प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउन २७ दिन बाँकी छ । तर, ठोस एजेन्डासहितको घोषणापत्र लिएर जनताबीच जानुपर्ने प्रमुख दलका शीर्ष नेताहरू आरोप–प्रत्यारोपमा छन् । मुलुकको भावी नेतृत्वको दाबी गरिरहेका उनीहरू विकास र समृद्धिको प्रतिबद्धता छाडेर ‘वाक्युद्ध’मा ओर्लिएका हुन् । ठूला दलले अहिलेसम्म घोषणापत्र ल्याउन सकेका छैनन् ।
खास गरेर सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी एमाले नेतृत्वको ‘वाक्युद्ध’ले तिहारपछिको चुनावी माहोल पनि समृद्धिको बहसभन्दा विगतका राजनीतिक घटनाक्रमको कटाक्षमै सीमित हुने संकेत देखिएको छ । जब कि दलहरूले नयाँ संविधानपछि प्रमुख मुद्दा राजनीतिबाट ‘डिपार्चर’ भएर आर्थिक समृद्धिमा केन्द्रित भएको बताउँदै आएका थिए ।
१ कात्तिकमा सत्तागठबन्धनले ललितपुरमा गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले जनतासँग मत माग्ने औचित्य पुष्टि गर्न एमाले अध्यक्ष केपी ओलीलाई कटाक्ष गर्दै आरोप–प्रत्यारोपको फायर खोले । ‘ओलीजीले जनताले चुनेको संसद् दुईपटक भंग गर्नुभयो । हामीले संविधान भंग गर्न नपाउने लेखेका थियौँ । उहाँले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् विघटन गर्नुभयो,’ देउवाको भनाइ थियो ।
सोही कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले चुनाव उपलब्धि उल्ट्याउने र रक्षा गर्नेबीचको लडाइँ भएको बताउँदै ओलीलाई थप घोचपेच गरे । ‘अहिले पनि गोरुगाडा चढेर कहीँ न कहीँ फेरि पनि प्रतिगमन, प्रतिक्रान्ति र अराजकतातिरै देशलाई लैजाने प्रयास भइरहेको छ । त्यसकारण यो एउटा सामान्य खालको चुनाव होइन । प्राप्त उपलब्धिको रक्षा गर्ने कि उल्ट्याउन दिने भन्ने एउटा ठूलो लडाइँजस्तो भएको छ,’ उनको कटाक्ष थियो ।
सत्तारूढ दलका दुई शीर्ष नेताको कटाक्षको जवाफ दिन एमाले अध्यक्ष ओलीले एक दिन पनि कुरेनन् । केही घन्टामै उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’को निम्तो नै दिए । भोलिपल्ट २ कात्तिकमा गृहजिल्ला झापाको चुनावी कार्यक्रममार्फत पनि उनले देउवा र प्रचण्डका अभिव्यक्तिको कडा जवाफ फर्काए ।
‘यो सरकारको आयु कमिला, लामखुट्टेभन्दा पनि छोटो छ । म्यादी सरकार हो यो । यसको दिनगन्ती सुरु भयो । अब एक महिना दुई दिन बाँकी छ । यो निर्वाचनले विकासको अभियान अघि बढाउने कि नबढाउने, सुशासन ल्याउने कि नल्याउने भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ,’ ओलीको भनाइ थियो ।प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डभन्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पूर्वसहयात्री ओलीप्रति बढी आक्रामक छन् ।
पछिल्लोपटक उनले एमालेले चुनाव जित्दा ओली नयाँ तानाशाहका रूपमा उदाउन सक्ने भन्दै गठबन्धनले जित्दा देशसमेत छाड्नुपर्ने स्थिति आउन सक्ने बताए । ४ कात्तिकमा बुटवलमा आयोजित सत्तागठबन्धनको भेलामा उनले भने, ‘केपी ओली सुध्रनेवाला छैनन् । अब पनि ओलीले शक्ति पाए भने देशै छाड्नुपर्ने हुन सक्छ ।’ आइतबार जनकपुरको भेलामा पनि उनले ओली एक नम्बर खतरनाक व्यक्ति भएको जिकिर गरे । ‘केपी ओलीका भ्रममा नपर्नुस् । मधेसको विरोधी कोही पार्टी छ भने त्यो एमाले मात्रै हो । केपी ओली एक नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन्,’ उनको भनाइ थियो ।
