
आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपाल आइतबार स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै ३२१ रन जोड्यो । नेपाललाई आफ्नो एकदिवसीय इतिहासमा कीर्तिमानी लक्ष्य पछ्याउन अन्तिम ओभरमा ७ रन आवश्यक थियो ।
तर, दुई विकेट गुमाएर ४ रन मात्र जोड्दा नेपालले स्कटल्यान्डसँग नमिठो हारको सामना गर्यो । नेपाल र स्कटल्यान्डबिचको प्रतिस्पर्धामा अहिलेसम्मकै सर्वाधिक योगफल बन्यो । समग्रमा यो खेलमा ६४४ रन बनेको थियो । ९९.५ ओभरमा १५ विकेट पतन भयो । यसअघि स्कटल्यान्ड र नेपालबिच सन् २०२५ को २ जुनमा ५९३ रनको रेकर्ड थियो । नेपालले एकदिवसीय खेलमा सर्वाधिक योगफल बनायो ।
यसअघि सन् २०२३ मा नेपालले ओमानविरुद्ध ३१० रन जोडेको थियो । नेपालले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्यान्ड्समाथि जित निकालेको थियो । नेपालमाथिको सनसनी जितसँगै स्कटल्यान्ड २४ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । ओमानको पनि समान अंक हुँदा रनरेटका आधारमा चौथो स्थानमा झरेको छ । नेपाल १० अंकका साथ सातौँ स्थानमा छ ।
सोमपाल र दीपेन्द्रले दिलाएको आशा
नेपाल लक्ष्य पछ्याउँदा एक समय ३५.४ ओभरमा १८३/६ को स्थितिमा थियो । कठिन समयमा सोमपाल र दीपेन्द्रसिंह ऐरीले जितको आशा दिलाएका थिए । दुवैले धैर्यपूर्वक ब्याटिङ गरेका थिए । दुवैले सातौँ विकेटका लागि कीर्तिमानी साझेदारी गरे । उनीहरूले ६५ बलमा १०५ रनको साझेदारी गर्दै नेपाललाई ४६.३ ओभरमा २८८÷७ को स्थितिमा राखे । यसअघि सातौँ विकेटका लागि आरिफ शेख र गुल्सन झाले ६८ रन जोडेका थिए । क्रिजमा सेट भइसकेका दीपेन्द्रसिंहले आफ्नो विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो । उनले ५१ बलमा दुई चौकाको सहयोगमा ५६ रनको योगदान दिए ।
तीन अर्धशतक
नेपालको ब्याटिङ इनिङ्समा तीन ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेल्दा पनि जितबाट वञ्चित भयो । तेस्रो क्रमका ब्याट्सम्यान भीम सार्कीले आफ्नो एकदिवसीय करिअरमा चौथो अर्धशतकीय इनिङ्सका रूपमा ७३ रनको योगदान दिए । उनले ८५ बलमा आठ चौका प्रहार गरे । उनी इनिङ्सको ३१.६ ओभरमा आउट भए । भीम र कप्तान आरिफ शेखबिच चौथो विकेटका लागि ११० बलमा ९४ रनको साझेदारी भयो । शेखले ५५ बलमा पाँच चौका प्रहार गरी ३९ रनको योगदान दिए ।
नेपालको इनिङ्समा आक्रामक ब्याटिङ गरेका सोमपाल कामीले ४४ बलमा ६७ रनको योगदान दिए । उनले तीन चौका र चार छक्का प्रहार गरे । उनी आउट हुँदा नेपाल ४७.६ ओभरमा ३१९÷९ को अवस्थामा थियो । नेपालका ओपनर कुशल भुर्तेलले २० बलमा १७ रन बनाए ।
स्कटल्यान्डको विशाल योगफल
यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले नेपालको कमजोर बलिङको फाइदा लिँदै विशाल योगफल खडा गरेको थियो । नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । तर, नेपाली बलरले मध्य तथा डेथ ओभरमा कसिलो बलिङ गर्न नसक्दा स्कटल्यान्डले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्यो । कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको आक्रामक फिनिसिङमा स्कटल्यान्डले बलियो योगफल खडा गरेको थियो । कप्तान रिची ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए ।
माइकल लिस्क ६२ बलमा १२ चौका र तीन छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए । नेपालका लागि करणले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर दुई विकेट लिए । दीपेन्द्रसिंहले ७ ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
एकदिवसीयमा दीपेन्द्रसिंहको हजार रन पूरा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंहले एकदिवसीय खेलमा हजार रन पूरा गरेका छन् । आइसिसी विश्वकप लिग २ अन्तर्गत चौथो चरणको त्रिकोणात्मक सिरिजमा उनले स्कटल्यान्डविरुद्धको खेलमा हजार रन पूरा गरेका हुन् । लक्ष्य पछ्याएको इनिङ्सको ३०.२ ओभरमा मार्क वाटको बलमा १ रन लिँदै उनले हजार रन बनाएका हुन् । उनले ६३ एकदिवसीयमा एक शतक र तीन अर्धशतक बनाएका छन् । नेपालका लागि एकदिवसीय खेलमा हजार रन पूरा गर्ने दीपेन्द्रसिंह पाँचौँ खेलाडी हुन् । यसअघि कप्तान रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख र कुशल भुर्तेलले सो कोसेढुंगा पार गरेका थिए ।