
लुम्बिनी केबुलकार सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ । यस अवधिमा साढे तीन लाखभन्दा बढी पर्यटकले केबुलकार यात्रा गरेको कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ ।
आर्थिक वर्ष ०८०/८१ मा ८ प्रतिशत भारतीय आएकामा चालू आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबुलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैँजूले जानकारी दिए । दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशतभन्दा कम छ ।
२९ वर्षअघि ०५३ सालमा स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद सुनार, ऋषि भण्डारीलगायतले बुटवलबाट वसन्तपुर जोड्ने गरी केबुलकार सञ्चालनको परिकल्पना गरी करिब सय रोपनी जग्गा खरिद गरेका थिए । ६ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आइएमई ग्रुपले नेतृत्व लिएपछि भने केबुलकार निर्माणले गति लिएको थियो ।
केबुलकारले जन्मदिनमा निःशुल्क यात्रा, हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफरलगायत विभिन्न संघ–संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्धन गरिरहेको अपरेसन म्यानेजर सैँजूले बताए ।