१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २३ शुक्रबार १९:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिख समुदायबाट पहिलो सैनिक बने करन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १९:o३:oo

नेपाली सेनामा पहिलोपटक शिख समुदायको प्रतिनिधित्व भएको छ। बाँकेको जानकी गाउँपालिका– २, बनकटवाका करनसिंह शिखले नेपाली सेनामा पहिलोपटक शिख समुदायको प्रतिनिधित्व गरेका हुन्। अछाम जिल्लास्थित गोरख बक्स गण मंगलसेन ब्यारेकमा सम्पन्न दसौँ समूहको सैन्य तालिममा सहभागी करनले ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ पूरा गरेसँगै नेपाली सेनामा शिख समुदायको ‘इन्ट्री’ भएको हो।

करनको आगमनसँगै अल्पसंख्यक शिख समुदायको समेत सेनामा प्रवेश प्रारम्भ भएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए। ‘शिख समुदायको प्रवेशले हामी निकै खुसी छौँ,’ गणपति अधिकारीले भने, ‘यो सैनिक इतिहासकै दुर्लभ क्षण हो। करनप्रति हामी विशेष आभारी छौँ।’

छोरा सैनिक बनेपछि बाँकेबाट बधाई दिन अछाम आइपुगेका करनका बुबा लक्पतसिंह शिखले छोराको सफलता देखेर खुसी व्यक्त गरे। उनकी आमा जसवन्तीले त झन् छोराको मिहिनेतले सार्थकता पाएपछि खुसीका आँसु नै झारिन्। ‘म यही दिनको प्रतीक्षामा थिएँ,’ उनले भनिन्, ‘आज धेरै खुसी छु। मेरो प्रार्थना पूरा भएको छ।’

बाँकेका शिखनापुर, जमुनाह, बनकटहवा, बकौली, मनिपुर्वालगायत स्थानमा शिख समुदायको बस्ती छ। काठमाडौं, वीरगन्ज आदि स्थानमा पनि उनीहरूको बसोबास छ। यही समुदायका करनले देशको रक्षार्थ सेना बन्ने सानैदेखिको सपना पूरा भएपछि आफू अत्यन्त खुसी बनेको बताए।

करनसँगै सिपाही बनेका १०३ जनालाई अन्तिम दलेल कवाजका क्रममा गणपति अधिकारीले जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिए। उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमानदारपूर्वक बहन गर्न स्मरण गराए।

१७ वैशाख ०८० मा अछाम सदरमुकाम मंगलसेन आएको गोरख बक्स गणले दसौँ समूहको रूपमा सञ्चालन गरेको यो तालिमका क्रममा व्यावहारिक र सैद्धान्तिकलगायत विभिन्न कार्यमा उत्कृष्ट भएका नयाँ सिपाहीहरू निखिल राना मगर, अविषेक सिंह, टोपेन्द्र थापा, दीपेन्द्र सलामी मगर, प्रदीप पुन, प्रदीप बुढा र गणेश वलीलाई पुरस्कृतसमेत गरेको छ।

छुटाउनुभयो की ?