व्यापारिक प्रतिशोधमा प्रहरी प्रयोग गरी दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाउने पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध लागुऔषध मुद्दा दायर भएको छ।
अनुसन्धानका क्रममा उनकै योजनामा दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाउन खोजेको खुलेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पाँचजनाविरुद्ध मुद्दा दायर गरेको हो।
जसमा गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र विवेक पाण्डे तथा दुई भारतीय छन्। गाउँपालिका अध्यक्ष गुप्ता पक्राउ पुर्जी जारी भएयता फरार छन्। पाण्डेलाई पनि प्रहरीले फरार नै बनाएर मुद्दा दायर गरेको छ। उनका सहयोगी धोबीको बयान र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा उनको संलग्नता पुष्टि भएको हो।
गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो।
उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरी दाबी थियो । प्रहरीको छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दाेष देखिए पनि बरामदी मुचुल्का सच्याउन नमिलेपछि उनीहरूविरुद्ध समेत मुद्दा दायर भएको छ।
लागुऔषध कारोबार भइरहेको छ भने सूचना दिने धोबीले पक्राउ परेपछि दुस्मनीका कारण उनीहरूलाई नियोजित रूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन्। पूर्वप्रहरी रहेका धोबी गाउँपालिकाका अध्यक्षको सहयोगीका रूपमा काम गर्दै आएका व्यक्ति हुन्। उनी पक्राउ परेलगत्तै छानबिनका क्रममा निर्दाेष देखिएपछि उनीहरूलाई छाड्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा सिफारिस गरेको थियो।
सरकारी वकिल कार्यालयले बरामदी मुचुल्का नसच्याएसम्म त्यतिकै छाड्न नमिल्ने अडान लिएको थियो। अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्म खत्रीले आफूले केही गल्ती नगर्दा पनि फसाउन लागिएको भन्दै मुचुल्का सच्याउन नमानेपछि मुद्दा नै दायर गरिएको हो।
पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले खटाएका सादा पोशाकका प्रहरीले सो समूहसँग मिलेर दुई भारतीयलाई योजनाबद्ध रूपमा फसाएका थिए । प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा सो कुरा पुष्टि भइसकेको छ।
नेपालमै कवाडीको व्यापार गर्दै रामा गुप्ताको विगतमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तासँग व्यावसायिक साझेदारी थियो । दुवैले मिलेर एक मोटरसाइकल कम्पनीको कवाडी सामानको ठूलो ठेक्का हात पारेका थिए । त्यो ठेक्काको २० प्रतिशत आम्दानी रामालाई दिने सहमति भएको थियो । जुन करिब डेढ करोड रुपैयाँ हुन्थ्यो । तर, गुप्ताले राजनीतिक शक्तिका आधारमा त्यो पैसा नदिएपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो।
रामाले उनलाई सामान बेच्न छाडे । त्यसपछि उनले मुद्दामा फसाइदिने धम्की दिदै आएका छन् । जसअनुसार योजनाबद्ध रूपमा भेट्न बोलाई उनीहरूको छेउमा लागूऔषध फालेर प्रहरी बोलाई पक्राउ गराइएको थियो । प्रहरी प्रधान कार्यालयको छानबिन समितिले एसपी कँडेल, अनुसन्धान अधिकृत तथा पक्राउ गर्न गएका प्रहरीमाथि कारबाहीको सिफारिस गरिसकेको छ ।