पछिल्ला दिनमा थप आक्रामक बन्दै गएका एमाले अध्यक्ष ओलीले राष्ट्रियताको मुद्दा उठाउँदै सत्तागठबन्धन देश बेच्नसमेत तयार भएको गम्भीर आरोपसमेत लगाए । ‘सत्तागठबन्धन सत्तास्वार्थका लागि देश पनि बेच्न पनि तयार हुन्छन् । सिंगै देश ढ्वाक्कै भन्टा, चिप्लेभिन्डी, टमाटरजस्तै बजारमा तौलिएर त नबेच्लान्, तर अंश–अंश गरेर यिनीहरूले देश बेच्छन्,’ एमाले ललितपुरले शनिबार आयोजित कार्यक्रममा ओलीले भने, ‘अलिकति हिस्सा बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमान बेच्छन् । एकैचोटि नभएर अंश–अंश गरेर बेच्छन्, त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सक्रिय हुन जरुरी छ ।’
उता, आइतबार धनगढीमा आयोजित गठबन्धनको प्रदेश भेलामा माओवादी अध्यक्ष प्रचण्डले ओलीले राजतन्त्र उल्ट्याउने उद्देश्यले अलग्गै गठबन्धन बनाएको दाबी गरे । ‘अहिले पनि गणतन्त्र उल्ट्याउने योजना छ । राजतन्त्रलाई पुनस्र्थापना गर्ने उद्देश्य राखेकाहरूको गठबन्धन छ । प्रतिगमनको खतरा रोक्नु छ । विस्तृत शान्तिसम्झौता गर्दा मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया–हतौडामा भोट हाल्नुभएको हो । माधव नेपाल त्यसवेला एमाले अध्यक्ष नभएर केपी ओली अध्यक्ष भएको भए देशलाई त्यसवेला नै दुर्घटनामा पार्ने थिए,’ उनको आरोप छ ।
एमालेसँग चुनावी तालमेल गरिरहेका उपेन्द्र यादव नेतृत्वको जसपा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि आरोप–प्रत्यारोपमा ठूला दलका नेताहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । ‘यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा एमालेसँग हुन्छ । अरू पार्टीहरूको त हिसाबकिताब नै छैन । कांग्रेस, माओवादी भन्ने पार्टीले त उम्मेदवार नै सय कटाउन सकेका छैनन्,’ लिङ्देनले आइतबार काठमाडौंमा आयोजित राप्रपाको चियापान कार्यक्रममा गठबन्धनमा आबद्ध दलप्रति कटाक्ष गर्दै भने, ‘तिनै दल सरकार बनाउँछु, सरकारको नेतृत्व गर्छु र आगामी दिनमा प्रधानमन्त्री हुन्छु भनिरहेका छन् ।’ जसपा अध्यक्ष यादव कांग्रेसलगायतका ठूला दलले नै मधेसको शोषण गरेको आरोप लगाइरहेका छन् । ‘कांग्रेसलगायतका ठूला भनाउँदा पार्टीहरूले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएका छन्,’ सप्तरीको महादेवा गाउँपालिकामा ४ कात्तिकमा आयोजित अगुवा कार्यकर्ता भेलामा यादवको आरोप थियो ।
केपी ओली, अध्यक्ष, एमाले
एमाले ललितपुरले ५ कात्तिकमा आयोजना गरेको कार्यक्रम
गठबन्धनका नेताहरू सत्तास्वार्थका लागि सिंगै देश ढ्वाक्कै भन्टा, चिप्लेभिन्डी, टमाटरजस्तै बजारमा तौलिएर त नबेच्लान्, तर अंश–अंश गरेर देश बेच्छन् । अलिकति हिस्सा बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमान बेच्छन् । त्यसैले हरेक नेपाली सजग र सक्रिय हुन जरुरी छ ।
२ कात्तिकमा झापामा आयोजित कार्यक्रममा
राप्रपाले हामीसँग सहकार्य गर्यो । ऊ राष्ट्रिय पार्टी बन्छ । जसपा पनि कायम रहन्छ, तर लोसपा बन्दैन । सिमलीको डाँक्लाको छेस्को (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्दैन । किनकि यसले एमालेसँग टक्कर गर्यो ।
शेरबहादुर देउवा सभापति, कांग्रेस
४ कात्तिकमा रुपन्देहीमा आयोजित कार्यक्रममा
देशविरूद्व षड्यन्त्र गर्नेलाई परास्त गर्न यो गठबन्धन बनेको हो । गठबन्धनविरुद्व राजावादी जुटेका छन् । हामी यो व्यवस्थाका लागि लड्ने, अनि अहिले उनीहरूले नै हामीलाई आरोप लाउने ?
