
पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा परेको भीषण आँधीका कारण १९ जनाको ज्यान गएको छ । आँधीमा ९० जनाभन्दा बढी मानिस घाइते भएका छन् । प्रान्तीय विपत् व्यवस्थापन प्राधिकरण (पिडिएमए)ले आइतबार उक्त जानकारी दिएको हो । पिडिएमएका अनुसार प्रायः माटाले बनेका वा कमजोर संरचनाका घरमा क्षति भएको छ । हावाहुरी र असिनाका कारण रुख ढलेका र पर्खाल भत्किएका छन् ।
प्रान्तभरि यातायातमा व्यापक असर परेको छ । मौसमको खराबीका कारण धेरै सडक बन्द छन् । हावाहुरीको जोखिमले मुख्य सडक बन्द गर्नुपरेको प्रहरीले जनाएको छ । पन्जाबको राजधानी लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा पनि समस्या आएको छ । कराँचीबाट लाहोर जाँदै गरेको एक निजी जहाजलाई अवतरणको क्रममा हावाहुरीले हल्लाउँदा यात्रुहरू आतंकित भएका थिए । हावाको तीव्रताले गर्दा जहाजका चालकले विमानस्थलमा अवतरण नगरी पुनः कराँची फर्काउने निर्णय गरेका थिए । अन्य धेरै उडानमा पनि ढिलाइ भएको थियो ।
पिडिएमएले अझै केही दिन मौसम खराब रहने सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख इरफान अली कथियाले सबै जिल्ला प्रशासक र उद्धार टोलीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । स्थानीय प्रशासनलाई आपसमा समन्वय गरेर सम्भावित विपत् न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रहन भनिएको छ ।