
नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए।
उनले भने, ‘नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन। पहिलो अभ्यासका रूपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुनेछ । जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिनेछ। प्रदर्शनीमा करिब ६ सय कलाकारका ६५० हाराहारीका कलाकृति समावेश गरिनेछ ।’
राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए । तीमध्ये छनोट भएका पाँच सय कलाकृति र आमन्त्रित कलाकारका गरी ६ सय हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताए।
सातै प्रदेशमा अभ्यासमा रहेका विविध मौलिक कलाकृतिको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए। ‘लोककला, हस्तकलामा पनि समुदायगत, जातिगत, भौगोलिक क्षेत्रका हिसाबले पनि विविधता झल्किने गरी व्यवस्थापन गर्दै छौँ । यसमा मौलिक शिल्प ज्ञानहरू हुनेछन् भने त्यो सांकेतिक रूपमा पनि हेर्न पाइने व्यवस्था गरिनेछ । प्रदर्शनीमा दैनिक जीवनमा प्रयोग हुने सामान रहनेछन्,’ सदस्यसचिव काफ्लेले भने, ‘यसलाई हामीले पुनर्जागरणको चरण भनेका छौँ । नेपालका लोपोन्मुख कतिपय लोककला, हस्तकला, शिल्प हस्तकलाहरू देख्न पाइनेछन् । राउटेदेखि मधेशका डोम समुदायले बनाउने कलाहरू प्रदर्शनीमा समावेश हुनेछन् ।’
प्रदर्शनीमा समसामयिक पक्षलाई उठाइएका, आधुनिक पक्षलाई उठाइका लोककला, परम्परागत कला, शिल्प हस्तकला, विश्वमा चलेका न्यु मिडियासँग सम्बन्धित बहुआयामिक तथा सिर्जनात्मक वास्तुकलालगायत प्रदर्शनीमा राख्ने जनाइएको छ । नेपाल ललितकलालाई समावेशी बनाउँदै जनसाधारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बताउँछन्। उनले भने, ‘भोक, सोख र लोकलाई सन्तुलन मिलाउँदै लोक र भोकलाई सोखमा जोड्नका लागि तयार हुनुपर्छ । कलाको पहिचान स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय पहुँचमा पुर्याउँदै अर्थतन्त्रमा योगदान दिने उद्देश्य हो । विगत वर्षदेखि सातै प्रदेशका लुकेका कलालाई उजागर गर्दै प्रदर्शनी भइरहेको छ, त्यसले कलामा एउटा जागरण पैदा गर्न सफल भएको छ ।’
प्रदर्शनी सफल बनाउन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा मूल समिति र अन्य सातवटा उपसमिति गठन गरिएका छन् । यसपालि प्रदर्शनीअन्तर्गत सांस्कृतिक संस्थानसँगको सहकार्यमा सांगीतिक प्रस्तुति, नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक प्रस्तुतिसमेत रहने गरी कार्यक्रम तयार पारिएको छ ।