१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नासु पशुपति अधिकारी
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

श्रम मन्त्रालयका नासुसहित ६ जना सिआइबीको हिरासतमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

किर्ते कागजातका आधारमा बिमा रकम ठगीकोे प्रयास 

किर्ते कागजपत्रका आधारमा १० लाखको बिमा रकम ठगीको प्रयास आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नायब सुब्बा (कम्प्युटर अपरेटर) पशुपति अधिकारीसहित ६ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारबाट फर्किएपछि मृत्यु भएकी महिलाको बिमा रकम ठगीको प्रयास अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई सातादेखि हिरासतमा राखी लिखत किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

नासु अधिकारीसहित मोहन नेपाली, रामबहादुर नेपाली, निरकुमार मल्ल, रामबहादुर तामाङ र कान्छामान तामाङ हिरासतमा छन् । उनीहरूमध्ये कान्छामान वैदेशिक रोजगारबाट फर्किएपछि मृत्यु भएकी सोमा थिङका श्रीमान् हुन् । 

सिआइबीका एसएसपी होबिन्द बोगटीका अनुसार पक्राउ परेका ६ मध्ये नासु अधिकारीसहित चारजना दुई वर्षअघि यस्तै अपराधमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । त्यतिवेला नासु अधिकारी वैदेशिक रोजगार बोर्डकै सचिवालयमा कार्यरत थिए । उनीसहितको मिलेमतोमा वैदेशिक रोजगारमा गई मृत्यु भएकाको बिमा रकममा ठगी गरेका थिए । त्यतिवेला सरकारी वकिल कार्यालयले मुद्दा नचलाई मिलापत्र गराएपछि उनले उन्मुक्ति पाएका थिए । अहिलेको घटना भने अलि फरक प्रकृतिको छ ।

यसरी भएको थियो बिमा रकम हत्याउने प्रयास

करिब ६ वर्ष वैदेशिक रोजगारीमा युएई बसेकी सोमाको नेपाल फर्किएपछि श्रीमान्सँग विवाद भएको थियो । त्यही क्रममा उनले २५ असार ०७९ मा काभ्रेपलाञ्चोकको बनेपामा आत्महत्या गरेकी थिइन् । उनका श्रीमान् कान्छामान र निरकुमार मल्ल साथी हुन् । कान्छामानले वैदेशिक रोजगारीमा गएर मृत्यु भएकालाई सरकारले बिमाबापतको पैसा दिने कुरा निरकुमारलाई सुनाउँछन् । तर, मृत्यु भएको एक वर्षभित्र त्यसका लागि निवेदन दिइसक्नुपर्ने हुन्छ । एक वर्ष अवधि कटिसकेको थियो । 

निरकुमार र रामबहादुर पहिलेदेखि नै यस्तै धन्दा गर्दै आएका गिरोह हुँदै नासु अधिकारीसम्म पुग्छन् । त्यसपछि उनीहरू नक्कली कागजपत्र बनाएर १० लाख रुपैयाँ हात पार्ने योजनामा लाग्छन् । अधिकारीले उनीहरूलाई नक्कली कागजपत्र बनाउन सुझाउँछन् । सोहीअनुसार उनीहरूले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– १० को पत्रदेखि अध्यागमन विभागको नक्कली पत्रसमेत तयार गर्छन् । अझ अचम्म त श्रम अवधि सकिएकाले मृत्यु भइसकेका व्यक्तिको नाममा नक्कली श्रम बनाउँछन् । सोही आधारमा फेरि विदेश गएर आएको देखाउन अध्यागमन विभागले लेखेको पत्रसमेत किर्ते बनाएको एसएसपी बोगटी बताउँछन् । 

त्यसपछि १६ पुस ०८१ मा मृत्यु भएको भनेर वडाको नक्कली कागज बनाएर बोर्डमा पेस गरेका थिए । आत्महत्या गरेकामा त्यसलाई कालगतिले मृत्यु भएको भनेरसमेत गलत विवरण राखिएको थियो । आत्महत्याको पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले यसरी उनीहरूले फर्जी काम गरेका हुन् । 
पत्रहरू शंकास्पद लागेपछि वैदेशिक रोजगार बोर्डको सचिवालयले रोशी गाउँपालिका– १० लाई पत्राचार गरी त्यसबारे बुझ्दा सोमाको पहिले नै मृत्यु भएको खुल्छ । सोही आधारमा बोर्डले थप अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको हो । 

अनुसन्धानका क्रममा नासु अधिकारीले नै सबै कागजपत्र बोर्डमा पेस गरेको देखिएको एसएसपी बोगटी बताउँछन् । त्यसका लागि उनको बोर्डका केही कर्मचारीसँग पनि मिलेमतोको आशंका गरिएको छ । सोही कारण त्यससम्बन्धी निवेदन कसले दर्ता गरेको थियो भन्नेसमेत जवाफ बोर्डको सचिवालयले प्रहरीलाई दिन सकेको छैन । 

यो घटनामा संलग्न नासु अधिकारीसहित मोहन नेपाली, रामबहादुर नेपाली र रामबहादुर तामाङलाई यस्तै घटनामा ०७९ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । नासु अधिकारी गत महिनासम्म मन्त्रालयमै कार्यरत थिए । उनले बोर्डमार्फत किर्ते गरेर धेरै फर्जी काम गरेको प्रहरीको आशंका छ ।