एक प्रखर आलोचकको अवसान

प्रदीप गिरिको आलोचकीय वक्तव्य र तर्कहरूले जन्माएको लोकप्रियताले उनी त्यागी, तपस्वी, अध्ययनशील र ज्ञानी राजनीतिक सन्तका रूपमा स्थापित भएका छन्

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

युरोपमा औद्योगिक पुँजीवादको उदयसँगै औद्योगिक मजदूरहरूका नेता तथा समाजवादी विचारकहरूले अन्तर्राष्ट्रियस्तरमा एउटा समाजवादी संगठनको आवश्यकता महसुस गरे । अनेक प्रयत्नको असफलतापछि सन् १८६४ मा लन्डनमा श्रमिक अन्तर्राष्ट्रिय संघ (वर्किङ मेन्स इन्टरनेसनल एसोसिएसन)को स्थापना भयो । यसैलाई सामान्यतः ‘पहिलो इन्टरनेसनल’ भनिन्छ । यसका मुख्य आयोजकमा कार्ल मार्क्ससमेत थिए । पहिलो इन्टरनेसनलमा विविध विचारका समूहहरू सामेल थिए ।मार्क्सले त्यसैअनुरूप संगठनको अवधारणा तयार गरेका थिए ।

मानिसद्वारा मानिसको शोषण तथा राष्ट्रबाट राष्ट्रको शोषणको अन्त्य र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सामाजिक न्यायको स्थापना गर्नुलाई उद्देश्य बनाइएको पहिलो इन्टरनेसनलमा मार्क्सका विचार वर्गीय तीक्ष्णताभन्दा पनि आदर्शवादी मानवीयतामा आधारित थिए । तर, अराजकतावादीहरूको नेतृत्वमा सन् १८७१ मा भएको मजदुरहरूको ‘पेरिस विद्रोह’ पुँजीपति वर्गप्रति लचिलो व्यवहारका कारण असफल भएपछि माक्र्सले आफ्नो विचारमा ‘सर्वहारा अधिनायकत्व’लाई दृढतापूर्वक सामेल गरे । उनको यो विचार सुनेपछि अराजकतावादी नेता माइकल बाकुनिनले भने– ‘तिमी अत्यन्त खतरनाक छौ मार्क्स ! म तिमीसँग सहमत छैन ।’ मार्क्स र बाकुनिनको मतभेदका कारण सन् १८७६ मा इन्टरनेसनल भंग भयो ।

सन् १९०० मा समाजवादी तथा राजनीतिकस्तरमा मजदूर दलहरूको एउटा लचिलो खालको दोस्रो इन्टरनेसनल गठन गरियो । यसलाई समाजवादी इन्टरनेसनल पनि भनियो । तर, पहिलो विश्वयुद्ध (१९१४)को वेला युरोपमा अधिकांश समाजवादी दलले इन्टरनेसनलको विश्वयुद्धविरोधी उद्देश्यविपरीत आ–आफ्ना देशका सरकारलाई समर्थन गर्न थालेपछि यो निष्क्रिय भयो । सन् १९१८ मा यसको पुनर्गठनका वेला यसभित्र मार्क्सको सर्वहारा अधिनायकत्वविरोधीहरूको वर्चस्वका कारण मार्क्सवादी लेनिनवादीहरू यसमा सामेल भएनन् ।

उनीहरूले लेनिनको नेतृत्वमा तेस्रो इन्टरनेसनल (कोमिन्टर्न)को गठन गरे । बहुविचार तथा बहुकेन्द्रीयताका कारण दोस्रो विश्वयुद्धमा पनि निष्क्रिय दोस्रो इन्टरनेसनल सन् १९४६ मा विघटन गरियो । लोकतान्त्रिक समाजवादी दलहरूले १९४८ मा कोमिस्को नामबाट एउटा अन्तर्राष्ट्रिय मञ्च गठन गरे, जसलाई सन् १९५१ मा ‘समाजवादी इन्टरनेसनल’ (सोसलिस्ट इन्टरनेसनल)मा परिवर्तित गरियो । वैचारिक रूपमा आफूलाई साम्राज्यवादविरोधी तथा पुँजीवादविरोधी भने पनि यो साम्यवादविरोधीहरूको संगठनका रूपमा चिनिन्छ । यसै कारण यसका वैचारिक तथा व्यावहारिक प्रवृत्तिले साम्राज्यवादलाई बल पुर्याएको भनेर कम्युनिस्टहरूले यसको कटु आलोचना गर्दै आएका छन् । 

