिक सहयोग आयोजनाअन्तर्गत ‘पानी आपूर्ति प्रणालीमा बृहत् इन्जिनियरिङ’ शीर्षकमा समकक्षी आयोजना तालिमका लागि जाइका नेपालले मन्त्रालयलाई आह्वान गरेको थियो । आयोजना गर्न लागिएको प्रयोगात्मक तालिमका लागि प्राविधिक सहयोग आयोजनामा काम गरिरहेका इन्जिनियरलाई विशेष लक्षित गरिएको जानकारीपत्रमा जाइका नेपालले उल्लेख गरेको छ । तालिम १७ जुनदेखि ९ अगस्ट (३ असारदेखि २४ साउनसम्म) जापानमा सञ्चालन हुने तय भएको थियो ।
आयोजनाअन्तर्गत प्रत्यक्ष रूपमा काम गरिरहेका र नतिजामा योगदान गर्न सक्ने उम्मेदवार मात्र तालिममा आवेदनका लागि योग्य हुने पत्रमा भनिएको छ । जाइका नेपालले प्रमुख र वैकल्पिक उम्मेदवार किटान गरेर सिफारिस गर्न मन्त्रालयलाई भनेको थियो । तालिमको आवश्यकताका आधारमा उम्मेदवार छनोट हुने पत्रमा जाइका नेपालले उल्लेख गरेको थियो ।
जाइका नेपालको यही पत्रपछि ३० अप्रिल अर्थात् १७ वैशाखमा मन्त्रालयले जाइका नेपाललाई पत्र पठायो । मन्त्रालयले तालिममा सहभागी हुने गरी तीनजनालाई छनोट गरेर जाइका नेपाललाई पत्र पठाएको थियो । त्यसमा पहिलो नम्बरमा खानेपानी संस्थानमा कार्यरत सहायक प्रबन्धक इन्जिनियर दीपक श्रेष्ठ, दोस्रोमा सबइन्जिनियर रमेश मग्राती र तेस्रोमा अर्का सबइन्जिनियर सुरेन्द्रकुमार साह थिए । श्रेष्ठ र मग्रातीलाई प्रमुख उम्मेदवार र साहलाई वैकल्पिक उम्मेदवारका रूपमा मन्त्रालयले सिफारिस गरेको थियो । मन्त्रालयलस्तरीय निर्णयका आधारमा यो पत्र जाइका नेपाललाई पठाइएको थियो ।
तर, जाइका नेपालले पहिलो नम्बरका इन्जिनियर श्रेष्ठलाई छाडेर बाँकी दुईजनालाई तालिमका लागि छनोट गरिदियो । जाइकाले भने आफ्नो प्राथमिकताका आधारमा उम्मेदवार छनोट गरेको दाबी गरेको छ । फिल्ड अफिस वा साइटमा प्रत्यक्ष रूपमा काम गरिरहेकालाई प्राथमिकता दिइएको जाइकाको जवाफ छ । यसअघि उस्तै खालको प्राविधिक कोर्सको तालिम लिएकालाई कम प्राथमिकता दिने जाइकाले उल्लेख गरेको छ ।
सरकारले सिफारिस गरेबमोजिम उम्मेदवार छनोट नभएको भन्दै यसमा मन्त्रालयले पनि असन्तुष्टि व्यक्त गरेको छ । यसबारे मन्त्रालयले जाइका नेपालका प्रतिनिधिसँगसमेत छलफल गरेको छ । मन्त्रालयका सहसचिव रामबाबु पुरीले जाइकाको मुख्यालयबाटै निर्णय भएकाले यसबारे जवाफ दिन नसकिने बताए । ‘तालिमका लागि उम्मेदवारको मनोनयन जाइका हेडक्वार्टरबाटै हुन्छ,’ उनले भने, ‘यसमा हामीले केही भन्न सकिन्न ।’ मन्त्रालयसँगको छलफलमा जाइका नेपालले यो तालिम फिल्ड स्टाफका लागि भएको त्यसैअनुसार छनोट भएको जवाफ पाएको उनले बताए । मनोनयन भएकाहरू पनि फिल्ड स्टाफहरू नै रहेको उनको भनाइ छ । मन्त्रालयले सिफारिस गरेकालाई जाइकाले हुबहु मनोनयन नगर्न पनि सक्ने उनले बताए । ‘जाइकाको आफ्नै छनोट प्रक्रिया हुन्छ र त्यसैअनुसार विभिन्न आयामबाट परीक्षण पनि गर्छ,’ उनले भने, ‘यस्तो घटना यसअघि पनि देखिएको छ ।’