Skip This
कालोपत्रे चरणमा ग्वार्को फ्लाइओभर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
फ्लाइओभरमा ग्राभेलपछि बिछ्याइएको प्राइम कोट । यसमाथि कालोपत्रे हुनेछ । फ्लाइओभरको काम असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तस्बिर : नयाँ पत्रिका
Invalid date format o५:५१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कालोपत्रे चरणमा ग्वार्को फ्लाइओभर

फ्लाइओभरमा प्राइम कोट बिछ्याउन सुरु, जेठभित्र दुवैतर्फको र्‍याम्पमा कालोपत्रे सकेर गाडी गुडाउन दिने योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५१:oo

चक्रपथअन्तर्गत ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा एक महिनाभित्र गाडी गुडाउने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक विभाग, गुणस्तर तथा अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीले जेठभित्रै दुवैतर्फको र्‍याम्प (फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना)मा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउन दिने योजना रहेको बताए । ‘ग्राभेलपछि बनाइएको बेस कोर्समा प्राइम कोट बिछ्याउन सुरु भइसकेको छ । जेठभित्र दुवैतर्फको र्‍याम्पमा कालोपत्रेको काम सकिन्छ । कालोपत्रेको काम सकिएपछि अन्य काम बाँकी रहे पनि फ्लाइओभरमा गाडी गुडाउन दिने योजनामा छौँ,’ उनले भने, ‘तैपनि यसबारे सडक विभागले उचित निर्णय गर्नेछ ।’ फ्लाइओभरमा आकासेपानी व्यवस्थापनको संरचना, ट्राफिक लाइट जडान, पेन्टिङलगायतका काम भने असारभित्र सकिने बराहीले बताए । 

ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्‍याम्पमा बिहीबारदेखि प्राइम कोट बिछ्याउन सुरु गरेको छ । ग्राभेलपछि बनाइएको ‘बेस कोर्स’मा ‘प्राइम कोट’ बिछ्याइन्छ । यसलाई ‘बिटुमिन’को पहिलो तह पनि मानिन्छ । ‘प्राइम कोट’ बिछ्याएपछि थप इन्जिनियरिङ प्रक्रिया पूरा गरेर सडकलाई कालोपत्रे गरिन्छ । एक–दुई दिनमै त्यहाँ कालोपत्रेको काम पनि सुरु हुने उनको भनाइ छ ।

तर, सातदोबाटोतर्फको र्‍याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । बेस निर्माणको काम सकिएपछि त्यहाँ पनि क्रमशः प्राइम कोट बिछ्याउँदै कालोपत्रेको काम गरिने बराहीको भनाइ छ । 

सडक विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग १७ करोड ६ लाख ८८ हजारमा ठेक्का सम्झौता गरेको थियो । अर्थात् ठेकेदार कम्पनीले आफैँले डिजाइन गरेर परियोजना बनाउनुपर्ने थियो । कम्पनीले २३ पुस ०७९ बाट निर्माण कार्य सुरु गरेको थियो । निर्माण सुरु गर्ना साथ डिजाइनमा समस्या देखिएपछि माघ ०७९ मा पनि निर्माण अवरोध भएको थियो ।

त्यसपछि डिजाइन परिमार्जन गरेर निर्माण सुरु गरिएको थियो । पटक–पटक थप गरेर दिएको म्याद सकिएपछि कम्पनीले गत १० पुसयता आफैँले जरिवाना तिरेर काम गर्दै आएको छ । त्यसमा पनि सातदोबाटोपट्टिको र्‍याम्पमा समस्या देखिएपछि गत पुस–माघमा गरेर झन्डै एक महिना काम रोकियो । त्यसपछि कम्पनीले २३ माघदेखि काम सुरु गरेको थियो ।