भारतमा आचार्य नरेन्द्र देव, राममनोहर लोहिया, जयप्रकाश नारायण (जेपी)लगायत समाजवादी नेता तथा नेपालमा सुवर्णशमशेर र बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसका प्रारम्भिक संस्थापक पुस्ताका नेताहरू यसै ‘समाजवादी अन्तर्राष्ट्रिय’ विचारका पक्षधर थिए । हुन त लोहिया र जेपीहरू आफूलाई युरोपियन लोकतान्त्रिक समाजवादी भन्न रुचाउँदैनथे । उनीहरू एसियाली, अझ दक्षिण एसियाली सभ्यता, संस्कृति र परम्परामा आधारित विशिष्ट चरित्रको समाजवादको परिकल्पना गर्ने प्रयत्न गरिरहेका थिए । प्रदीप गिरिले यस नौलो परिकल्पनामा लोहिया र जेपीसँगै बिपीलाई पनि ‘त्रिमूर्ति’मा सामेल गरेका छन् । नेपाली कांग्रेसको राजनीतिक वैचारिक आधार लोकतान्त्रिक समाजवादी हुनुका कारण पार्टीका संस्थापक नेताहरूको बनारस, कलकत्ता र पटना प्रवास तथा लोकतान्त्रिक समाजवादी भारतीय नेताहरूसँगको यस्तै सहकार्य र वैचारिक प्रभाव हो । 

प्रदीप गिरिको निधनबाट कांग्रेसमा मात्र होइन, सिंगो नेपाली राजनीतिमा समेत विचार र राजनीति बुझ्ने अध्ययनशील, बौद्धिक र प्रखर लोकतान्त्रिक समाजवादी आलोचकको अभाव महसुस भएको छ
 

कांग्रेसमा राजनीतिक जीवन समर्पण गरेका प्रदीप गिरिको वैचारिक विकास यिनै लोकतान्त्रिक समाजवादी स्कुलमा भएको हो । त्यसैले, कांग्रेसभित्रको अन्तर्संघर्षमा उनी उनकै बुझाइको समाजवादका पक्षमा हमेसा दृढ रहे । ०१७ सालमा राजा महेन्द्रको सत्ता कब्जापछि कांग्रेसभित्र विशेष गरी राजतन्त्रप्रति नरम (अपेक्षाकृत नरम पनि) र विरोधी गरी दुईवटा विपरीत विचार प्रवाहित भइरहेका थिए । सुवर्णशमशेरलगायतको समूह राजतन्त्रविरोधी र बिपी कोइरालाको समूह राजाप्रति अपेक्षाकृत लचिलो देखिन्थे । प्रदीप गिरि सुवर्ण शमशेरका पक्षमा थिए । त्यसरी नै ०४७ सालपछि बहुदलीयकालमा पार्टीभित्र गिरिजाप्रसाद कोइरालाको सर्वसत्तावादी महत्वाकांक्षी प्रवृत्तिविरुद्ध उनी कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको पक्षमा उभिए । यसै निरन्तरतामा ०५३ सालपछि उनी शेरबहादुर देउवाको पक्षमा मृत्युपर्यन्त रहे । यद्यपि, उनको आलोचनाबाट देउवा पनि मुक्त रहेनन् । 

