विभिन्न महादेशमा यस वर्षको गर्मीको लहरले यसअघिको कीर्तिमान तोडेको छ । गत साताको उग्र गर्मी लहरले पश्चिम युरोपका विभिन्न भागमा प्रलय मच्चाएको थियो । यी क्षेत्रमा उग्र गर्मीले विनाशकारी डढेलो निम्त्यायो, सडक एवं जहाजका रनवे पगाल्यो र व्यापक ऊर्जा संकट उत्पन्न गरायो । प्रतिक्रियास्वरूप कैयौँ मुलुकले संकटकाल घोषणा गरे । उग्र गर्मीका कारण पोर्चुगल र स्पेनमा करिब आठ सयजनाले ज्यान गुमाएका छन् । बेलायतमा गर्मी छल्न नदी–समुद्रमा हाम फालेका कैयौँको डुबेर मृत्यु भएको छ । गर्मीको लहरले चीनको आधा हिस्सालाई आक्रान्त पारेको छ र त्यहाँका दुई प्रान्तले गर्मीसँग सम्बन्धित चेतावनी जारी गरेका छन् ।
यो वर्ष साविक (उत्तरायण काल) भन्दा पहिले नै गर्मीको लहर सुरु भएको छ । जुन महिनाको मध्यसम्ममा अमेरिकाको एकतिहाइ हिस्सामा गर्मीसम्बन्धी सचेतना सूचना आइसकेको थियो । दक्षिण एसियामा अस्वाभाविक रूपमा मार्च र अप्रिलमा गर्मी लहर सुरु भइसकेको थियो । अभूतपूर्व गर्मीको लहर केही वर्षयता विश्वका लागि सामान्य बन्दै गएको छ । वैश्विक जलवायु परिवर्तनका कारण गर्मी लहर लामो, भयानक एवं बारम्बार भइरहने निष्कर्ष निकाल्न सकिन्छ । आर्कटिक क्षेत्रमा भएको तापमान वृद्धिले युरोपमा जीवन दिनानुदिन कष्टकर बन्दै गइरहेको छ ।
यदि जलवायु परिवर्तनलाई नियन्त्रण नगर्ने हो भने गर्मी लहर ग्रीष्म ऋतुको दिनचर्या बन्नेछ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) का अनुसार १.५ डिग्री सेल्सियसको वैश्विक औसत तापक्रममै पनि पृथ्वीले अनिवार्य गर्मी लहर, लामा ग्रीष्म ऋतु र छोटा हिउँदका दिन व्यहोर्नेछ । र, यदि औसत वैश्विक तापमान २ डिग्री सेल्सियस पुग्छ भने चरम गर्मीले खाद्य सुरक्षा र मानव स्वास्थ्यमा दूरगामी असर पर्नेछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९८ देखि २०१७ सम्ममा गर्मी लहरका कारण एक लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मौसमका कारण मारिने मानिसमा उग्र–गर्मी सबैभन्दा ठूलो कारक बनेको छ । त्यहाँ विशेषतः वृद्ध एवं घरबारविहीन मानिसले उग्र गर्मीका कारण चिकित्सा आपत्काल व्यहोरिरहेका छन् । अत्यधिक आर्द्रता र बढ्दो रात्रिकालीन तापमानले मानवीय स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । गर्मी एवं आर्द्रतायुक्त तापमानले मुटु एवं छातीसम्बन्धी रोग निम्त्याइरहेको छ ।
