काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटेलबाट स्रोत नखुलेको नगद तथा विदेशी मुद्रासहित एक विदेशी र एकजना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौं (भद्रकाली)ले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ९ गते दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका– १७, ठमेलस्थित स्नोलाइन होटेलमा अवैध रकम लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगिथ इब्राहिम रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको अवैध नेपाली ५० लाख ५० हजार रुपैयाँ, चार हजार २१५.०९ ओमानी रियाल र ५५ अर्ब दिरामसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।