प्रदीप गिरि कम्युनिस्ट थिएनन्, तर उनमा मार्क्सवादबारे प्राज्ञिक बुझाइ भने गहिरो थियो । काउत्स्की, त्रोत्स्कीको ‘उदार समाजवाद’ र केही अंशमा रोजा लक्जेम्बर्गको उदार आदर्शवादी चिन्तन (जसलाई उनले सन् १९१८ पछि सच्याएकी थिइन्)बाट परिभाषित समाजवाद उनको आदर्श थियो । मार्क्सवादी–लेनिनवादी–माओवादी विचारधारामा यो बुर्जुआ समाजवाद हो, जसले समाजवादको भ्रम मात्र सिर्जना गर्छ । प्रायः मजदुर वर्गीय राजनीतिक विचारलाई उपेक्षा गर्ने यस्तो समाजवादको विचारले अन्ततः पुँजीपति वर्गीय शासनलाई नै सहयोग हुन जान्छ । यद्यपि, बुर्जुआ समाजवादी आदर्शवादीले आफूलाई दृढतापूर्वक साम्राज्यवाद र नवउदारवादको आलोचकका रूपमा खडा गर्ने गर्छन् । गिरि यसै पंक्तिका इमान्दार राजनीतिज्ञ थिए ।

तर, जीवनभरि आलोचकीय मुद्रामा देखिने गिरि आफ्नै बोधविपरीतको पार्टीमा रहे । के उनी कम्युनिस्टविरोधी भएका हुनाले वैचारिक रूपमा पतन भइसकेको भए पनि कांग्रेसमै अडिएका थिए ? के उनी जोखिमबाट बच्न तथा सहज जीवनको लालसामा समाजवादविरोधी संसदीय पार्टीभित्र एउटा पक्षमा लागिरहे ? कहिले चुनाव जितेर त कहिले समानुपातिक सांसद बनिरहे ? उनको व्यक्तित्व र वैचारिकताको यो द्वैधता भने रहिरहनेछ । 

गिरिको अध्ययन र ज्ञानको विशिष्टता भनेको दर्शन, इतिहास, संस्कृति र राजनीतिबारे उनको आलोचनात्मक र भौतिकवादी दृष्टिकोण हो । उनलाई कांग्रेसभित्रको वामपन्थी पनि भन्न सकिन्छ । पार्टीभित्र नवउदारवाद बजारमुखी अर्थतन्त्रको स्वीकारोक्तिपछि कांग्रेसभित्र गिरिको औचित्य सकिसकेको थियो । तर, उनको आलोचकीय वक्तव्य र तर्कहरूले जन्माएको लोकप्रियताले उनलाई त्यागी, तपस्वी, अध्ययनशील ज्ञानी राजनीतिक सन्तका रूपमा पार्टीमा गहना बनाइदिएको थियो । उनले आलोचना मात्र गरे, कसैको औपचारिक विरोध गरेनन् । अनि उनको विरोधी हुने प्रश्न नै उठ्दैन । तपाईं प्रदीप गिरिलाई सीमित महत्वाकांक्षाका बौद्धिक भनेर सन्तोष मान्न सक्नुहुन्छ ।  

भारतको दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)बाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका प्रदीप गिरिको मार्क्सवादी ज्ञानको कदर नेपालका वामपन्थी र कम्युनिस्टहरूले पनि गर्थे । सन् २०१८ मा कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह मनाउँदा गिरिलाई सल्लाहकारका रूपमा राखिनु यसैको परिणाम थियो । प्रदीप गिरिका वैचारिकताका सैद्धान्तिक खण्डन र आलोचना हुन सक्छन्, छन् पनि । तर, कैयौँपटक विशिष्ट परिस्थितिमा उनले देखाएको राजनीतिक इमान्दारीको प्रशंसा गर्नैपर्छ ।

