
गत १०, ११ र १२ असोज परेको वर्षापश्चात आएको रोशी खोलाको बाढीमा बगेको रोशी आधारभूत अस्पतालले सात महिनापछि अस्थायी संरचना पाएको छ । विश्व स्वास्थ संगठनको आर्थिक सहयोगमा अस्थायी संरचना निर्माणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेर र मन्त्रालयले रोशी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको रोशी–१ फलामेसाँघुमा अवस्थित १० शय्याको रोशी आधारभूत अस्पताल भवन बगाएको थियो । अस्थायी रुपमा सञ्चालित अस्पतालको भवन पनि बगाएपछि टेन्टबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।
बुधबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. प्रकाश बुढाथोकीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त संरचना, मेडिकल क्याम्प र किड हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सहसचिव बुढाथोकीले आधारभूत अस्पताल बनाउने दायित्व संघीय सरकारको भएकोले बजेट व्यवस्थापन गर्न संघीय सरकार तयार रहेको बताए । स्थायी अस्पताल भवन निर्माण गर्न आवश्यक ठाउँ पहिचान गरे बजेट व्यवस्थापन हुने उनको भनाइ छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको अस्पताल भवनसहित रोशीमा धेरै जनधनको क्षति पुगेको । ९० प्रतिशत निर्माण सम्पन्न भएको भवन बाढीले बगाएपछि स्वास्थ्य सेवा दिन समस्या भइरहेको र अस्थायी संरचाना पाएपछि खुसी लागेको लामाले बताए ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डवले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।
रोशी आधारभूत अस्पतालले रोशी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का नागरिकका सथै नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका केही वडाका नागकिरले समेत स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतीले अस्पतालको सेवाप्रति नागरिकले सधै चासो दिनु पर्ने बताइए । गाउँमा अस्पताल बनाएर स्वास्थ्य सेवाका लागि अन्यत्र जाँदा सरकारको लगानी सदुपयोग नहुने उनको भनाइ छ । नजिकैको अस्पतालमा सेवा लिन नागरिक आफै जागरुक हुनुपर्ने बताइन् ।
अस्पताल भवनसँगै अस्पतालको लागि आवश्यक सबै सामाग्री विश्व स्वास्थ्य संगठनले हस्तान्तरण गरेको छ । तीन महिनाको लागि १० हजार जना सेवाग्राहीलाई पुग्ने औषधि पनि संगठनले हस्तान्तरण गरेको छ ।