
विराट कोहलीले गत सोमबार टेस्ट क्रिकेटबाट अवकाशको घोषणा गरे । इन्स्टाग्राममा उनले अवकाशका लागि अहिले ‘उपयुक्त समय’ भएकाले अवकाश लिएको बताएका छन् । तर, कमजोर प्रदर्शन, मानसिक थकान, परिवार, परोपकार र व्यावसायिक जिम्मेवारीले पनि यस निर्णयमा भूमिका खेलेको अनुमान गरिएको छ । १४ वर्षे टेस्ट करिअरमा कोहली भारतीय ब्याटिङको मेरुदण्ड थिए ।
एक सय २३ टेस्टमा ३० शतकसहित नौ हजार दुई सय ३० रन बनाएका कोहलीले ४६.८५ को औसत कायम राखेका थिए । यस तथ्यांकले उनलाई क्रिकेट इतिहासमै भारतका शीर्ष पाँच टेस्ट ब्याट्सम्यानमध्ये एक बनाउँछ । तर, उनको प्रभाव रनमा मात्र सीमित छैन । ३६ वर्षीय कोहलीले यसअघि नै देशले उनको दोस्रो टी–२० विश्वकप जितेपछि त्यस खेल ढाँचाबाट पनि सन्न्यास लिइसकेका छन् । उनले एकदिवसीय क्रिकेट खेल भने जारी राख्ने सम्भावना छ । उनको अनुपस्थितिले इंग्ल्यान्डसँग हुने आगामी टेस्ट सिरिजमा भारतलाई ठुलो असर पर्नेछ ।
टेस्ट क्रिकेटको शिखर यात्रा : कोहली आफ्नो पुस्ताका सबैभन्दा महान् भारतीय ब्याट्सम्यान हुन् । सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका उनले आफ्नो अन्तिम टेस्ट खेल भने जनवरीमा अस्ट्रेलियाविरुद्ध खेलेका थिए । उनले आफूले खेलेका सबै देशविरुद्ध शतक प्रहार गरेका छन्, जसमध्ये आधाभन्दा बढी विदेशी भूमिमा गरेका हुन् ।
अस्ट्रेलियामा उनले सात टेस्ट शतक हाने । यो विदेशी ब्याट्सम्यानका लागि अस्ट्रेलियामा दोस्रो सबैभन्दा बढी शतक हो । उनको उत्कर्षको समय सन् २०१४ देखि २०१९ को बिचमा थियो, जब उनले टेस्ट क्रिकेटमा औसत ६० भन्दा बढी बनाए । त्यसैगरी कोहली स्टिभ स्मिथ, केन विलियमसन र जो रुटसँगै ‘फ्याब फोर’ (विश्वकै उत्कृष्ट चार टेस्ट ब्याट्सम्यान)मा गनिए । यो अवधिमा उनले १८ महिनामा ६ वटा दोहोरो शतक प्रहार गरे, र १३ महिना विश्वकै पहिलो स्थानका टेस्ट ब्याट्सम्यानको स्थानमा कायम रहे ।
कोहलीलाई कसैले रुचाउलान्, कसैले घृणा गर्लान्, तर उनले टेस्ट क्रिकेटलाई नयाँ उचाइमा पु¥याएको तथ्यलाई भने कसैले अस्वीकार गर्न सक्दैन
क्याप्टेनका रूपमा कोहली : कोहली भारतका सबैभन्दा महान् टेस्ट कप्तान हुन् । सन् २०१४ देखि २०२२ बिच उनी क्याप्टेन रहँदाको अवधि भारतीय टेस्ट क्रिकेटको स्वर्ण युग रह्यो । यो अवधिमा भारतले ६८ मध्ये ४० टेस्ट जित्यो (अर्थात् ५९ प्रतिशत) र घरेलु मैदानमा एकपटक पनि टेस्ट सिरिज हारेन । भारत सन् २०१६ देखि २०२० सम्म लगातार विश्वको नम्बर एक टेस्ट टोली रह्यो । २०१८–१९ मा अस्ट्रेलियामा आफ्नो पहिलो टेस्ट सिरिज जित्यो । यी तथ्यांकले कोहलीलाई सबैभन्दा सफल टेस्ट कप्तानमध्ये एक बनाउँछन् ।
तथ्यांकभन्दा पर, कोहली एक करिश्मायुक्त र आक्रामक कप्तान थिए, जसले भारतको टेस्ट क्रिकेटप्रतिको दृष्टिकोण बदलिदिएका थिए । उनले टिममा प्रतिस्पर्धात्मक भावना, तन्दुरुस्ती, प्रशिक्षणको तीव्रता र पेस (तीव्र गतिको बलिङ) आक्रमणमा जोड दिँदै स्थायी प्रभाव छाडेका छन् । कोहलीकै नेतृत्वमा टिमको मापदण्ड र रणनीतिमा ऐतिहासिक परिवर्तन आएको मानिन्छ ।