०५३ मा डा. रामशरण महत अर्थमन्त्री हुँदा उनले उदारवादी पुँजीवाद तथा निजी बजारमुखी अर्थव्यवस्था प्रस्तावित गर्दा प्रदीप गिरि दृढतापूर्वक समाजवादका पक्षमा उभिएका थिए । यसरी नै माओवादी जनयुद्ध राजनीतिक समस्या भएकाले यसलाई वार्ता तथा राजनीतिक तवरले समाधान गर्नुपर्ने विचार राख्ने सीमित व्यक्तित्वमध्ये गिरि पनि एक थिए । त्यसरी नै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक परिवर्तनमा माओवादी जनयुद्धको मुख्य भूमिका रहेको धारणा निर्धक्क राख्ने अति थोरै गैरमाओवादी राजनीतिक इमान्दारमध्ये पनि उनी पर्थे । 

०७२ सालमा तराई मधेसमा भइरहेको विरोधको नृशंस दमनबीच घोषणा भइरहेको नेपालको संविधानमा उनले हस्ताक्षर गर्न मानेनन् । तराई मधेसको असन्तुष्टिको सम्बोधन हुने गरी संविधान घोषणा गर्नुपर्ने मान्यतामा उनी दृढ थिए । प्रदीप गिरि दार्शनिक रूपमा अज्ञेयवादी थिए, तर उनको चिन्तन प्रवृत्ति भने भौतिकवादी थियो । उनको चिन्तन मिथको मोहबाट मुक्त थियो, बरु उनी मिथलाई पनि ऐतिहासिक विधिले व्याख्या गर्न चाहन्थे । एसियाली समाजवादको प्रसंगमा उनले भर्खरै प्रकाशित ‘विश्वेश्वरप्रसाद कोइराला : आधारभूत संकलन’को भूमिकामा लेखेका छन् : “...यसै नेपालको कपिलवस्तुमा जन्मिएका सिद्धार्थ गौतमले सिंगो संसारलाई प्रथम ऐतिहासिक प्रबोधन दिए । त्यस परम्परालाई सिर्जनात्मक व्याख्या गर्ने क्रममा व्यास, बाल्मीकि, शंकराचार्य हुँदै गोरखनाथ, अभिनव गुप्त, कबीर, गान्धीदेखि अम्बेडकरसम्मले यस परम्परालाई पुष्ट गरे ।” ऐतिहासिक भौतिकवादी क्रमबद्धताको दृष्टिले यस उद्धरणमा त्रुटि देखिए पनि यसबाट मिथ र अध्यात्मवादप्रतिको उनको विमोह तथा भौतिकवादी तर्कप्रवृत्ति प्रस्ट हुन्छ । 

प्रदीप गिरि राजनीतिको वर्तमान दिशाबाट सन्तुष्ट थिएनन् । उनी, निश्चित रूपमा कम्युनिस्ट समर्थक थिएनन्, तर उनी वर्तमान उदारवादी संसद्बाट पनि सन्तुष्ट थिएनन् । माथि उद्धृत पुस्तकमा उनी लेख्छन्– “...यस समाजवादी धार (लोकतान्त्रिक समाजवाद)ले एकातिर सबैथरी कम्युनिस्ट व्यवस्थालाई नकार्छ भने, अर्कातिर उदारवादी संसदीय व्यवस्थाको नाउँमा चलाइएको विश्व पुँजीवादपरस्त यथास्थितिवादलाई पनि स्विकार्दैन ।” 

प्रदीप गिरिको समग्र मूल्यांकन एउटा प्रखर राजनीतिक बौद्धिक इमान्दार आलोचकको रूपमा गर्नु उचित हुनेछ । प्रदीप गिरि अब हामीमाझ छैनन् । उनले यो भौतिक संसार छाडेको दुई दिन भइसकेको छ । गत शनिबार, ४ भदौमा ७५ वर्षको उमेरमा उनको निधन भयो । उनको निधनको अर्थ कांग्रेस मात्र होइन, नेपाली राजनीतिमा विचार र राजनीति बुझ्ने अध्ययनशील, बौद्धिक प्रखर लोकतान्त्रिक समाजवादी आलोचकको अभाव हुनु हो । आफ्नो आलोचकीय दृष्टिकोणका निम्ति उनी सदा स्मरणीय रहनेछन् ।

सुझावित समाचार