निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागी नगराउने भएको छ। निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरू दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दलहरू मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने बताए। उनले दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरणको अडिट रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्ने बताए।
‘हाम्रो संविधानको धारा १६९ र १७१ धाराहरूले वार्षिक आयव्ययको विवरण पेस गर्ने भनेको छ । यसको मनसाय के देखिन्छ भन्दा दलहरू कम्तीमा पनि एउटा आर्थिक आयव्यय वर्ष पूरा गरेको हुने अपेक्षा गरेको छ,’ उनले भने, ‘अथवा दलहरूले निर्वाचनमा भाग लिँदा कम्तीमा आफू संगठित भएर आफ्ना राजनीतिक एजेन्डाहरू जनतामा लगेर कम्तीमा एक वर्षको पुरानो भएको दल जसको एक वर्षको वार्षिक आयव्यय विवरणसहित पेस गर्नुपर्छ भन्ने मनसाय त्यो हुन सक्छ।’