१ कात्तिकमा ललितपुरमा आयोजित कार्यक्रममा
ओलीजीले जनताले चुनेको संसद् दुईपटक भंग गर्नुभयो । हामीले संविधानमा भंग गर्न नपाउने लेखेका थियौँ । उहाँले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् विघटन गरिदिनुभयो ।
प्रचण्ड, अध्यक्ष, माओवादी
१ कात्तिकमा ललितपुरमा आयोजित कार्यक्रममा
अहिले पनि गोरुगाडा चढेर कहीँ न कहीँ फेरि पनि प्रतिगमन, प्रतिक्रान्ति र अराजकतातिरै देशलाई लैजाने प्रयास भइरहेको छ । यो एउटा सामान्य चुनाव होइन, प्राप्त उपलब्धिको रक्षा गर्ने कि उल्ट्याउन दिने भन्ने ठूलो लडाइँ हो ।
६ कात्तिकमा धनगढीमा
राजतन्त्र पुनस्र्थापना गर्ने उद्देश्य राखेकाहरूको पनि गठबन्धन छ । विस्तृत शान्ति सम्झौता गर्दा मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया–हतौडामा भोट हालेका हौँ । माधव नेपालको ठाउँमा केपी ओली एमाले अध्यक्ष भएको भए देशलाई त्यसवेला नै दुर्घटनामा पार्ने थिए ।
माधव नेपाल, अध्यक्ष, एकीकृत समाजवादी
५ कात्तिकमा जनकपुरमा
जनता कोही पनि केपी ओलीका भ्रममा नपर्नुस् । मधेसको विरोधी कोही पार्टी छ भने त्यो एमाले मात्रै हो । केपी ओली एक नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन् ।
४ कात्तिकमा रुपन्देहीमा
सरम लाग्दैन ? काम गर्न दिएनन् भनेर रुँदै हिँडेर हुन्छ ? केपी ओली सुध्रनेवाला छैनन् । अब पनि उनले शक्ति पाए भने देशै छाड्नुपर्ने हुन सक्छ । मुलुकलाई थप क्षति हुन सक्छ ।
पार्टीभित्र छलफल छैन, त्यसैले नेताहरू आरोप–प्रत्यारोपमा छन्
भास्कर गौतम राजनीतिक विश्लेषक
पछिल्ला दिनमा कांग्रेस, एमालेदेखि राजेन्द्र लिङ्देनसम्मको राप्रपाले राजनीतिक क्रान्ति सकियो, अब देशमा आर्थिक क्रान्ति, आर्थिक समृद्धि ल्याउनुपर्छ र मुलुकलाई डबल डिजिटको आर्थिक वृद्धिदरमा मुलुकलाई पुर्याउँछौँ भन्दै आएका थिए । यसका लागि फास्ट ट्र्याक निर्माण गर्छौँ, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्छौँ, यसले नै आर्थिक समृद्धि ल्याउँछ भन्नेबाहेक अरू नयाँ कुरा कुनै पनि दलसँग अहिले पनि छैन ।
यस्तो खालको आर्थिक समृद्धि वा आर्थिक चिन्तनले सीमान्तकृत समुदायलाई माथि उठाउन सक्दैन, सामाजिक न्याय हासिल हुँदैन, देशलाई आत्मनिर्भर बनाउने गरी रोजगारी पनि सिर्जना गर्दैन । त्यसका लागि स्रोत पनि देखिँदैन ।
