
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व लिने आकांक्षा पालेर राजनीतिमा सक्रिय नबन्न सचेत गराएका छन् । चीन भ्रमणबाट फर्किएलगत्तै चार दिनदेखि गृहनगर कोशी प्रदेशको राजधानी विराटनगर हुँदै ओलीको गृहजिल्ला झापामा रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई ओलीले आइतबार एउटा महत्वपूर्ण राजनीतिक जमघट रहेको कार्यक्रममार्फत त्यस्तो सन्देश दिएका हुन् ।
कीर्तिपुरमा अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहित विद्यार्थी पृष्ठभूमिका प्रभावशाली नेताहरूलाई साक्षी राखेर ओलीले भण्डारीलाई सक्रिय नहुन सचेत गराउँदै नेतृत्वको आकांक्षीबाट ‘ब्याक’ हुन सन्देश मात्र दिएनन्, फेरि पनि आफैँले पार्टीको नेतृत्व लिने प्रस्ट सन्देश दिए ।
राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहे पनि पूर्वराष्ट्रपति भण्डारी पार्टीको नेतृत्व लिने प्रश्नमा प्रस्ट खुलेकी छैनन् । यद्यपि, उनले राजनीतिमा सक्रिय हुने चाहना देखाएर नेतृत्व लिने कुरा भने तत्कालीन परिस्थिति र आवश्यकतामा भर पर्ने भन्दै कूटनीतिक जवाफ दिँदै आएकी छिन् । यद्यपि, भण्डारीको पछिल्लो सक्रियतालाई भने ओलीले पार्र्टी नेतृत्व लिने गरी नै अगाडि बढेको अर्थ बुझिने गरी ‘ब्याक’ हट्दा उपयुक्त हुने सन्देश दिएका छन् ।
‘अहिले हल्ला चलेको छ, तल–तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष, को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर–बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस्,’ ओलीले भने । भण्डारीको पक्षमा खुल्दै आएका नेताहरू कर्णबहादुर थापा, गोकुल बाँस्कोटा, विनोद ढकाललगायतले ओलीनिकट नेताहरूको प्रवृत्तिलाई लक्षित गरेर सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका छन् । ओलीले महाधिवेशनको मिति घोषणा नहुँदै आफ्नो विकल्पमा भण्डारीलाई नेतृत्वमा उभ्याउने गरी सार्वजनिक अभिव्यक्ति दिने पार्टी नेता–कार्यकर्तालाई चेतावनीसमेत दिए ।
एमालेको नेतृत्व लिने कि नलिने भन्नेमा भण्डारी ‘रिजर्भ’
चार दिनदेखि कोशी प्रदेशमा रहेकी पूर्वराष्ट्रपति भण्डारीले सञ्चारकर्मीको जिज्ञासामा ‘म अहिले पनि सक्रिय राजनीतिमा छु’ भन्ने जवाफ दिएकी थिइन् । एमालेको नेतृत्व लिने कि नलिने विषयमा भने उनले उपयुक्त समय आएपछि मात्र जवाफ दिने बताएर ‘रिजर्भ’ बसेकी थिइन् । विराटनगर उत्रिएको पहिलो दिन नै त्यस्तो अभिव्यक्ति दिएकी भण्डारीलाई पूर्वमुख्यमन्त्री तथा पार्टी इन्चार्ज शेरधन राई, विनोद ढकालसहित कोशी प्रदेशका थुप्रै नेता–कार्यकर्ताले स्वागत गरेका थिए ।
त्यसलगत्तै उनले देशभरका स्थानीय तहका उपाध्यक्ष/ उपप्रमुखहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गठबन्धन गरेका दलहरूले संविधानको मर्मलाई नपछ्याउँदा सोचेअनुसार महिला जनप्रतिनिधि निर्वाचित हुन नसकेको बताएकी थिइन् । त्यसलगत्तै विराटगरको विभिन्न कार्यक्रममा सरिक हुँदै ओलीको गृहजिल्ला झापामा नेता–कार्यकर्ता भेटघाट गरेकी थिइन् । आइतबार एमाले कोशी प्रदेशको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई उनले सम्बोधन गरेकी थिइन् । चीन जानुअघि पनि गण्डकी, लुम्बिनी प्रदेशको कार्यक्रममा भण्डारी सरिक भएकी थिइन् ।
