
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार साबिक विजेता कोलकाता नाइट राइडर्समाथि ११० रनको फराकिलो जित निकालेको छ । पहिलो ब्याटिङ गरेको हैदराबादले आइपिएलकै चोथो ठूलो योगफल बनाएको थियो । हैदराबादले २० ओभरमा तीन विकेट गुमाएर २७८ रन जोड्यो । प्रत्युत्तरमा कोलकाता १८.४ ओभरमा १६८ रनमा अलआउट हुँदा हैदराबादले फराकिलो जित निकालेको हो । हैदराबादका हेन्रिक क्लासेनले शतकीय योगदान दिएका थिए । कोलकाताको ब्याटिङमा सुनील नारिनले १६ बलमा ३१ तथा हर्षित रानाले २१ बलमा ३४ रन बनाएका थिए ।
क्लासेनको तेस्रो छिटो शतक
हैदराबादका क्लासेनले आइपिएल इतिहासमै तेस्रो छिटो शतक बनाउँदा कोलकाताले विशाल लक्ष्य पाएको हो । क्लासेनले केवल ३७ बलमा शतकीय इनिङ्स खेले । राजस्थान रोयल्सका युसुफ पठानले पनि सन् २०१० मा मुम्बईविरुद्ध ३७ बलमा शतक ठोकेका थिए । रोयल्स च्यालेन्जर्स बेंग्लोरका क्रिस गेलले सन् २०१३ को सिजनमा सबैभन्दा कम बलमा शतकीय इनिङ्स खेले । उनले पुने वारियर्सविरुद्ध ३० बलमा शतक लगाएका थिए । दोस्रो स्थानमा राजस्थानका वैभव सूर्यवंशी छन् ।
यस सिजनमा उनले गुजरात टाइटन्सविरुद्ध केवल ३५ बलमा शतक लगाएका थिए । आइतबार भएको खेलमा साबिक विजेता कोलकाताविरुद्ध क्लासेनले ३९ बलमा नौ छक्का र सात चौकाको सहयोगमा १०५ रनको नटआउट इनिङ्स खेलेका थिए । हैदराबादले आक्रामक सुरुवात गर्यो । अभिषेक शर्मा र टिम हेडले पहिलो विकेटका लागि ४१ बलमा ९२ रनको साझेदारी गरेका थिए । क्लासेनले हेडसँग दोस्रो विकेटका लागि ३५ बलमा ८३ रन जोडे । त्यसपछि ईशान किसनसँग क्लासेनले ३६ बलमा ८३ रनको साझेदारी गरे । ओपनर अभिषेकले १६ बलमा दुई छक्का र चार चौका प्रहार गरी ३२ रन बनाए ।
हेडले ४० बल सामना गरी समान ६ चौका र छक्का प्रहार गरी ७६ रनको योगदान दिए । ईशानले २० बलमा २९ तथा अनिकेत बर्माले ६ बलमा १२ रन बनाए । हैदरबादको ब्याटिङमा १९ छक्का र २२ चौका प्रहार भएको थियो । कोलकाताले २४ अतिरिक्त रन दियो । जसमा १४ वाइड समावेश रह्यो ।
गुजरातमाथि चेन्नईको सानदार जित
आइपिएलअन्तर्गत आइतबारको ६७औँ खेलमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सविरुद्ध चेन्नई सुपर किंग्सले ८३ रनको फराकिलो जित निकालेको छ । दुवै टोलीले लिगकै आ–आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गरेका थिए । गुजरात जितका साथ सहज रूपमा क्वालिफायर खेल्ने योजनामा थियो । प्ले अफ दौडबाट बाहिरिसकेको चेन्नई भने अन्तिम खेलमा जित चाहन्थ्यो । महेन्द्रसिंह धोनीको कप्तानीमा चेन्नईले आफ्नो अन्तिम खेलमा गुजरातविरुद्ध उत्कृष्ट जित निकाल्यो । यद्यपि, चेन्नई तालिकाको पुछारमै रह्यो ।
राजस्थानसँग समान ८ अंक बनाएको चेन्नई रनरेटमा पछि परेको हो । अहमेदाबादमा पहिलो ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर २३० रन जोडेको थियो । गुजरातले १८.३ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनायो । चेन्नईको ब्याटिङमा दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेले । डेभोन कोन्वेले ३५ बलमा ५२ तथा डेवाल्ड ब्रेभिसले २३ बलमा ५७ रन बनाएका थिए । ब्रेभिसले पाँच छक्का र चार चौका प्रहार गरे । यसैगरी उर्भिल पटेलले १९ बलमा ३७ रनको योगदान दिए ।
प्रत्युत्तरमा लक्ष्य पछ्याएको इनिङ्समा गुजरातले पहिलोपटक कमजोर ब्याटिङ गर्यो । अर्कोतिर चेन्नईका अंसुल कामबोज र नूर अहमदले समान तीन विकेट लिए । कामबोजले २.३ ओभरमा १३ रन खर्चे । गुजरातको ब्याटिङमा साई सुदर्शनले २८ बलमा ४१ रन बनाए ।