विकासलाई तीव्रता दिने, जनतालाई सुशासनको प्रत्याभूति दिलाउने, रोजगारी सिर्जना गर्ने, सामाजिक सुरक्षाको अनुभूति दिलाउनेतिर दलहरूले केही पनि सोचेको देखिँदैन । उनीहरूले आन्तरिक लोकतन्त्रलाई नै व्यवस्थापन गर्न सकेका छैनन्, उम्मेदवारहरूको व्यवस्थापन गर्न नसक्दा सबै कुरा पछाडि धकेलिँदा घोषणापत्र ल्याउने काममासमेत दलहरू पछि परे ।
एजेन्डा, प्रतिबद्धता केही नभएकैले ठूला दल कसले पहिले घोषणापत्र ल्याउला भनेर एकले अर्कोलाई हेरिरहेका छन् । पार्टीहरूभित्र विधि, पद्धति केही पनि छैन । पार्टीभित्रै कुनै छलफल छैन भने घोषणापत्रमा पार्टीभित्रै अपनत्व हुने कुरा भएन, यस्तो भएपछि जनताले अपनत्व गर्ने कुरा धेरै परको कुरा भयो । त्यसैले पनि अहिले नेताहरू चुनावी अभियानमा आरोप–प्रत्यारोपतिर लागेको देखिनु स्वाभाविक छ ।
ओलीले पाँच–दश कुरा गर्दा कांग्रेसले एक–दुईको जवाफ दिएको हो
गोपालमान श्रेष्ठ संयोजक, कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति
कांग्रेसले अरूको विषयमा धेरै कुरा गर्दैन । तर, कसैले पाँच–दश कुरा गर्दा कांग्रेसले एक–दुई कुराको जवाफ दिनैपर्यो । प्रतिवाद गर्नैपर्यो । सुनेर बस्ने भन्ने त पार्टी भएन नि ! हामी अर्काका कुरा कम गर्छौँ, आफ्ना कुरा मात्र बढी गर्छौँ । अहिले हामीले गठबन्धनको कुरा गरेका छौँ । यहाँ त घोषणापत्रमा पनि आ–आफ्नो दाउ हेर्ने गरेका छन् । कांग्रेसले पहिला निकाल्यो भने त्यसमा के–के थपघट गर्ने भनेर अरू दल कुरिरहेका हुन्छन् । कांग्रेस पनि एजेन्डासहित जान ढिलो भएको छ । अरू दलले अझै ढिला गरे पनि हाम्रो घोषणापत्र सोमबार सार्वजनिक हुन्छ । हाम्रो एजेन्डा र प्रतिबद्धता ०१५ देखिको घोषणापत्रको निरन्तरता हो । अहिले ओलीले पाँच–दश कुरा गर्दा कांग्रेसले एक–दुई कुराको जवाफ दिएको छ, प्रतिवाद गरेको छ ।
हामी एजेन्डामै छौँ, कसैको प्रश्नको जवाफ त दिनैपर्यो
पृथ्वीसुब्बा गुरुङ उपमहासचिव, एमाले
हामी त एजेन्डासहित नै छौँ । एजेन्डा नहुने त चारदलीय गठबन्धन हो । एमाले घोषणापत्र तयार हुँदै छ । यो अवस्थामा पनि एमाले एजेन्डासहित मैदानमा छ । राष्ट्रिय स्वाधीनता कि राष्ट्रघातको पक्षमा ? समृद्ध नेपाल कि प्रतिगमनको पक्षमा ? यो एजेन्डा भएन र ? कसैले प्रश्न गरेपछि त जवाफ दिनैपर्यो ।