ओलीले पार्टीमा ७० वर्षे उमेरहद फेल खाइसकेको तर्क गर्दै पुनः नेतृत्वमा दोहोरिन खोजेको सन्देश पनि दिए । चिनियाँ राष्ट्रपति सी जिनपिङदेखि साइप्रसको कम्युनिस्ट पार्टी र नेपालकै कम्युनिस्ट पार्टीको इतिहासको उदाहरण दिएर उनले नेतृत्व उमेरभन्दा पनि तत्कालीन आवश्यकता र परिस्थितिसँग सम्बन्धित रहेको जिकिर गर्दै भड्काव र बहकावमा नपर्न नेता–कार्यकर्तालाई सचेत पनि गरे । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले आफू ७० वर्ष पार गरेर बुढो भएकाले विधानअनुसार पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएको बताएपछि उनलाई जवाफ दिँदै ओलीले उमेरहदको लामो व्याख्या गरेका थिए ।
‘अघि विश्वकान्तजीले, उहाँले अलि पाको पनि हुनुभो । बाइ द वे उहाँले भनिहाल्नुभो ७० वर्षे उमेरको कुरा । ७० वर्ष उमेर फेल खाइसक्यो । अहिले म ७४ मा चल्दै छु, ७० मा फर्किने भन्ने कुरा फेल खायो । त्यसकारण उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ–दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन, यी कुराहरू मुख्य हुन्,’ ओलीले थपे, ‘चीनमा महासचिव दुुईपटक, राष्ट्रपति पनि दुईपटक मात्र हुन पाइने नियम बनाइयो । तर, सी जिनपिङको नेतृत्वको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ७० पनि हुँदैन, ६५ पनि हुँदैन, उहाँहरूले ६५ वर्ष लगाउनुभएको थियो, अहिले ७२ वर्ष पुगिसक्नुभो सी जिनपिङ । अब उहाँहरूले ६५ वर्ष छोड्नु भो । साइप्रसको कम्युनिस्ट पार्टीले पनि ६५ वर्ष उमेर तोकेको थियो, छोड्नुभो । उमेरले होइन, अरू थुप्रै फ्याक्टरहरू हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै पर्दा रहेछन् । त्यसकारण मै हुन्छु भन्ने छैन ।’
ओलीले नेपालमै पनि मनमोहन अधिकारीले ७८ वर्षमा एमालेको नेतृत्व गरेको र सिपी मैनालीलाई ३१ वर्षमै नेतृत्वबाट हटाइएको भन्दै नेतृत्वको उमेरबारे पार्टीलाई विश्वास गर्न नेता–कार्यकर्तालाई सचेत गराए । ‘कुनै एउटा जडसूत्रका रूपमा कुनै चिजलाई हामीले समाउने होइन, त्यसलाई द्वन्द्वात्मक ढंगले हेर्नुपर्छ । आवश्यकता परेन भने हामीले माधव नेपाललाई ७० वर्ष पुगेर हटाएको होइन, झलनाथजीलाई पनि ७० पुगेर हटाएको होइन । बिचमै पनि हटाउनुपर्ने हुँदो रहेछ । तर, मनमोहनजीलाई हामीले ७८ वर्ष उमेर पुग्दा पनि हटाएनौँ’, ओलीले भने ।
पार्टी निर्देशनविपरीत एमालेको ब्यानरमा पूर्वराष्ट्रपति भण्डारीको तस्बिर
२९ साउन ०८० मा बसेको एमाले सचिवालय बैठकले सार्वजनिक कार्यक्रममा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीसँगै अध्यक्षको फोटो राख्ने निर्णय गरेको थियो । सोहीअनुसार महासचिव शंकर पोखरेलले अपानि जारी गरेका थिए । यसअघि पार्टी अध्यक्षबाहेक अन्य नेता जाने कार्यक्रममा ती नेताहरू, मार्क्स, लेनिनको फोटो राखिने गरिएको थियो । त्यसलाई हटाएर एकरूपता ल्याउन पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी र पार्टी अध्यक्षको तस्बिर राख्ने निर्णय भएको हो । तर, आइतबार झापामा एमालेको कोशी प्रदेश समितिले आयोजना गरेको कोशी प्रदेशस्तरीय विज्ञा प्रदर्शनी कार्यक्रमको ब्यानरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर राखिएको थियो ।
भण्डारीको सुषुप्त अभियानसँग ओली डराइसके
कृष्ण पोखरेल, राजनीतिक विश्लेषक
पूर्वराष्ट्रपति विद्या भण्डारीको सुषुप्त अभियानबाट केपी ओली डराएजस्तो देखियो । उनका पछिल्ला संलग्नता आफ्ना लागि चुनौती हुन सक्छ भन्ने महसुस गरेकैले डरलाई लुकाएर आक्रामक अभिव्यक्ति दिएको हुन सक्छ । उनको अभिव्यक्तिले एमालेभित्र साँच्चै केही न केही भइरहेको छ भन्ने देखिन्छ । एमालेमा ओलीले आफ्नो अनुकूलताकै लागि ७० वर्षे उमेरहद निलम्बन गरेका थिए, तर अब फेरि आफूलाई छेक्नका लागि त्यही विषय एजेन्डा बन्ला कि भन्ने लागेर उनले चीन र साइप्रसको उदाहरण दिएर आफ्नो अनुकूल तर्क गरेका हुन् ।’