प्रेरक प्रसंग : मुखबाट निस्केको बोली

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

एकपटक एक किसानलाई आफ्ना कुनै छिमेकीसित निकै रिस उठ्यो । रिसको झोकमा किसानले छिमेकीलाई भन्नु–नभन्नु अनेक शब्द प्रयोग गरेर गाली गरे । पछि रिस शान्त भइसकेपछि उनलाई आफ्नो गल्तीको महसुस भयो । त्यसपछि उनी आफूले छिमेकीमाथि प्रयोग गरेका शब्द फिर्ता लिने उपायको खोजी गर्न एक विख्यात सन्तकहाँ पुगे ।

उनले दुःखी हुँदै सन्तसित भने– मैले रिसको झोकमा आफ्ना छिमेकीलाई निकै कठोर शब्दमा गाली गरेँ । अब मलाई आफ्नो गल्तीको महसुस भइरहेको छ । त्यसैले, म ती शब्द फिर्ता लिन चाहन्छु । यसका लागि मैले के गर्नुपर्छ ? हजुरले मार्गदर्शन गर्नुपर्यो । 

सन्तले भने– ठीक छ, पहिले तिमी सकभर धेरै प्वाँख जम्मा गर र त्यसलाई लगेर सहरको बीच भागमा रहेको सडकमा खन्याएर आऊ । किसानले एक बोरा प्वाँख जम्मा गरे र त्यसलाई सन्तले भनेजस्तै सहरको एक व्यस्त सडकमा खन्याएर फर्किए । 

सन्तले किसानलाई फेरि भने– तिमीले निकै राम्रो काम गर्यौ । अब सहर  गएर ती प्वाँख टिपेर ल्याऊ । किसान सहर गए । तर, उनले खन्याएको स्थानमा एउटै प्वाँख भेटिएनन् । हावाले उडाएर सबै प्वाँख कताकता पुगिसकेका थिए । 

उनी रित्तो हात सन्तको आश्रममा फर्किए र सबै वृत्तान्त बताए । सन्तले भने– हो, यसैगरी तिमीले आफ्नो मुखबाट निस्केको शब्द या बोली पनि फेरि फिर्ता लिन सक्दैनौ । त्यसैले, जहिल्यै बोल्नुभन्दा पहिले सोचविचार गरेर सही र उपयुक्त शब्द चयन गरी बोल्नुपर्छ । 
 

सुझावित समाचार