विवादले घेरिएका कोहली : कोहलीको ऊर्जा, जोश र तीव्रताले उनलाई सफल ब्याट्सम्यान र कप्तान बनाए पनि यिनै गुणले उनलाई विपक्षी खेलाडीसँग थुप्रै विवादमा पनि पुर्यायो । धेरैले उनको छविलाई अभद्र र अहंकारी भनेका छन् । चर्को उत्सव र आक्रामक हाउभाउका कारण उनले परम्परावादी दर्शकबाट आलोचना खेप्नुपरेको थियो । उनी सम्बन्धित धेरैजसो विवाद अस्ट्रेलियामा भए, जहाँ कोहली र त्यहाँका खेलाडी तथा समर्थकबिच प्रेम–घृणाको सम्बन्ध देखियो ।अस्ट्रेलियामा उनी दर्शकतर्फ फर्किए ‘माझी औँला देखाउने’जस्तो अश्लील हाउभाउ प्रदर्शन गर्ने, स्यान्डपेपर प्रकरणको (अस्ट्रेलियाली टिमले सन् २०१८ मा बलमा छेडखानी गरेका थिए) संकेत गर्दै चिढ्याउने र युवा ब्याट्सम्यान स्याम कोनस्टासलाई काँधले धक्का दिनेजस्ता विवादास्पद व्यवहार गरेका थिए ।
टेस्ट क्रिकेटमा कोहलीको विरासत : एक दशकभन्दा बढी समयसम्म कोहली भारतीय टेस्ट टिमको धड्कन बनेर रहे । उनको अवकाशले एक युगको अन्त्यको संकेत गर्छ । कोहलीले भारतीय क्रिकेटको सोच बदलेर राष्ट्रिय टोलीलाई थप चनाखो, तन्दुरस्त, आक्रामक र सफल बनाउँदै नयाँ रूप दिएका थिए । उनी टेस्ट क्रिकेटका सबैभन्दा महान् दूतमध्ये एक थिए जसले यो खेललाई टी–२० क्रिकेट हाबी बन्दै गएको युगमा पनि सान्दर्भिक रहेको सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
कोहलीले टेस्ट क्रिकेटलाई फेरि एकपटक प्रेरणादायी बनाए । उनी क्रिकेटको यो ढाँचा फस्टाउनुपर्छ भन्ने चाहना राख्थे । कोहलीलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या टाइगर वुड्स, लेब्रोन जेम्स र टम ब्य्राडीको संयुक्त फलोअर्सभन्दा पनि धेरै छ । कोहलीलाई इन्स्टाग्राममा २७ करोड २० लाख र एक्समा ६ करोड ७८ लाखले पछ्याउँछन् । त्यसैगरी, एलए २०२८ ओलम्पिकमा क्रिकेटलाई ओलम्पिक खेलमा समावेश गर्ने घोषणा गर्दा आयोजकले कोहलीको नामलाई उल्लेख गरेका थिए ।
कसैले उनलाई माया गर्लान्, कसैले घृणा तर कोहलीले टेस्ट क्रिकेटको रोचकता र भव्यतालाई एक नयाँ उचाइमा पुर्याएको तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन । उनको ऊर्जाले भारत र उसका विपक्षी दुवै टिमबाट सर्वश्रेष्ठ प्रदर्शन निम्त्याउँथ्यो । ब्याटिङ होस् वा फिल्डिङ उनलाई नजरअन्दाज गर्न असम्भव हुन्थ्यो । त्यसैले त सम्मानित क्रिकेट लेखक पिटर लालोरले हालै ‘कसैको पनि विकल्प नहुने भन्ने हुँदैन, तर विराट कोहलीको चाहिँ विकल्प कोही हुन सक्दैन’ भनेका थिए ।
(क्र्विकसंक ‘तास्मानिया विश्वविद्यालय’का स्वास्थ्य एवं शारीरिक शिक्षा वरिष्ठ लेक्चरर हुन् भने हाइन्डमेन ‘चाल्र्स स्टर्ट विश्वविद्यालय’का सहायक डिन हुन् ।) द कन्भर्सेसन