उच्च गर्मीले एक मुलुकको खडेरीको अवस्थालाई पनि थप प्रभावित पार्छ । खडेरीले कृषिमा प्रतिकूल असर गर्छ । कृषि उत्पादनमा निम्तिने ह्रासका साथै खडेरीले कैयौँ बालीलाई रोगी बनाउँछ र केही सन्दर्भमा बाली विनाश नै नित्याउँछ । यसले अन्ततः भोकमरी सिर्जना गर्छ । अन्नबालीबाहेक प्रतिकूल तापक्रमले चौपायालाई पनि जोखिममा पार्छ । यो वर्षको उग्र गर्मीले भारतका कैयौँ हिस्सामा १० देखि ३५ प्रतिशतसम्म अनाजमा ह्रास निम्त्याएको छ । उग्र गर्मीका कारण अमेरिकाको कान्सासमा यही जुनमा दुई हजारभन्दा बढी गाई मरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चका अनुसार १.५ डिग्री सेल्सियसको वैश्विक औसत तापक्रममै पनि पृथ्वीले अनिवार्य गर्मी लहर, लामा ग्रीष्म ऋतु र छोटा हिउँदका दिन व्यहोर्नेछ
त्यसबाहेक उग्र गर्मीले भुइँ र वनस्पतिलाई सुकाइदिने काम गर्छ । नतिजा, डढेलो फैलिने सम्भावना धेरै रहन्छ । जब डढेलो लाग्न सुरु हुन्छ, तातो र सुक्खा मौसमले आगलागी फैलाउन मद्दत गर्छ र नियन्त्रण गर्न एकदमै कठिन हुन्छ । पछिल्ला दुई दशकमा अमेरिकाका प्रत्येक १५ वन डढेलोले करिब एक अर्ब डलरको क्षति गरेको छ । यस क्षतिमा वनस्पति र वन्यजन्तुको डढेर मात्र नभई आवास, पूर्वाधार एवं दमकलजनित खर्च पनि थपिन्छ ।
गर्मी लहरले गर्मी–प्रतिकूल पूर्वाधार विशेषतः उत्तरी युरोपका सडक, रेलवे, घर र फ्याक्ट्रीमा क्षति पुर्याइरहेको छ । बेलायतजस्ता मुलुकमा करिब २० प्रतिशत पूर्वाधार अत्यधिक तापमानका कारण जोखिममा परेका छन् । यति मात्र नभई ऊर्जा उत्पादन, आपूर्ति व्यवस्था र खानेपानी व्यवस्थामा पनि उग्र गर्मीले गम्भीर हानि पुर्याइरहेको छ । ‘युरोपियन इन्भाइरनमेन्ट एजेन्सी’को एक अध्ययनअनुसार युरोपका मुलुकमा सन् १९८० देखि २००० सम्ममा गर्मीका कारण ७१ अर्ब डलरबराबरको क्षति भएको छ ।
उग्र गर्मीको अवस्था दिनानुदिन विकराल हुँदै गर्दा विश्व आर्थिक मञ्चले सन् २०३० भित्र गर्मी लहरले विश्वभर आठ करोड पूर्णकालीन रोजगारी गुम्नेछ भने मुलुकहरूले २४ खर्ब डलरको क्षति व्यहोर्नेछन् भनेको छ । सारा विश्वभरि वैश्विक तापमान वृद्धिले मानिस र अर्थतन्त्रलाई असर गर्छ भन्नेमा दुईमत रहेन । यति भन्दै गर्दा विकासशील मुलुक व्यापक गरिबी र स्रोत–साधन एवं प्रविधिको कमीका कारण बढी जोखिममा परेका छन् ।
मुलुकसँग जलवायु परिवर्तनले ल्याएको अवस्थाको अनुकूलन गर्ने क्षमता छैन । हालैको एक अध्ययनले दक्षिण एसियाजस्ता जोखिमयुक्त क्षेत्रमा गर्मी लहर अन्यत्रभन्दा ३० गुणाले बढी हुने गर्छ । यी मुलुकका विपन्न वर्गका मानिस सबैभन्दा बढी पीडित हुनेछन् किनभने विपन्न वर्गका मानिसलाई छाक टार्नकै लागि घरबाहिर काम गर्नुको विकल्प छैन । मुलुकहरूले वैश्विक औसत तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा रोक्न नसक्नु आत्मघाती सिद्ध हुनेछ । रोक्न सफल भएको खण्डमा पनि धनी एवं औद्योगिक राष्ट्रले विकासशील राष्ट्रका व्यक्ति, समुदाय र सरकारलाई उग्र गर्मीले सिर्जित अवस्थाको व्यवस्थापन गर्न स्रोत एवं प्राविधिक सहायता गर्नुपर्छ ।
गल्फ न्युजबाट(स्वैन स्विडेनको उप्सला विश्वविद्यालयमा पिस एन्ड कन्फ्लिक्ट रिसर्चका प्राध्यापक हुन्)