
अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५औँ वर्ष पुगेको छ । ३ जुन १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । हर्जोगसँगै लुइस लाचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेपाले सफल आरोहण गरेका थिए ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरि विश्व कीर्तिमान राखेको सोही दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने उद्देश्यले ५ अप्रिल १९५० मा फ्रान्सेली टोली नेपाल आएको थियो । अन्नपूर्ण प्रथम विश्वको १०औँ र नेपालको नवौँ अग्लो हिमाल हो।
यही २० जेठ अर्थात् ३ जुनमा आरोहणको ७५औँ विविध कार्यक्रम गरी कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक र म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित नारच्याङमा विविध कार्यक्रम गरी हीरक महोत्सव मनाइँदै छ।
हीरक महोत्सवमा पदयात्रा, म्याराथन, शालिक अनावरण
नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), अन्नपूर्ण गाउँपालिका म्याग्दी, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक कास्कीले हीरक महोत्सवको अवसरमा पदयात्रा, म्याराथन, शालिक अनावरण, फान्सेली सांगीतिक प्रस्तुतिसँगै हर्जोगले आरोहणमा प्रयोग गरेका सामग्रीहरू हस्तान्तरण गरिने भएको छ ।
कार्यक्रम आयोजक टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले महोत्सवअन्तर्गत हर्जोगको टोलीले हिमाल आरोहणका लागि प्रयोग गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ अन्नपूर्ण उत्तर आधार शिविरदेखि नारच्याङसम्म पदयात्रा हुने बताए । २२ जेठमा हर्जोगले आरोहरणको क्रममा प्रयोग गरेका सामग्री उनका छोरा म्याथिएसले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण गर्नेछन् ।
पदयात्राका लागि फ्रान्ससगै युरोप–अमेरीकालगायतका १२ देशका राजदूत, नेपालका विशिष्ट व्यक्तिलाई सहभागिताका लागि निमन्त्रणापत्र पठाएको पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
हीरक महोत्सवमा सहभागी हुन मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाति इथान सिमोन ज्याक्युस, फ्रान्सका पर्वतारोही, अन्नपूर्णको इतिहासको अध्ययन गरेका अनुसन्धानकर्ता र कलाकारसहित ११ जनाको टोली नेपाल आएको टान गण्डकीका अध्यक्ष आचार्यले जानकारी दिए।
पर्वतारोहण क्षेत्रमा हर्जोगले लेखेको ‘अन्नपूर्ण’ पुस्तक प्रसिद्ध छ । हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए।